सुगम जिल्लाको दुर्गम बस्ती ‘खल्ला मसेट्टी’
कञ्चनपुर। सुगम जिल्ला भनेर चिनिने कञ्चनपुर भित्रै विकासका आधारभूत सुविधाबाट वञ्चित छ, ‘खल्ला मसेट्टी’ गाउँ ।
यहाँसम्म पुग्ने पक्की बाटो छैन, स्वास्थ्य, शिक्षा, विद्युत् र खानेपानी जस्ता आधारभूत सेवा पाउनसमेत मुस्किल पर्ने यहाँको जनजीवन कष्टकर छ । सदरमुकामदेखि २० किलोमिटर उत्तरतर्फ अवस्थित यस बस्ती जोखिमपूर्ण कच्ची बाटो पार गरेर मात्र पुग्न सकिन्छ । २०६५ सालमा डडेल्धुराको जोगबुढाबाट बसाइसरेर यहाँ आएका लोकबहादुर थापा मगर यहाँ अनेक दुःख झेल्नु परेको बताउँछन् । “यहाँको मुख्य समस्या सडक हो । सडक नहुँदा यहाँका बालबालिका दुई घण्टा पैदल हिँडेर विद्यालय जान्छन्”, उनले भने, “बिरामी हुँदा उपचारका लागि निकै समस्या छ ।” बस्तीमा खानेपानीको सुविधा छैन ।
गाउँमा माध्यमिक तहको विद्यालय नहुँदा पढाइ छाडेर भारत जाने चलन छ । महेन्द्रनगर सदरमुकामदेखि करिब १३ किमी ब्रह्मदेवसम्म सुविधा सम्पन्न सडक छ । ब्रह्मदेव कटेपछि यहाँ पुग्न कठिन बाटोको यात्रा गर्नुपर्छ । “वर्षातको बेला बाटो नहुँदा बिरामीलाई उपचार गराउन समस्या हुन्छ, बाटो नहुँदा धेरै समस्या झेल्नुपरेको छ”, स्थानीय लीला पुन मगरले भनिन्, “विजुलीबत्ती र खानेपानीको सुविधा छैन ।” खानेपानी योजना आएको पाँच वर्ष भयो तर अहिलेसम्म पूर्णता पाएको छैन ।
छ सय बढी जनसङ्ख्या रहेको यस बस्तीमा आधारभूत तहको विद्यालय बाहेक अरू कुनै सुविधा उपलब्ध छैन । यहाँबाट ब्रह्मदेव पढ्नका लागि आठ किलोमिटर पैदल हिँड्नुपर्छ । सडक राम्रो नहुँदा यहाँ एम्बुलेन्स समेत ल्याउन सकिँदैन ।
यहाँ पक्की बाटो बन्ला र गाडी गुड्ला भन्ने आशामा दशक बितेको धनगिरी चुनारा बताउँछन् । उनले गाउँमा सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा धेरै पटक बिरामीलाई बोकेरै ब्रह्मदेव बजारसम्म पुर्याएको बताए । स्थानीयलाई यहाँ खेती गर्न सिँचाइसमेतको समस्या छ ।
वडा कार्यालय पनि ब्रह्मदेवमा भएकाले यहाँका स्थानीयले वडाबाट पाउने सेवा सुविधा समेत सहज रूपमा पाउन नसकेको स्थानीय रेखा विकको गुनासो छ । “गाउँगाउँमा सिंहदरबार आयो भन्छन् हामीले एउटा सिफारिसका लागि दुई घण्टा हिँड्नुपर्छ”, उनले भनिन्, “हामीलाई त आधारभूत सेवा सुविधा पाउनसमेत मुस्किल छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण