शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

नयराज पन्तको जीवनी

आइतबार, ०५ असोज २०८२, ११ : ५५
आइतबार, ०५ असोज २०८२

कृष्णदत्त र यज्ञप्रिया पन्तका सुपुत्र नयराज पन्तको जन्म १९७० साउन २६ गते काठमाडौँको महाबौद्धमा भएको थियो । पण्डित कृष्णदत्त त्यस जमानामा विद्वानमण्डलीमा सुविख्यात थिए । काठमाडौँदेखि कासीसम्मका विद्वानगणमा उनको बराबर चर्चा हुन्थ्यो ।

नयराज पन्त जन्मेको डेढ वर्षमै कृष्णदत्त स्वर्गीय भए । त्यसपछि यज्ञप्रिया आफ्नो नाबालक छोरो बोकेर माइत गइन् । त्यहीँ नै नयराज पन्त हुर्के, बढे र पढे । मामाघरमै १३ वर्षको उमेरमा पन्तको पण्डित जनकराज पाण्डेकी १२ वर्षीय छोरी बुधकुमारीसँग विहे भयो । पन्तदम्पतीबाट दुईछोरा महेशराज पन्त तथा दिनेशराज पन्त अनि तीन जना छोरी अम्बिका, धन र अमिताको जन्म भयो ।

पन्तको आफ्नी आमाका बुबा अर्थात् भुवननाथ पाण्डेबाट अक्षराम्भ भएको थियो । पन्तले सानैदेखि मामलका तिनै हजुरबुबाको आडमा ज्योतिष र इतिहास विषयक ज्ञान आर्जन गर्न थालेका थिए । वास्तवमा उनका हजुरबाबु यी दुवै विषयमा संलग्न भएका कारण पन्तले पनि त्यही बाटो मात्रै समाइरहे । उनैको वातावरण, भावना र हुटहुटीले नै पन्तले बाल्यकालदेखि इतिहासमा चासो राखेका थिए । आफ्नो शैक्षिक अनुभव आर्जन गर्नचाहिँ उनी कुमारी चोकको भाषा पाठशालामा भर्ना भए । अनि उनी स्रेस्ता पाठशाला पनि पुगे । त्यसपछि उनको पढाइ रानीपोखरीको संस्कृत पाठशालामा हुन थाल्यो ।

पन्तले आफूले जानेको विद्या आफ्ना टोलका आफूभन्दा सानालाई पनि सिकाउँथे । उनी फकाइफकाई बालबच्चा पढाउँथे तर ट्युसन पढाउँदा कसैसँग पैसा लिँदैनथे । उनी सबैसित प्रेम गर्थे । उनका लागि धनी गरिब बराबरी थिए । साथै उनी स्वाभिमानका चाहिँ छापावाल सुन नै थिए ।

पन्तले काशीको राजकीय संस्कृत पाठशालाबाट गणित ज्योतिषमा आचार्य गरे र उनी त्यसमा प्रथम श्रेणीमा प्रथम भएका थिए । त्यही क्रममा यिनले संस्कृतको धेरै नै अध्ययन गरेका थिए । वास्तवमा त्यसै बेला उनी संस्कृतभाषा लेख्न र बोल्नमा सिद्धहस्त पण्डितका रूपमा नै प्रस्तुत भएका थिए । साथै यिनले अङ्ग्रेजी साहित्यको पनि विशेष अध्ययन गरेका थिए । अनि हिन्दी भाषाको लेखापढीमा पनि उनको दिलचस्पी थियो ।

आचार्य गरेपछि पन्तले रानीपोखरीको संस्कृत पाठशालामा काम पाए । त्यहाँ उनी ज्योतिषको अध्यापक थिए । सरकारी स्कुलमा काम गर्न थालेपछि उनको दिनचर्या पनि राम्रो हुन थाल्यो । उनको कामले उनी आफै पालिने अवस्थामा अनुवाद हुन थाले । त्यसपछि उनी लेखन र सम्पादनमा पनि जुट्न थाले ।

पन्तले काम गरेर नै जस पाए । किनभने उनी कामका पक्का थिए । गर्छु भनेपछि उनले त्यो काम गरिछाड्थे । तिनै कामहरूको शृङ्खला जोडिएर उनी नेपाली वाङ्मयमा अत्यन्तै मर्यादित, विशिष्ट र श्रद्धेय व्यक्तित्व भए ।

पन्तको योगदान वाल्मीकि विद्यापिठमा पनि पुग्यो । त्यहाँ उनी नेपाल सरकारको प्रथम श्रेणी अधिकृत स्तरका प्राध्यापकका नियुक्त भए । अनि उनले त्यहाँ झन्नै सत्र वर्षसम्म सेवा गरे । त्यसपछि उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गत अन्वेषणमा पसे । अनि उनी खगोल गणित ज्योतिषमा संलग्न भए । त्यसपछि उनको योगदानको चर्चा राजदरबारसम्म पनि पुग्यो । परिणाम स्वरूप उनी झन्नै १५ वर्षसम्म नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्यमा आबद्ध भए ।

पन्तले नेपाली भाषा–साहित्यको उत्थानका लागि किशोरावस्थादेखि आफ्नो गच्छे रोपे । उनको जागरणका कारण उनी नेपाली भाषा प्रकाशनी समितिको सदस्य पनि भए । त्यहाँ पनि यिनले आफ्नो मन, वचन र कर्म अर्पण गरे । आफू इतिहासमा जागरुक भएपछि यिनको समेत पहलमा २००९ सालमा संशोधन मण्डलको स्थापना भयो । त्यसपछि उनी एकोहोरो त्यहीँ लागिरहे । दिनेशराज पन्तका अनुसार त्योभन्दा अघि नेपालमा विशुद्ध इतिहास लेख्ने चलनै थिएन ।

पन्तले नेपाली परिवेशमा समर्पित रही सेवा गरेबापत गोरखादक्षिण बाहु प्रथम ग्रहण गरे । त्योभन्दा अघि नै यिनले महेन्द्र विद्याभूषण पाइसकेका थिए । साथै उनले त्रिभुवन प्रज्ञापुरस्कार, आदिकवि भानुभक्त पुरस्कार, मदन पुरस्कार लगायत विभिन्न प्राज्ञिक, वाङ्मयी र सामाजिक सङ्घसंस्थाबाट सम्मान, अभिनन्दनहरू ग्रहण गरिरहे । साथै पन्तलाई २०५७ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्मानार्थ महाविद्यावारिधि (डिलिट) प्रदान गरिएको थियो ।

पन्तले जीवनमा सकेसम्म एक इन्च पनि आफूलाई बराल्ने काम गरेनन् । उनले सधैँ प्राज्ञिक काम मात्रै गरिरहे । युवाकालदेखि उनी लेखनमा मात्र नै प्रायः समर्पित भइरहे । उनले जसरी इतिहासलाई सही दिशा दिन कम्मरमा पटुका कसे यस काममा उनी सफल पनि भए । किनभने उनी सत्यदेखि पछि हट्दैनथे । उनी आफूलाई सही लागेको कुरा नै बोल्थे र त्यस्तै लेख्थे । उनी लोभानी र पापानीमा पनि कहिले लागेनन् । साथै अहम्, आडम्बर र घमण्डमा पनि उनी कहिले फसेनन् ।

पन्तले फुटकर रूपमा कविता र प्रबन्ध लेखे । धेरैचाहिँ उनले इतिहास नै लेखे । उनका इतिहास विषयक पुस्तक मात्र १५ वटा प्रकाशित भए । साथै उनीद्वारा लिखित ज्योतिष विषयक कृतिहरू मात्र १० वटा प्रकाशनमा आए । उनीद्वारा लिखित संस्कृत वाङ्मयका बारे लेखिएको एउटा कृति पनि प्रकाशनमा आयो ।

पन्तले काम गरेर नै जस पाए । किनभने उनी कामका पक्का थिए । गर्छु भनेपछि उनले त्यो काम गरिछाड्थे । तिनै कामहरूको शृङ्खला जोडिएर उनी नेपाली वाङ्मयमा अत्यन्तै मर्यादित, विशिष्ट र श्रद्धेय व्यक्तित्व भए ।

पन्त इमानदार थिए, नैतिकताका धनी थिए र उनको स्वाभिमान पनि त्यस्तै थिए । उनी कसैसँग खुम्चिँदैनथे । कसैसँग केही लिनु छ भने उनी नीतिदेखि पर सरेर लिँदैनथे । किनभने उनी मनुका विद्यार्थी थिए । उनका विषयमा स्नातकोत्तरमा शोध गर्ने अलका चालिसेले पनि मनुस्मृतिकै सिद्धान्तमा आधारित उनको जीवन पद्धति भएको ठहर गरिन्— ‘१) आफ्नो शरीरलाई धेरै कष्ट नदिईकन तथा निन्दित काम नगरीकन परिवारको पालनपोषण गर्नलाई पर्याप्त हुने धन जुटाउनु, २) स्वाध्यायमा खलल पार्ने खलका कुनै पनि क्रियाकलाप नगर्नु । जसोतसो गरेर अध्ययन अध्यापन कार्य जारी राख्न सक्नु नै विद्याव्यसनीको सफलता हो र ३) बुद्धि बढाउने, अर्थलाभ गराउने र आफ्नो हित हुने खालका शास्त्र तथा वैदिक ग्रन्थहरू पनि सधैँ हेर्ने गर्नु ।’

पन्त सत्यसँग नै बाँचे । उनी असत्यसँग डगमगाउँदैनथे । यसबारे उनको दर्शन थियो, ‘सत्य सधैँ एकै हुन्छ । त्यही पद्धतिमै उनले नब्बे वर्षतिर यस माटोमा टेकेर बिताए ।
कान नसुन्ने र आँखा प्रस्ट नदेख्ने भए पनि पन्त सकिनसकी आफ्नो यात्रामा घस्रिरहे । संस्कृत र नेपाली साहित्यमा लडिबुडी खेल्दाखेल्दै उनको स्वास्थ्यले साथ दिन पनि छाड्यो । अन्ततः २०५९ कात्तिक १८ गते काठमाडौँको आर्यघाटमा उनको स्वर्गारोहण भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप