महेश श्रेष्ठ नेतृत्वको एनआरएनएले ट्राफिक प्रहरीको सीसीटिभी प्रणाली पुनर्निर्माणमा सघाउने
सारांश
- एनआरएनएले जेनजी आन्दोलनपछि ध्वस्त भएका संरचना पुनर्निर्माणका लागि काम सुरु गर्ने भएको छ।
- एनआरएनएले काठमाडौं उपत्यकाको ट्राफिक प्रहरीको सीसीटीभी नियन्त्रण कक्ष पुनर्निर्माणमा सहयोग गर्नेछ।
- अध्यक्ष श्रेष्ठले देशको शान्ति सुरक्षासँग जोडिएको भन्दै मातृभूमिलाई सहयोग गर्ने बताए।
काठमाडौँ । जेनजी आन्दोलनपछि ध्वस्त भएका सार्वजनिक संरचना र विशेष गरी सुरक्षासम्बन्धी संयन्त्रलाई पुनर्संचालन गर्न महेश कुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) सक्रिय भएको छ।
अध्यक्ष श्रेष्ठले शनिबार बस्ने केन्द्रीय कार्यसमितिको बैठकले औपचारिक निर्णय गरेर ‘ट्राफिक प्रहरी सीसीटिभी नियन्त्रण कक्ष पुनर्निर्माण’ प्रोजेक्ट अघि बढाउने जानकारी दिएका छन्। त्यसका लागि विस्तृत प्राविधिक खाका तयार गरिएको र लागत करिब ७४ लाख रुपैयाँ अनुमान गरिएको उनले बताए।
श्रेष्ठका अनुसार, संघले पहिलो चरणमा काठमाडौँ उपत्यकाको ट्राफिक प्रहरी कार्यालयमा रहेका सीसीटिभी नियन्त्रण कक्ष, निगरानी प्रणाली र आवश्यक उपकरणहरूको पुनर्संचालनमा सहयोग गर्नेछ।
'सडक सुरक्षा र निगरानी प्रणाली बलियो हुनु देशको शान्ति सुरक्षासँग प्रत्यक्ष जोडिएको कुरा हो। हामीले यसमा योगदान दिनु मातृभूमिप्रति हाम्रो दायित्व हो,' अध्यक्ष श्रेष्ठले भने।
एनआरएनएले मंगलबार नै ‘नेपाल पुनःनिर्माण अभियान’ घोषणा गर्दै विश्वभरका नेपालीहरूलाई सहयोगका लागि आह्वान गरिसकेको छ। भूकम्प, बाढी वा महामारीजस्ता संकटमा पनि गैरआवासीय नेपालीहरूले निरन्तर साथ दिएको स्मरण गर्दै श्रेष्ठले यसपटक पनि मातृभूमि उकास्नैपर्ने बेला आएको बताए।
'हामी सबै मिलेर नेपाललाई पुनःनिर्माण गरौं, सुरक्षात्मक संरचना पुनर्स्थापना गरौं र समुदायलाई फेरि आशावादी बनाऔं,' श्रेष्ठले आग्रह गरे।
एनआरएनएको पहललाई नेपाल सरकारका सुरक्षा निकायसँग मिलेर अघि बढाइने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले केही व्यक्तिहरूले फैलाएको आधारहीन प्रचारको खण्डन समेत गरेका छन्। उनले भने, 'हाम्रो योगदान विशुद्ध सार्वजनिक हितमा केन्द्रित छ। व्यक्तिगत लाभका लागि होइन।'
उनले कुनै अमुक व्यक्तिको व्यक्तिगत घर बनाउनका लागि पैसा उठाउन लागेको भनेर लगाइएकोआरोप आफूहरुले कल्पना समेत नगेको विषय भएको उनको भनाइ छ । विपद्को समयमा सबै एकताबद्ध हुन जरुरी रहेको बताउँदै उनले यस्तो बेलामा कसैले पनि अफवाह फैलाउन नहुनेमा जोड दिए ।
श्रेष्ठका अनुसार शनिबार हुने बैठकबाट आधिकारिक निर्णय गरेर ठोस कार्ययोजना सार्वजनिक गरिने छ ।
यसैबीच प्रवक्ता गंगाधर गौतमले अध्यक्ष श्रेष्ठलाई जोडेर केही सञ्चारमाध्यमले प्रकाशित गरेको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
उनले बुधबार जारी गरेको विज्ञप्तिमा भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा पुगेको क्षति पुनर्निर्माणका लागि नेपाल सरकारसँग हातेमालो गर्न तयार रहेको स्पष्ट पारिएको छ।
जसअनुसार अहिले विशेष गरी ट्राफिक प्रहरीलाई सहयोग गर्नेगरी काम भइरहेको र यसबारे सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको उनले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण