सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

व्यापार मेलामा भाँजो नहाल्न उद्योग व्यापार सङ्घको आग्रह

आइतबार, ०५ असोज २०८२, ०७ : ०८
आइतबार, ०५ असोज २०८२

सारांश

  • उद्योग व्यापार संघ बुटवलले २०८२ पुसमा औद्योगिक प्रदर्शनीको तयारी गरिरहेको बेला रुपन्देही उद्योग संघले पनि सोही स्थानमा मेला गर्ने भन्दै बोर्ड गाडेको छ।
  • बुटवल उपमहानगरपालिकासँगको सहमतिलाई रुपन्देही उद्योग संघले तोडमोड गरेको भन्दै उद्योग व्यापार संघले आपत्ति जनाएको छ।
  • रुपन्देही उद्योग संघले भने बुटवलका संघसंस्थाहरुबिचको समझदारीअनुसार प्रदर्शनीको औपचारिक सुरुवात गरेको दाबी गरेको छ।

बुटवल । एक वर्षअघिदेखि तयारी थालेको पाँचौँ औद्योगिक प्रदर्शनी तथा व्यापार मेला एवं पर्यटन महोत्सव २०८२ मा भाँजो नहाल्न उद्योग व्यापार सङ्घ बुटवलले रुपन्देही उद्योग सङ्घलाई आग्रह गरेको छ । 

उद्योग व्यापार सङ्घले बुटवल मण्डपमा २०८२ पुस ५ देखि १८ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने निर्णय गरी गत पुस २१ गते बुटवल उपमहानगरपालिकामा निवेदन दर्ता गरेको थियो ।  

यस्तै सहरी विकास मन्त्रालय विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिमा मेला आयोजना गर्न स्थानको स्वीकृतिका लागि निवेदन दिएकामा उक्त समितिले बुटवल सभा हल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाईलाई पत्राचार गर्दै पुस ४ अगावै निर्माण कार्य पूरा गरी स्थान दिन निर्देशन गरेको थियो । 

यी प्रक्रिया पूरा गरेर प्रदेश र सङ्घीय मन्त्रालयहरूमा प्रस्तावना पत्र समेत बुझाई करिब ३० प्रतिशत तयारी पूरा गरेको अवस्थामा रुपन्देही उद्योग सङ्घले  एक्कासि सोही ठाउँमा पुस ३ देखि औद्योगिक प्रदर्शनी गर्ने भन्दै शनिबार बोर्ड गाडेपछि उद्योग व्यापार सङ्घले आपत्ति जनाएको  हो ।

एक वर्षदेखि तयारी गरेको मेलाका सम्बन्धमा महिनौँसम्म सार्वजनिक रूपमा मौन बसेको उद्योग सङ्घले एक्कासि बोर्ड राखेर सरासर गलत काम गरेको   उद्योग व्यापार सङ्घ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए ।

पत्रकार सम्मेलनमा  बुटवल उपमहानगरसँग बुटवलका चार व्यावसायिक संस्थाबिच भएको सहमतिलाई रुपन्देही उद्योग सङ्घले तोडमोड गरी एकतर्फी व्याख्या गरेर बलिच्याई गरेकाले कदापि स्वीकार्य नहुने अध्यक्ष पाण्डेले स्पष्ट पारे । उद्योग व्यापार सङ्घका संस्थापक अध्यक्ष खिमनारायण पराजुलीले २०७८ पुसमा आफूहरूले देवी नगरमा मेला सञ्चालन गर्दा अन्य तीन संस्थाबिच आलोपालोमा विवाद नहोस् भनेर तीन संस्थाको नाम उल्लेख भएको र आफूहरू आयोजक भएकाले चौथो पालो स्वतः आफूहरूको भएको बताए । 

यता आज बोर्ड गाडेको  रुपन्देही उद्योग सङ्घले  यसअघि बुटवलका संघसंस्थाहरुबिच मेला सञ्चालन सम्बन्धमा गरिएको समझदारीअनुसार प्रदर्शनीका लागि शनिवार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको रुपन्देही उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटाले दाबी गरे ।  उनले आफूहरूको पूर्ण सहमति अनुसार नै रुपन्देही उद्योग सङ्घले पुस ३ गतेदेखि बुटवलमा १६ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला आयोजना गर्ने उद्देश्यले  प्रदर्शनीका लागि शनिवार बोर्ड गाडेर औपचारिक सुरुवात गरेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप