शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कथा

राक्षसको घर

शनिबार, ०४ असोज २०८२, १८ : ३०
शनिबार, ०४ असोज २०८२

तानाशाही सक्किएको पुरानो दरबार हो जुन हामी सबैको अगाडि समय समयमा रङ्गरोगन लगाएर दह्रो भएर लुला, गरिब र निमुखा जनताको अगाडि दह्रो भएको देखाएर उभिने कोसिस गर्ने गर्छ । बाहिर झलमल घाम लागिरहेथ्यो । साथै सिमसिमे पानी पनि परिरहेथ्यो । केही बालक चौरमा ‘घामपानी, घामपानी स्यालको बिहे...’ को गीत गाइरहेका थिए । त्यो पुरानो मक्किएको दरबारको छानो भत्किएको मुर्कट्टा अवतार अलि परका अरू मानिसले कौसीबाट हेरिरहेका थिए । त्यस घरको तानाशाही व्यवहारबाट आत्तिएका तर्सिएका र प्रताडीत भएका एकमुष्ठ मानिसहरूमा कोहीले कट्टु लगाएका थिए । कोहीले गम्छा टाउकोमा बेरेका थिए र कोही यस्तै यस्तै विभिन्न संस्कृतिका मैलो झुत्रो र अलि सुकिलो पोसाकमा थिए । त्यो ठुलो घरलाई पूर्ण रूपमा पाताल गराउने कार्यमा उनीहरू व्यस्त थिए । 

पहिले तिनीहरूले ठुलो घरको माथिल्लो भाग (तला) मा पर्खाल, भित्ता, भुईं तथा झ्यालहरू घन, बसिला, गल, बेल्चा र अन्य ज्यावलको उचित प्रयोग गरेर एकैसाथ जोडजोडसँग हिर्काउँदै र भत्काउँदै थिए । दुई सय ४८ वर्षदेखिको शत्रुताको व्यवहारको बदला लिनेजस्तो गरी ती भित्ता र खम्बासँग आफ्ना सीमित ज्यावलले मुकाबिला गर्दै थिए । भुइँतलाले त स्थिर र अडिग हुने प्रयत्न गर्दै थियो । अरू माथिल्ला तलाहरू भत्काइसकेका थिए । भत्काउँदै भत्काउँदै पहिलो तलासम्म ती सबै थरी एक हुल मानिस आइपुगे । आकाशमा अकासिएको त्यो तलैतला भएको अग्लो ठुलो घर अब जमिनको नजिकै होचिइँदै आयो । त्यहाँ पहरेदारहरू पनि कोही देखिएनन् । सायद सबै जिउज्यान जोगाउन भागिसकेका थिए । कोहीकोही भाग्ने प्रयत्न गर्दै थिए तर त्यस ठुलो घरको न त हात नै थियो न त खुट्टा नै । त्यसैले सायद भाग्न सकेन । घर भत्काइँदै जाँदा पाताल हुने शृङ्खलामा थियो । त्यो आकारमा ठुलो भएको घरको सबै इँट, काठपात, माटो या सिमेन्ट, फलाम आदि धराशयी हुने क्रममा थियो । 

त्यो आकारमा ठुलो देखिने घरका ठुलाठुला खम्बाहरू मानौँ आक्रोशित भएर अन्तिम अवस्थासम्म पनि आफ्नो फूर्ति र औकात प्रदर्शन गर्दै उभिइने प्रयत्न गर्दै थिए । हुलका हुल मानिसहरू कमिलोजस्तै देखिए । उनीहरूले आँटे भने त्यो घर नै उचालेर लगेर नदी वा खोलामा फ्याँकिदिन सक्थेझैँ देखियो । उनीहरू धमिरा भएर भित्रभित्रै घरलाई खोक्रो र पाताल पारिदिन सक्थे । हुलका हुल मानिसहरूले के सोच्दै थिए र के गर्दै थिए भन्नेमा नै भर परेको थियो । ठुलाठुला खम्बाहरूको अगाडि उभिएका एक हुल मानिसको आकार एकदमै सानो देखिन्थ्यो तर साना मानिसका तागतहरू एकत्रित भई काम गर्न लाग्यो भने त्यसले ती मोटामोटा खम्बाहरूलाई सजिलै ढाल्न सक्थे । 

सातसातवटा लहर भएर ती विभिन्न वेशभूषा र भाषाका मानिसहरू उभिए । तिनीहरूको हातमा सातवटा मोटा डोरीहरू थिए जसलाई तिनीहरूले बलियोसँग समातेका थिए, अफ बार खेलको शैलीमा । ती सातवटै डोरीले त्यस ठुलो दरबारको खम्बाहरूलाई बलियोसँग बाँधेका थिए । देख्दा लुरो देखिने एउटा अत्यन्तै बलियो र साहसी मान्छे थुप्रै खम्बाहरूको फेदमा विद्युत् प्रणालीले छेदन गर्दै र खम्बाको आधारलाई कमजोर बनाउँदै थियो । उभिएर डोरी समातेर तान्न तयार भएका मानिसले त्यो दुब्लो मानिसलाई बचाउँदै अलि टाढा उभिएर डोरी आफूहरूतिर खिच्दै थिए । त्यो त्यही क्षण थियो— अलि समय लाग्ने, सबैले सोच्नुपर्ने र धैर्यले काम गर्नुपर्ने । नजिकै अन्य घरका छानामा उभिएर हेर्ने, सुझाव बोल्ने र सफलताको कामना गर्ने मानिसहरू केही सचेत देखिन्थे र हतारिएका पनि थिए तर ती सात समूहमा उभिएका मानिसहरूले एकैचोटि आफ्ना सबै साहस र बललाई एकै ठाउँमा जम्मा गरेर एउटै ठुलो बल बनाएर खम्बाहरू ढलाउने क्रममा कार्यरत थिए । खम्बाहरू ढलाउन जानिएन भने तिनै खम्बाले थिचेर मानिसहरूको ज्यानै जाने डर थियो । चारैतिरबाट आफू बचेर खम्बा मात्र ढलाउनु नै उनीहरूको कामको केन्द्रबिन्दु थियो । डोरी समाउने अन्य मानिसहरू काम ढिलो भयो भनेर आतुर देखिन्थे । धेरै अरू मानिसहरू पनि डोरी तान्नका लागि थपिए । कुनै राक्षसको खुट्टा ढल्यो भने उसको शरीर त्यसैका साथ ढलिहाल्यो । कहिले राक्षसले गड्यौलाको रूप पनि धारण गरेको पाइन्थ्यो । जति टुक्राउँदा पनि नमर्ने र आफ्नो अस्तित्व फैलाउँदै जाने ।

ती सबै मानिसहरू एकैसाथ चिच्च्याउँदै थिए, ‘राक्षसको दरबारको अलिकतिसम्म पनि अवशेष बाँकी राख्नु हुन्न । राक्षस भएपछि गुफामा बस्नुपर्थ्यो । घरमा त मानिसहरू पो बस्छन्, त्यो उसले जान्नुपर्थ्यो । गुफामा बस्नुपर्ने राक्षस सहर र गाउँका घरमा बस्न आएपछि र असामान्य अवस्था सिर्जना गर्न खोजेपछि यस्तै नतिजा हुन्छ ।

ती सबै मानिसहरू एकैसाथ चिच्च्याउँदै थिए, ‘राक्षसको दरबारको अलिकतिसम्म पनि अवशेष बाँकी राख्नु हुन्न । राक्षस भएपछि गुफामा बस्नुपर्थ्यो । घरमा त मानिसहरू पो बस्छन्, त्यो उसले जान्नुपर्थ्यो । गुफामा बस्नुपर्ने राक्षस सहर र गाउँका घरमा बस्न आएपछि र असामान्य अवस्था सिर्जना गर्न खोजेपछि यस्तै नतिजा हुन्छ । 

त्यत्तिकैमा कसैलाई दया लागेछ, ‘कतै भुइँतलाको एउटा कुनामा लुकेर त बसिरहेको छैन त्यो राक्षस ? बरु त्यसलाई इन्जेक्सन दिएर लठ्याएर गुफामा लगेर छाडिदिउँ । गणतन्त्रमा सबैले बाँच्न पाउनुपर्छ ।’

झोँक्किएर अर्कोले जवाफ दियो, ‘जङ्गलको गुफामा लगेर छोडिदियौँ भने त त्यहाँ बस्दैन । सहर र गाउँको सुविधामा त्यहाँका मानिसलाई ब्लटिनपेपरले झैँ सोसेर बाँच्न पल्केको राक्षस कहाँ गुफामा बसिरहन्छ र ?’

अर्कोले ऊ तर्सिएर बोल्यो, ‘त्यसलाई त जिउँदै जलाउनुपर्छ । बाँकी राख्नुहुन्न सर्पलाई मारेर छाड्यो भने अर्को सर्पले उसको आँखामा हत्याराको तस्बिर देख्छ रे अनि त्यसलाई लखेट्छ रे ।’

अर्को बोल्यो, ‘त्यसो त यो धरती राक्षस, जनावर, पक्षी, मान्छे आदि सबैको हो । एकाधिकार कसैले गर्न मिल्दैन ।’

त्यसलाई अर्कोले जवाफ दियो, ‘त्यसो त सबै आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ नि ।’

एउटा बुढो मानिसले बोल्यो, ‘जसको जस्तो प्रकृति भगवान्ले दिएका छन् त्यसले त्यस्तै मतिबुद्धिले व्यवहार गर्छ । त्यसमा राक्षसको के दोष ?’

एउटा ठिटोले बोल्यो, ‘राक्षस मानिसको बस्तीमा आएर बस्यो भने त्यस्तै परिणाम निस्कन्छ ।’

यी कुराहरू खम्बा ढलाउने लाइनमा उभिएका सामुन्नेका मानिसहरूका हुन् याने कि साधारण जनताका ।

डोरी समातेर उभिएका सबै मानिसहरू खम्बा ढलाउन दकदमै मानसिक र शारीरिक रूपमा तयार भइसकेका थिए ।

त्यति नै बेला एउटा लुरे अग्लो मानिस र अर्का गठिला धम्मरधुस मानिसहरू मिलेर एकैचोटि ‘एक, दुई, तीन’ भने । ती डोरी समात्नेहरूले एकैचोटि आफ्ना आफ्ना बलहरूलाई सामूहिक रूपमा समर्पण गरेर बेस्सरी ताने । यसरी ताने कि मानौँ उनीहरूलाई जिन्दगीभरमा सबैभन्दा धेरै बल निकाल्नुपर्ने समय त्यही थियो । यही चेतनाले ताने कि यति धेरै भारी काम अब जिन्दगीमा तिनीहरूले कहिले पनि गर्नुपर्नेछैन । यो कामलाई फेरि दोहोर्‍याउनुपर्ने पनि छैन । उनीहरूले लगाएका लुगा धुलामाटाले कुरूप भइसकेका थिए तर ती सबैका आँखामा एउटा अनौठो अद्वितीय चमक एकैचोटि देखापर्‍यो । त्यति नै बेला अत्यन्तै ठुलो ‘घडाम्मऽऽऽ’को आवाजको साथ सबै खम्बाहरू एकैचोटि ढलेर उनीहरूकै सामुन्ने लम्पसार परेर तेर्सिए ।

छरछिमेक र राक्षसको घरबाहिर उभिएका अनन्त मानिसहरूको आवाजको आँधी एकैचोटि झोक्काझोक्का बन्दै आयो, ‘तानाशाही मुर्दावाद ! तानाशाही मुर्दावाद !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मन्जु काँचुली तिवारी
मन्जु काँचुली तिवारी
लेखकबाट थप