आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

दाइजोको निहुँमा पतिको आक्रमण, भारतमा नेपाली चेलीको मृत्यु

मङ्गलबार, ०७ असोज २०८२, ११ : ००
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • भारतमा दाइजोको निहुँमा पतिले आक्रमण गर्दा एक नेपाली चेलीको मृत्यु भएको छ।
  • बिहारको दरभंगामा पति रजनीश ठाकुरले ३० वर्षीया तुलसीलाई कुटपिट गरी हत्या गरेका हुन्।
  • तुलसीको टाउकोमा फलामको रड र घाँटीमा छुरा प्रहार भएको थियो, र उनको बाटोमै मृत्यु भयो।

काठमाडौँ । दाइजोको निहुँमा पतिले आक्रमण गर्दा भारतमा एक नेपाली चेलीको मृत्यु भएको छ ।

बिहार राज्यको दरभंगास्थित नेहरा थाना अन्तर्गतको क्षेत्रमा सो घटना भएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार नेपालको जनकुमारधाम माइत भएकी ३० वर्षीय तुलसीलाई उनकै पति रजनीश ठाकुरले दाइजोको नल्याएको निहुँमा कुटपिट गरेका थिए ।

रजनीशले तुलसीको टाउकोमा फलामको रड र घाँटीमा छुरा प्रहार गरी गम्भीर घाइते तुल्याएपछि उपचारका लागि मधुवनीको रामशीला अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

मृतकका पिता पवन ठाकुरको उजुरीका आधारमा भारतीय प्रहरीले रजनीशलाई पक्राउ गरेको छ । रजनीशका परिवारका अन्य सदस्य भने सो घटनापछि फरार भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

१६ वर्षअघि तुलसीको विवाह रजनीशसँग भएको थियो । उनीहरूका तीन सन्तान छन् ।

रजनीशका छिमेकीहरूका अनुसार उनले पत्नीलाई लामो समयदेखि कुटपिट गर्दै आएका थिए । तीन वर्षअघि पतिको अत्याचार सहन नसकेर तुलसी आफ्नो माइती घर जनकपुर गएर बसेको बताइएको छ । केही महिनापछि उनी फेरि आफ्नो कर्मघर फर्किएकी थिइन् ।

मृतकका पिता पवन ठाकुरलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाए अनुसार तुलसीलाई उनका पति र सासु–ससुरा मिलेर निरन्तर यातना दिँदै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप