आन्दोलनबाट खरानी भयो गण्डकी प्रदेश सभा, दसैँअघि संसद् नचल्ने
सारांश
- जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि गण्डकी प्रदेश सभा भवन प्रयोगविहीन भएको छ।
- आन्दोलनका कारण प्रदेश सभाका सवारी साधन र विभिन्न कार्यालयका सामग्रीमा क्षति पुगेको छ, जसको आर्थिक मूल्याङ्कन भइरहेको छ।
- संसद् बैठक सञ्चालनका लागि सरकारले नयाँ भवनको खोजी गरिरहेको छ र दसैँअघि बैठक बस्ने सम्भावना कम छ।
पोखरा । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि गण्डकी प्रदेश सभा भवन प्रयोग नै गर्न नमिल्ने गरी खरानी भएको छ । यो आन्दोलनमा पोखरामा सबैभन्दा बढी क्षति प्रदेश सभाले बेहोरेको हो ।
प्रदेश सभाको सबै भवनमा आगजनी गरिएको छ । प्रदेश सभा परिसरमा रहेका सवारी साधनहरू तोडफोड र आगजनी गरिएका छन् । सचिवालयका अनुसार प्रदेश सभा भवन र मातहतका सबै कार्यालय जलेर पूर्ण रूपमा नष्ट भएका छन् ।
यस्तै, ६ वटा चारपाङ्ग्रे सवारी साधन र १२ वटा दुईपाङ्ग्रे सवारी साधन आगजनीका कारण नष्ट भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार ३९ वटा कम्प्युटर, १९ वटा ल्यापटप, ४ वटा डिजिटल क्यामेरा, ५ वटा भिडियो क्यामेरा, ३८ वटा फोटोकपी मेसिन र प्रिन्टर तथा ९ वटा टेलिभिजन स्क्रिन र ४४ वटा एसी जलेको छ ।
क्षतिको आर्थिक मूल्याङ्कन विज्ञ समूहले गरिरहेको छ । गण्डकी प्रदेश सरकारले आफू मातहत रहेका मन्त्रालयदेखि कार्यालयहरूसम्मको क्षति विवरण सङ्कलन गर्न इन्जिनियरहरूको टीम खटाएको छ ।
बिहीबार भग्नावशेषमै मन्त्रिपरिषद् बैठक बसेको छ । बैठकले गाँजा खेतीलाई नियमन गर्ने विधेयक संसदमा पेस गर्ने निर्णय गरेको छ । आन्दोलन नभएको भए यतिबेला धमाधम संसद् बैठक चलिरहेको हुन्थ्यो । आन्दोलनमा भवन र संरचनामै क्षति पुगेपछि तत्काल संसद् बैठक चलाउन सम्भव देखिएको छैन ।
संसद् बैठक सञ्चालन गर्न सरकारले नयाँ भवनको खोजी गरिरहेको छ । अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा. टकराज गुरुङका अनुसार जिल्ला समन्वय समिति कास्कीको सभाहल वा कृषि मन्त्रालयको सभाहललाई संसद् भवनका रूपमा प्रयोग गर्ने गरी प्रस्ताव आएको छ ।
‘तत्कालका लागि केही ठाउँ प्रस्ताव गरिएका छन् । तैपनि आवश्यक तयारी गर्नुपर्छ,’ उनले भने, ‘दसैँअघि संसद् चल्न सम्भव देखिएको छैन । हामी दसैँ लगत्तै बैठक चलाउने गरी तयारी गर्छाैं ।’
अहिले प्रस्ताव गरिएका सभाहलसमेत साँघुरो छन् । त्यसैले थप विकल्पमा पनि छलफल भइरहेको गुरुङले सुनाए । सरकारले तत्काल मर्मत गरेर चलाउन सक्ने भवन तुरुन्तै बजेट व्यवस्था गरेर मर्मत गर्ने जनाएको छ । गण्डकी प्रदेश सभाको भवन निर्माणाधीन छ । नदीपुरमा भवन केही महिना अघिदेखि बनाउन थालिएको हो । यो भवन सक्न ३ वर्ष लाग्छ ।
संसदमा विचाराधीन विधेयकमाथि छलफल गर्न र सचिवालयमा भर्खरै दर्ता भएको विधेयकलाई समितिमा पठाउन पनि छिटै बैठक आवश्यक पर्ने सरकारको भनाइ छ । यता, सभामुख कृष्ण धिताल भने संसद् चलाउने विषयमा अन्योल रहेको बताउँछन् ।
‘माथिको चिठी कुर्दैछौँ । संसद् खारेजको खतरा उस्तै छ । प्रदेश टार्गेटमा छ,’ उनले भने, ‘खारेज गरिहाल्यो भने कुरै सकियो । नत्र त विकल्प खोजेर संसद् सुरु हुन्छ । सम्भव भएसम्म अहिले प्रस्ताव भएका ठाउँमा नत्र अन्यत्र खोजी गर्छाैं ।’
संसद् सचिवालयले वैकल्पिक ठाउँहरूको औपचारिक खोजी नगरेको सभामुख धितालले बताए । तत्काल सचिवालय चलाउन त्यही ठाउँमा खरानी सरसफाइ गरिरहेको उनले बताए । ‘अहिलेकै भवन भएको ठाउँलाई सरसफाइ गरिरहेका छौँ । सकेसम्म छिटो सचिवालय सुरु गरिहाल्छौँ । अरुचाहिँ खोजी गर्दैछौँ,’ उनले भने ।
कर्मचारीहरू अहिले कार्यालय जाने र हाजिर गरेर फर्किन्छन् । ‘काम गरौँ भने कम्प्युटर र अभिलेख केही छैन । दिनभरि गफ गरेर फर्किने गरिरहेका छौँ,’ एक कर्मचारीले भने, ‘चिया खाने, हिँड्नेमात्रै भइरहेको छ । दुई दिन सभामुखको निवास सरसफाइ गरियो ।’
नयाँ संसद् भवन खोजी गर्दा हललाई मात्रै ध्यान नदिन जानकारहरूले सुझाएका छन । ‘हलमात्रै भएर भएन । कार्य व्यवस्थाको कक्ष चाहियो, सचिवालय चाहियो, दलका कार्यालय चाहियो,’ उनीहरू भन्छन्, ‘सबै हिसाबले तत्कालका लागि जिसस उपयुक्त हुन्छ । अन्यत्र अत्यावश्यक कोठाहरू पनि छैनन् ।’
गण्डकीमा ६० सदस्यीय संसद् छ । मनाङबाट निर्विरोध निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङे कर्तव्य ज्यान मुद्दामा सजाय भुक्तान गरिरहेका कारण उनको पद रिक्त छ । हाल प्रदेश सभामा ५९ सांसद छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण