शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नवलपरासीमा स्थानीय तहको क्षति मूल्याङ्कन अन्तिम चरणमा

सोमबार, ०६ असोज २०८२, १६ : १२
सोमबार, ०६ असोज २०८२

सारांश

  • नवलपरासी जिल्लामा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ।
  • सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठन गरिएको समितिले सरकारी सम्पत्तिको मूल्याङ्कन गरिरहेको छ।
  • प्रारम्भिक मूल्याङ्कन अनुसार, सार्वजनिक तथा अन्य संस्थागत भवनसहित १३ वटामा क्षति पुगेको छ।

बुटवल । जेनजी आन्दोलनका क्रममा नवलपरासी जिल्लामा भएको क्षति मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ। करिब एक हप्ता अघि सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको नेतृत्वमा जिल्ला क्षति मूल्याङ्कन समिति गठन गरिएको थियो। समितिले अधिकांश क्षति भएका सरकारी सम्पत्तिको मूल्याङ्कन गरिसकेको र केही मात्र बाँकी रहेको जनाएको छ।

'अहिले क्षति मूल्याङ्कन अन्तिम चरणमा पुगेको छ। दुई–तीन दिनभित्र प्रतिवेदन तयार पार्ने तयारी छ,' भण्डारीले रातोपाटीलाई जानकारी दिए।

जिल्लाका सातै स्थानीय तहमा आन्दोलनकारीले तोडफोड तथा आगजनी गरेका थिए। सार्वजनिक तथा संस्थानका १३ वटा कार्यालयमा क्षति पुगेको समितिले जनाएको छ।

समितिका संयोजक भण्डारीका अनुसार हालसम्म सुस्ता गाउँपालिकामा करिब २५ लाख, सरावल गाउँपालिकामा ९२ लाख, पालिनन्दन गाउँपालिकामा ३१ लाख ५० हजार, सुनवल नगरपालिकामा २ लाख, र बर्दघाट नगरपालिकामा ३ करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक मूल्याङ्कन गरिएको छ। तर बर्दघाट नगरपालिकामा अझै केही सामग्रीको मूल्याङ्कन बाँकी भएकाले रकम अझै बढ्न सक्ने उनले स्पष्ट पारे।

भण्डारीले भने, 'हामी अझै मूल्याङ्कनको क्रममा छौँ, थप क्षति रकम बढ्ने देखिन्छ।' समितिले हालसम्मको मूल्याङ्कनअनुसार जिल्लामा सार्वजनिक तथा अन्य संस्थागत भवनसहित १३ वटामा क्षति पुगेको र भौतिक क्षति करिब २ करोड ९६ लाख बराबर भएको प्रारम्भिक निष्कर्ष निकालेको छ। आन्दोलनकारीले नगरपालिका प्रमुख तथा प्रशासनिक भवनसँगै केही वडा कार्यालयमा समेत तोडफोड र आगजनी गरेका थिए।

यद्यपि क्षति भएका कार्यालयमा सेवा भने सुरु गरिएको छ। बर्दघाट र पालिनन्दनजस्ता धेरै क्षति भएका स्थानीय तहका कार्यालयले समेत नागरिकलाई सिफारिससहित अति आवश्यक कामकाज सेवा निरन्तरता दिएका छन्। अन्य सरकारी कार्यालयहरूले पनि कुनै न कुनै ढङ्गबाट नागरिकको काम नरोकिने गरी सेवा सञ्चालन गरिरहेको भण्डारीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप