सोमबार, ०४ साउन २०८३
ताजा लोकप्रिय

रुसी लडाकु विमानले एस्टोनियाको हवाई क्षेत्र उल्लंघन गरेको आरोप

शुक्रबार, ०३ असोज २०८२, २१ : १४
शुक्रबार, ०३ असोज २०८२

सारांश

  • एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकु विमानले १२ मिनेटसम्म उल्लंघन गरेको घटना सार्वजनिक भयो।
  • एस्टोनियाले रुसलाई स्पष्टीकरणका लागि बोलायो र यस वर्ष हवाई क्षेत्र उल्लंघनको यो चौथो घटना हो।
  • मन्त्रीले रुसको आक्रामकताको प्रतिक्रियास्वरुप राजनीतिक र आर्थिक दबाब बढाउनुपर्ने बताए।

एस्टोनिया । एस्टोनियाको परराष्ट्र मन्त्रालयले शुक्रबार तीनवटा रुसी लडाकु विमानले देशको हवाई क्षेत्र उल्लंघन गरेको भन्दै कडा आपत्ति जनाएको छ। मन्त्रालयका अनुसार रुसी चार्ज द’अफेयरलाई यस विषयमा स्पष्टीकरणका लागि बोलाइएको छ।

मन्त्रालयले जनाएअनुसार तीनवटा रुसी मिग–३१ लडाकु विमानले अनुमति विना फिनल्याण्ड खाडीको माथिबाट एस्टोनियाको हवाई क्षेत्रमा प्रवेश गरेका थिए र १२ मिनेटसम्म त्यहाँ रहे।

एस्टोनियाका परराष्ट्र मन्त्री मर्गुस त्साह्कनाले भने, ‘यस वर्ष मात्र रुसले चार पटक एस्टोनियाको हवाई क्षेत्र उल्लंघन गरिसकेको छ, जुन आफैँमा अस्वीकार्य हो। तर आजको घटनामा तीनवटा लडाकु विमान एउटै पटक प्रवेश गर्नु अभूतपूर्व धृष्टता हो।’

उनले थपे, ‘रुसको बढ्दो आक्रामकता र सीमाहरू परीक्षण गर्ने प्रवृत्तिलाई तत्काल राजनीतिक र आर्थिक दबाब वृद्धि गरेर जवाफ दिनुपर्छ।’

यो घटना यसै महिनाको सुरुवातमा रुसी ड्रोनले पोल्यान्ड र रोमानियाको हवाई क्षेत्र उल्लंघन गरेको घटनापछि आएको हो। ती घटनापछि नाटो सहयोगी राष्ट्रहरूले पूर्वी सीमामा सुरक्षा थप बलियो बनाउने घोषणा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप