जेनजी आन्दोलनको ९ दिनपछि सार्वजनिक भए बागमतीका मुख्यमन्त्री बानियाँ
मकवानपुर । जेनजी आन्दोलनको ९ दिन पछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ सार्वजनिक स्थानमा देखिएका छन् ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि सुरक्षा थ्रेटका कारण भित्र रहेका मुख्यमन्त्री बानियाँ बिहीबार सार्वजनिक रूपमा निस्किएका हुन् ।
उनले बिहीबार आन्दोलनका क्रममा तोडफोड र जलेर ध्वस्त बनेका प्रादेशिक संरचनाहरूको निरीक्षण गरेका थिए भने निजी व्यवसाय तथा प्रतिष्ठानहरूको अवलोकन गरेका थिए ।
प्रदेशसभा सचिवालय, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, भाटभटेनी सुपर स्टोर हेटौँडा लगायतका निकायको निरीक्षण गरेका थिए ।
आन्दोलन लगत्तै सेनाको सुरक्षामा रहेका उनी गत मंगलबारबाट राजनीतिक गतिविधिमा सक्रिय भएका थिए । आन्दोलनका क्रममा आफ्नो निजी ४ वटा घर तथा व्यवसाय प्रतिष्ठानमा क्षति व्यहोरेका उनले केही समय आन्तरिक व्यवस्थापनमा समय दिएका थिए ।
उनले हेटौँडा र काठमाडौँमा रहेको २ वटा घर, उनको संरक्षणमा रहेको २ वटा व्यवसाय प्रतिष्ठानमा आन्दोलनका क्रममा क्षति पुर्याइएको थियो । प्रदर्शनकारीले सबै संरचनामा आगजनी तथा तोडफोड गरेका थिए ।
आन्तरिक व्यवस्थापनसँगै मंगलबारबाट राजनीतिक गतिविधिमा लागेका मुख्यमन्त्री बानियाँले काठमाडौँमा रहेर मन्त्री तथा सांसदहरुसंग छलफल चलाएका थिए ।
प्रदेशको क्षति व्यवस्थापनका लागि उनले विभागीय मन्त्रालयका मन्त्री तथा सचिवहरूलाई निर्देशन दिने तथा आवश्यक समन्वयको काम गरिरहेका थिए ।
बुधबार मात्र मुख्यमन्त्री बानियाँले कांग्रेस संसदीय दलको बैठक जुम मार्फत सञ्चालन गरेका थिए । उनी हाल सर्वदलीय बैठक तथा कांग्रेस बागमती प्रदेश समितिको कार्य सम्पादन समितिको बैठकमा रहेका छन् ।
बिहीबार मुख्यमन्त्री बानियाँले ‘जेनजी’ प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोडले ध्वस्त बनेका प्रदेशको भौतिक संरचनाको निरीक्षण गर्दै देशको ‘व्यवस्था र लोकतन्त्र’ जोगिएको बताए ।
आन्दोलनको नौ दिनपछि भग्नावशेष बनेका मन्त्रालयहरूको निरीक्षण गर्दै उनले उक्त प्रदर्शनमा गणतन्त्र र सङ्घीयता विरोधी तत्त्वले घुसपैठ गरी हिंसा भड्काएको दाबी गरे । मुख्यमन्त्री बानियाँले जेनजी पुस्ताले भ्रष्टाचार र सुशासनका लागि राखेको शान्तिपूर्ण मागलाई गलत ढङ्गले प्रयोग गरिएको बताए ।
‘यति ठुलो क्षति हुँदाहुँदै पनि हाम्रो प्रणाली र लोकतन्त्र बचेको छ । संविधान रहेसम्म प्रदेश र स्थानीय तह रहिरहन्छ । तपाईँहरू ढुक्क हुनुहोस्, अहिलेको सरकारलाई निर्वाचनको लागि म्यान्डेट प्राप्त छ ।’ उनले भने, ‘यो आन्दोलन होइन, मागसहितको प्रदर्शन थियो, तर यसमा घुसपैठ भयो । यो घटना व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथिको सीधा प्रहार हो । तर, यस्तो विषम परिस्थितिमा सम्माननीय राष्ट्रपति ज्यूले संविधानको रक्षा गर्दै मुलुकलाई निकास दिनुभएको छ ।’
मुख्यमन्त्री बानियाँले आगजनीबाट ध्वस्त भएका सिँचाइ, भौतिक पूर्वाधार, कृषि तथा स्वास्थ्य मन्त्रालयलगायतका संरचनामा क्षतिको अवस्था भयावह भए पनि तत्काल कार्यालय सञ्चालनका लागि वैकल्पिक उपाय खोजी भइरहेको बताए । प्रदेश सरकारका काम कारबाही र सेवा प्रवाहमा कुनै समस्या नहुने गरी आन्तरिक व्यवस्थापनको काम भइरहेको उनले बताए ।
सभामुखको राजीनामाको विषयलाई प्रक्रियागत ढङ्गले टुङ्ग्याइने मुख्यमन्त्री बानियाँले बताए । प्रदेशसभाको काम नरोकिने गरी सरकार संरचनागत व्यवस्थापन सहित कानुनी प्रक्रिया मिलाउने उनको भनाई छ । सरकारी संरचनाका साथै भाटभटेनी जस्ता निजी सम्पत्तिमा भएको क्षतिको पनि मूल्याङ्कन गरी आवश्यक कदम चालिने उनको भनाई छ ।
‘आन्दोलनको क्रममा प्रदेशका मन्त्रालय तथा निकायमा क्षतिको अवस्था भयावह भएको छ । सरकारी भवन मात्र नभई निजी संरचनाहरूमा पति क्षति पुर्याइएको छ । त्यसको व्यवस्थापनमा सरकार क्रियाशील छ । प्राविधिक दृष्टिकोणले जुन संरचना छिटो तयार गर्न सकिन्छ । त्यसलाई प्राथमिकता दिएर काम अगाडि बढाउँछौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण