जलेश्वर भन्सारमा राजश्व असुली निरन्तर घट्दै
सारांश
- महोत्तरीको जलेश्वर भन्सार कार्यालयमा राजश्व सङ्कलनमा गिरावट आएको छ।
- चालु आर्थिक वर्षमा राजश्व सङ्कलन ४२ प्रतिशतले घटेको छ, जसको मुख्य कारण पेट्रोलियम पदार्थको आयात भिठामोड तर्फ मोडिनु हो।
- भन्सार प्रमुखका अनुसार साउनमा २५ करोडको लक्ष्य राखिएकामा १३ करोड २३ लाख मात्र उठ्यो भने भदौमा ११ करोडमा सीमित भयो।
जनकपुरधाम । महोत्तरीको प्रमुख व्यापारिक नाका मानिने जलेश्वर भन्सार कार्यालयमा राजश्व सङ्कलन निरन्तर गिरावट आएको छ । आन्दोलनकै प्रभावले नभई गत आर्थिक वर्षदेखि नै राजश्व असुलीमा गिरावट आइरहेको भन्सार कार्यालयले जनाएको छ ।
जलेश्वर भन्सार कार्यालयका प्रमुख राजेन्द्र बस्नेतका अनुसार चालु आर्थिक वर्षमा राजश्व सङ्कलन ४२ प्रतिशतले घटेको छ । भन्सार नाकाबाट पेट्रोलियम पदार्थ आयात भिठामोड तर्फ मोडिनु र कोइला आयातमा समेत कमी आउनुले राजश्व सङ्कलनमा प्रत्यक्ष असर परेको उनले बताए ।
उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनामा मात्रै २५ करोड रुपैयाँभन्दा बढी राजश्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । तर लक्ष्यअनुसार राजश्व उठ्न नसक्दा जम्मा १३ करोड २३ लाख ९६ हजार रुपैयाँ मात्र सङ्कलन भएको थियो । भदौ महिनामा झन् राजश्व असुली घट्दै करिब ११ करोड रुपैयाँमा मात्र सीमित भएको प्रमुख बस्नेतले जानकारी दिए ।
जलेश्वर भन्सार नाका भौगोलिक रूपमा महोत्तरीको व्यापारिक गतिविधिको केन्द्र मानिन्छ । यस नाकाबाट दैनिक रूपमा ठुलो परिमाणमा उपभोग्य तथा निर्माण सामग्री आयात–निर्यात हुने गरेको छ । धान, चामल, आलु, प्याज, कोइला, टाइल्स, ग्रेनाइट ढिका, सेरामिक्स, फलफूल जस्ता वस्तुहरू भारतबाट आयात हुने गर्छन् । यस्तै कोर वेनिर, रिफाइन तेल, सोयाबिन तेल, तेजपत्ता लगायतका वस्तुहरू निर्यात हुँदै आएका छन् ।

तर पछिल्लो समय पेट्रोलियम पदार्थको आयात भिठामोड नाकाबाट मात्र हुने भएपछि राजश्व सङ्कलनमा ठुलो गिरावट आएको हो । त्यस्तै, अन्तर्राष्ट्रिय बजारमा कोइला आपूर्तिमा कमी आउनु तथा भन्सार दरहरूमा आएको उतार–चढावले समेत राजश्व सङ्कलन प्रभावित भएको कार्यालयको भनाइ छ ।
व्यापारिक हिसाबले महत्त्वपूर्ण मानिने यो नाकाबाट राजश्व सङ्कलन घट्नु सरकारको राजस्व व्यवस्थापनका दृष्टिले चिन्ताजनक संकेत भएको बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीले जोगियो दक्षिण अफ्रिकाको विश्वकप यात्रा, चेक रिपब्लिकसँग अंक बाँड्दै नकआउटको आस कायमै
-
दक्षिण अफ्रिका खेलमा फर्कियो, अन्तिम समयको खेल निकै रोमाञ्चक
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण