जेन–वाईको अनुभव र जेन–जीको नवीनताको मिश्रणबाट बन्छ देश
नेपाल आज एक निर्णायक मोडमा उभिएको छ । राजनीतिक रूपान्तरणका लामा चरण पार गर्दै देश गणतन्त्र, संघीयता र नयाँ संविधानमा आइपुगेको छ, तर यथार्थमा आम जनताले अपेक्षा गरेको स्थायित्व, सुशासन र समृद्धि अझै टाढा देखिन्छ । यसबिच पुराना पुस्ताले भोगेका संघर्ष र नयाँ पुस्ताले बोकेको ऊर्जा एकैसाथ मिसिँदै छन् । अहिलेको अवस्थामा नेपाललाई अघि बढाउने जिम्मेवारी दुई पुस्ताको काँधमा छ— जेन–वाई अर्थात् मिलेनियल र जेन–जी । यी पुस्ताको सोच, शैली र दृष्टिकोण फरक भए पनि दुवैको योगदान देश र जनताको भविष्यसँग जोडिएको छ ।
मिलेनियल अर्थात् सन् १९८१ देखि १९९६ को बिचमा जन्मिएका पुस्ता, यो पुस्ता नेपालको सन्दर्भमा राजनीतिक आन्दोलनका प्रत्यक्ष साक्षी बने । प्रजातन्त्रको पुनर्स्थापना, राजतन्त्रको पतन, गणतन्त्रको उदय, संविधान सभा, शान्ति प्रक्रिया र संघीयताको घोषणा— यी सबै घटनाले यस पुस्तालाई परिपक्व बनाएको देखिन्छ ।
उनीहरूका लागि राजनीति केवल समाचार वा पुस्तकको विषय नभई जीवनको प्रत्यक्ष अनुभव हो । यस पुस्ताले शिक्षा, रोजगारी र परम्परागत मूल्यलाई महत्त्व दियो । उनीहरूले विदेश पलायनको ठुलो लहर अनुभव गरे । पछिल्लोपटक निर्णय निर्माण गर्ने तहमा प्रवेश गर्न थालेका छन् । उनीहरूको आदर्शवादी जोस, राजनीतिक निराशा र व्यक्तिगत स्थायित्वको खोजमा केही हदसम्म कमजोर हुँदै गएको देखिन्छ । जसरी उनीहरू प्रस्तुत हुनुपर्ने थियो, त्यसमा कहीँकतै चुक भएको जस्तो देखिन्छ ।
सन् १९९७ देखि २०१२ को बिचमा जन्मिएको जेन–जी पुस्ता नेपालको सन्दर्भमा शान्ति प्रक्रिया र नयाँ संविधानको समयसँगै हुर्किए । उनीहरू डिजिटल वातावरणमा जन्मिए; स्मार्टफोन, युट्युब, टिकटक, इन्स्टाग्राम, एआईजस्ता साधनहरूसँगै हुर्किए । यस पुस्ताले युद्ध र आन्दोलन देखेन, तर देशमा भइरहेको व्यापक भ्रष्टाचार, बेथिति, असमानता र राजनीतिक असफलता भने प्रत्यक्ष भोग्दै छ । उनीहरूको ध्यान छोटो भए पनि सोच तीक्ष्ण हुन्छ । उनीहरू परिणाम चाहन्छन्, तत्काल परिवर्तन खोज्छन् । परम्परागत दलगत राजनीतिभन्दा स्वतन्त्र उम्मेदवार, नयाँ अभियान र अनलाइन आन्दोलनमा उनीहरूको आकर्षण बढी देखिन्छ ।
समाधान खोज्दा हामीले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीनतालाई जोड्नैपर्छ । जेन–वाईको संघर्षले सिकाएको धैर्य, आदर्श र संगठनात्मक अनुभवलाई जेन–जीको प्रविधिमैत्री सोच, साहस र सिर्जनशीलतासँग मिसाउन सके मात्र नेपालको भविष्य सुरक्षित हुन्छ ।
यी दुई पुस्ताले भोगेका यथार्थ र उनीहरूले देखेका सपनाबिच ठुलो अन्तर भने पक्कै छ । अहिले देशको अवस्था स्पष्ट छ— बेरोजगारी बढ्दै छ, शिक्षित युवाले अवसर पाउन सकेका छैनन्, भ्रष्टाचारले विकासलाई रोकेको छ । नेताहरूको आपसी द्वन्द्वले जनताको भरोसा गुमेको छ । गाउँमा श्रमशक्ति घट्दै छ, सहरमा भिड बढ्दै छ, उत्पादनशीलता भने कम छ । विदेशतर्फ पलायनको लहर अझै रोकिएको छैन ।
यही परिस्थितिमा प्रश्न उठ्छ— के नेपाल यस्तै अवस्थामा गुज्रिरहने हो ? के हाम्रो पुस्ताले निराशा र पलायनको कथा मात्रै लेख्ने हो ? कि अब नयाँ सोच, नयाँ दृष्टि र सहकार्यबाट समाधान खोज्ने हो ? यी प्रश्न अनुत्तरित छन् ।
सकारात्मक पक्ष पनि छन् । नेपालका युवामा ऊर्जा छ, सिर्जनशीलता छ र परिवर्तनको आँट छ । देशमा कृषि, पर्यटन, जलविद्युत्, सूचना प्रविधि र जडीबुटीजस्ता क्षेत्रमा अपार सम्भावना छन् । यही सम्भावनालाई उपयोग गर्न मिल्ने गरी प्रणालीगत सुधार गर्न सके नेपाल आत्मनिर्भर मात्र होइन, क्षेत्रीय आर्थिक केन्द्र पनि बन्न सक्छ । त्यसका लागि पारदर्शी शासन, दीर्घकालीन दृष्टि र युवालाई नेतृत्वमा ल्याउने साहस चाहिन्छ ।
समाधान खोज्दा हामीले पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको नवीनतालाई जोड्नैपर्छ । जेन–वाईको संघर्षले सिकाएको धैर्य, आदर्श र संगठनात्मक अनुभवलाई जेन–जीको प्रविधिमैत्री सोच, साहस र सिर्जनशीलतासँग मिसाउन सके मात्र नेपालको भविष्य सुरक्षित हुन्छ । उदाहरणका लागि सरकारी नीतिहरू बनाउन जेन–वाईको प्रशासनिक अनुभव प्रयोग गर्न सकिन्छ भने जेनजीको डिजिटल सीप र नवप्रवर्तनलाई विकास परियोजनामा लगाउन सकिन्छ । यसरी सहकार्य भए मात्र शासन प्रभावकारी बन्न सक्छ ।यसका लागि केही स्पष्ट कदम आवश्यक छन् । पहिलो, शिक्षा प्रणालीलाई यथार्थपरक र सीपमूलक बनाउनैपर्छ । केवल प्रमाणपत्रले रोजगारी पाउने अवस्था सकिनुपर्छ । दोस्रो, उद्यमशीलता र स्थानीय उत्पादनलाई प्राथमिकतामा राख्नुपर्छ । युवालाई कृषि, उद्योग र प्रविधिमा लगानी गर्न सहज वातावरण दिनुपर्छ । तेस्रो, भ्रष्टाचार नियन्त्रणलाई शब्दमा मात्र होइन, व्यवहारमै कडाइका साथ लागु गर्नुपर्छ । नेताले सजाय पाउने र जनताले न्याय पाउने वातावरण बने मात्र विश्वास फर्काउन सकिन्छ । चौथो, निर्णय निर्माणमा युवाको प्रत्यक्ष सहभागिता बढाउनुपर्छ । संसद्देखि स्थानीय तहसम्म युवालाई अग्रपंक्तिमा ल्याउन सके नयाँ सोच लागु गर्न सकिन्छ ।
हामीले चुनौती मात्र देखेर निराश हुनु हुँदैन । समस्या ठुलो छ तर समाधान सम्भव छ । अहिलेको पुस्ताले विदेशतिर मात्र होइन, आफ्नै देशमा अवसर देख्न सिक्नुपर्छ । हामीले प्रश्न सोध्नुपर्छ— किन हाम्रो शिक्षा पलायनतर्फ धकेल्छ ? किन हाम्रो राजनीति केवल नेताको स्वार्थमा घुम्छ ? यसको जवाफ हामीले खोज्नुपर्छ । उद्यमशीलता, प्रविधि र सहकार्य नै यसको समाधानको बाटो हो ।
समाजमा मूल्य–संघर्ष छ । जेन–वाई अझै परिवार, परम्परा र सामाजिक संरचनामा जोडिएका छन् भने जेन–जी स्वतन्त्रता, विविधता र व्यक्तिगत अधिकारमा विश्वास गर्छन् । यी दुई दृष्टिकोणलाई टकराब होइन, समृद्धिको अवसरका रूपमा लिनुपर्छ । परम्पराले दिने आधार र आधुनिकताले दिने स्वतन्त्रता दुवै आवश्यक छन् ।
अन्ततः नेपाललाई समृद्ध र स्थायी बनाउन युवा पुस्ताको भूमिका निर्णायक छ । पुराना पुस्ताले मार्गदर्शन गर्न सक्छन्, तर नयाँ पुस्ताले बाटो हिँड्नैपर्छ । जेन–वाई र जेन–जीको सहकार्यविना देशले नयाँ दिशा पाउँदैन । हामीले आलोचनाको आँखाले मात्र होइन, आशाको दृष्टिले पनि हेर्नुपर्छ ।
नेपालले विगतमा असफलताको कथा लेख्दै आएको छ तर भविष्यमा सम्भावनाको कथा लेख्न सकिन्छ । त्यसका लागि हरेक युवाले ‘देश मेरो हो र समाधान म आफैँ हुँ’ भन्ने सोच अपनाउनुपर्छ । जबसम्म हामी अरूबाट मात्र आशा गर्छौं, तबसम्म परिवर्तन सम्भव हुँदैन । परिवर्तन तब हुन्छ, जब हरेकले आफ्नो जिम्मेवारी बुझ्छन् । आशा, प्रेरणा र साहसका साथ अघि बढ्दा मात्र हामीले भविष्यलाई उज्यालो बनाउन सक्छौँ । आलोचना गर्न नडराउने, तर समाधान खोज्न अझ नडराउने पुस्ता बन्ने हो भने नेपालको भोलिको भविष्य उज्ज्वल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
-
रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्याट, बाउन्सर र सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण