जेन–जी आन्दोलनले सिकाएका पक्ष
जेन–जीको आन्दोलनले दुई दिनमै ( भदौ २३ र २४ गते) मुलुकको तत्कालीन सरकार र सदनको विघटन भयो । यो आन्दोलनले आकस्मिक र अप्रत्याशित ढङ्गले भ्रष्टाचार, बेथिति, विसङ्गति, नातावाद र कृपावादका विरुद्ध जबर्जस्त धावा बोलेको छ । यसका साथै यो आन्दोलनका अन्य धेरै सबल पक्ष छन्, जसले देश र जनतालाई आशाका किरण देखाएका छन् । यो आलेख भने जेन–जी आन्दोलनमा देखिएका केही दुर्बल पक्षको चर्चा गरिनेछ ।
माओत्सेतुङ भन्नुहुन्थ्यो– क्रान्ति कुनै भोजभतेर होइन । अवश्य, क्रान्ति सधैँ एकनासको हुँदैन । क्रान्ति सबैले चाहेजस्तै र नापे–तौलेजस्तो पनि हुँदैन । क्रान्तिमा सधैँ र सबै राम्रो मात्र पनि हुँदैन । कहिलेकाहीँ क्रान्तिमा सोचेभन्दा बढी नकारात्मक र पीडादायी परिस्थिति सिर्जना हुने गर्दछ । आँधीहुरीले नराम्रो चिज मात्र बढार्दैन, राम्रा चिज पनि बढारेर लैजान सक्छ । आन्दोलन पनि एउटा जबर्जस्त आँधीहुरी नै हो, त्यो सोचेजस्तो हुँदैन । तसर्थ त्यसको सबल पक्ष मात्र हुँदैनन्, दुर्बल पक्ष पनि हुन्छन् । जेन–जी आन्दोलनका कैयौँ सबल पक्ष हुँदाहुँदै पनि केही दुर्बल पक्ष हुनु कुनै अनौठो र अस्वाभाविक होइन ।
- विचारविहीन
जेन–जी आन्दोलनको एउटा दुर्बल पक्ष हो, विचार वा दृष्टिकोणविहीनता । कुनै पनि आन्दोलनको उठान र अवतरणका निम्ति अत्यावश्यक हुन्छ, विचार वा दृष्टिकोण ।
आन्दोलनको उठान कसरी गर्ने ? परिचालन कसरी गर्ने ? आन्दोलनमा आउन सक्ने समस्या के के हुन् ? ती समस्याको समाधान कसरी गर्ने ? आन्दोलन लक्ष्यमा पुर्याइसकेपछि त्यसलाई सुरक्षित अवतरण कसरी गर्ने ? आन्दोलनको अवतरणपश्चात् आन्दोलनकारीका नीति, योजना र कार्यक्रम के हुन् ? ती कार्यक्रम र योजनालाई कसरी कार्यान्वयन गर्ने ? आदि विषयको निर्क्योल आन्दोलनकारी समूह वा सङ्गठनमा निहित विचार र दृष्टिकोणले गर्छ । जेन–जी आन्दोलनमा त्यस्तो कुनै विचार वा दृष्टिकोण देखिएन, जसका कारण आन्दोलन सफल भइसकेपछि अब के गर्ने ? कसरी गर्ने ? कसले गर्ने भन्ने अन्योल उत्पन्न भयो । त्यही अन्योलतामा टेकेर धेरैले आ–आफ्नो रोटी सेक्ने प्रयत्न पनि गरे । यहाँसम्म कि त्यो अन्योलता, अकर्मण्यता र दिशाहीनताको स्थितिमा प्रतिगामी र पुनर्उत्थानवादी समेतले टाउको उठाउन प्रयत्न गरे ।
- सङ्गठनविहीन
अर्को दुर्बल पक्ष हो, सङ्गठनविहीनता । मान्छेलाई उद्वेलित गर्ने कतिपय घटनाका कारण सङ्गठनविनै भावना, आक्रोश र उत्तेजनाकै भरमा ठुल्ठुला आन्दोलन हुन सक्छन् तर त्यस प्रकारको आन्दोलन धेरै लामो समय टिक्न सक्दैन । जसरी जेन–जी आन्दोलन केवल ३६ घन्टामै सफल भयो, त्यसरी छोटो समयमै आन्दोलन लक्ष्यमा पुग्न नसकेको स्थितिमा आन्दोलनलाई लामो समयसम्म टिकाएर निरन्तर अघि बढाउन आन्दोलनकारीको एकीकृत, जुझारु र सशक्त सङ्गठन अत्यावश्यक हुन्छ । त्यति मात्र होइन, आन्दोलनका उपलब्धिको रक्षा गर्न पनि आन्दोलनकारीको सशक्त सङ्गठन हुनुपर्छ । किनकि आन्दोलनबाट फ्याँकिएको पुरानो सत्तासीन वर्ग, समूह वा शक्तिले आगामी लामो समयसम्म पुनः सत्तासीन हुनका निम्ति निरन्तर प्रयास गरिरहन्छ । उनीहरू पुनः सत्तामा फर्किनका निम्ति प्रशस्त आधार जीवित रहिरहेका हुन्छन् ।
जेन–जी आन्दोलनको एउटा दुर्बल पक्ष हो, विचार वा दृष्टिकोणविहीनता । आन्दोलनको उठान कसरी गर्ने ? परिचालन कसरी गर्ने ? आन्दोलनमा आउन सक्ने समस्या के के हुन् ? ती समस्याको समाधान कसरी गर्ने ? आदि विषयको निर्क्योल आन्दोलनकारी समूह वा सङ्गठनमा निहित विचार र दृष्टिकोणले गर्छ ।
आन्दोलनका निम्ति र आन्दोलनबाट प्राप्त उपलब्धि रक्षाका निम्ति जेन–जी समूहको एउटा सुस्पष्ट विचार तथा दृष्टिकोण बोकेको सङ्गठन अत्यन्तै आवश्यक हो । जेन–जी आन्दोलनलाई नियालेर हेर्दा आन्दोलनकारीको सुस्पष्ट विचार/दृष्टिकोणसहितको एकीकृत, जुझारु र सशक्त प्रकारको सङ्गठन देखिँदैन । सङ्गठनविनै केवल क्षणिक उत्तेजना, भावना र आक्रोशकै आधारमा उक्त आन्दोलन उठेको र त्यही अनुरूप अवतरण भएको देखिन्छ । देशैभर उनीहरूको कैयौँ बेग्लाबेग्लै समूह र उपसमूहहरू रहेका र ती कैयौँ समूह र उपसमूहमध्ये कसैले कसैको कमान्ड, कन्ट्रोल स्वीकार नगरेको पनि देखिन्छ । वास्तवमा जेन–जी आन्दोलनका निम्ति यो दुःखद् पक्ष हो ।
- नेतृत्वविहीन
नेतृत्वविहीनता पनि जेन–जी आन्दोलनको एक अर्को दुर्बलता हो । कुनै पनि आन्दोलनका निम्ति नेतृत्व मुख्य कुरा हो । आन्दोलनको योजना निर्माण र कार्यान्वयनको नेतृत्व गर्न, आन्दोलन सफल या असफल जे भए पनि त्यसको अपनत्व लिन तथा आन्दोलन लक्ष्यमा पुगिसकेपछि आन्दोलनको अवतरण गर्न र आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न आन्दोलनको नेतृत्व गर्ने नेताहरूको एउटा ठुलो टिम र ती नेताको पनि नेतृत्व गर्ने एउटा मुख्य नेता हुनुपर्छ । त्यस प्रकारका नेताहरू र मुख्य नेता भएन भने आन्दोलन ‘चेन अफ कमान्ड’मा चल्न सक्दैन ।
जब आन्दोलन ‘चेन अफ कमान्ड’मा चल्न सक्दैन, तब आन्दोलन अनुशासित र मर्यादित हुन सक्दैन । त्यस्तो अवस्थामा देश, जनता र आन्दोलनकारीकै निम्ति आन्दोलन प्रत्युत्पादक हुने सम्भावना बढी हुन्छ । सशक्त सङ्गठन, सही विचार, कुशल नेतृत्व र अनुशासित एवं मर्यादित नेता तथा कार्यकर्ताको सहभागिताविनाको आन्दोलन झन् भयावह हुन सक्ने खतरा पनि हुन्छ । त्यस प्रकारका आन्दोलनको दुरुपयोग गरेर झन् खतरनाक तानाशाह जन्मिन सक्छन् ।
जेन–जी आन्दोलनमा सबैले ‘चेन अफ कमान्ड’ स्वीकार गर्ने सर्वसम्मत नेतृत्व देखिएन । भदौ २३ गतेको प्रदर्शनका निम्ति काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा पत्राचार गर्ने काम सबल गौतम र पुरुषोत्तम यादवले गरेको देखिन्छ । दुर्गा प्रसाईंले जेन–जी आन्दोलनमा सहभागी भएर आन्दोलन भड्काउने सम्भावना देखेपश्चात् उनलाई भेटेर त्यसो नगर्न अनुरोध गर्न मिराज ढुङ्गाना लगायतको एउटा जेन–जी टिम सक्रिय भएको देखिन्छ । २३ गतेको आन्दोलनकै क्रममा आपतकालीन उपचार र खानेपानीको व्यवस्थापनका निम्ति माइतीघर मण्डलामा सुदन गुरुङ लगायतको टिम सक्रिय भएको देखिन्छ । यद्यपि सुदन जेन–जी समूहभित्र पर्दैनन् तर उनको साथमा एउटा जेन–जी टिम क्रियाशील देखियो । यी जेन–जी टिममध्ये कसैले कसैको नेतृत्व स्वीकार गरेको देखिँदैन । जङ्गी अड्डामा वार्ताका निम्ति भएको कैयौँ जेन–जी समूहको बेग्लाबेग्लै दौडधुपले पनि जेन–जी आन्दोलन नेतृत्वविहीन रहेको प्रस्ट पार्छ ।
जङ्गी अड्डाले हतार–हतारमा सुदन गुरुङलाई जेन–जीहरूको प्रमुख नेता बनाएर वार्तामा सामेल गरे पनि समग्र जेन–जी समूहले यो कुरा स्वीकार गरेको देखिँदैन । विभिन्न जेन–जी समूहका पछिल्ला गतिविधि र उनीहरूका अभिव्यक्तिले यही कुरा देखाउँछ । जेन–जी आन्दोलन र त्यसको उपलब्धिका निम्ति यो शुभसङ्केत होइन ।
- अराजकता
आन्दोलनको समय र त्यसपछि देखिएका अराजकता पनि जेन–जी आन्दोलनको एक अर्को दुर्बल पक्ष हो । सुस्पष्ट विचार–दृष्टिकोणको अभाव, ‘चेन अफ कमान्ड’मा चल्ने सशक्त र जुझारु सङ्गठनका अभाव र नेतृत्वको अभावको स्वाभाविक परिणाम हो, आन्दोलनमा अराजकता ।
आन्दोलनमा करिब ६ दर्जन नेपाल आमाका कलिला सन्तानले जीवन गुमाए । सिंहदरबारका केही कार्यालय, सर्वोच्च अदालत, अख्तियार लगायत देशभरका कैयौँ महत्त्वपूर्ण सरकारी कार्यालय, असङ्ख्य प्रहरी कार्यालय र असङ्ख्य सरकारी गाडी मात्र होइन; कैयौँ बेकसुर जनताका निजी सम्पत्ति जलेर खरानी भए । आन्दोलनमा देखिएको अराजकताको पराकाष्ठा हो यो । आन्दोलन सुस्पष्ट विचार/दृष्टिकोणद्वारा निर्देशित हुन्थ्यो, आन्दोलन हाँक्ने सशक्त सङ्गठन र नेतृत्व हुन्थ्यो भने यति अराजकता प्रदर्शन हुने थिएन । देश र जनताले यति ठुलो क्षति बेहोर्नुपर्ने थिएन । किनकि सुस्पष्ट विचार वा दृष्टिकोणले सकेसम्म कम क्षति गरेर आन्दोलन सफल बनाउन प्रयत्न गर्छ । आन्दोलनलाई बदनाम गराउँदै आफ्नो फाइदा उठाउन घुसपैठ गर्नेले अवसर पाउने थिएनन् । अन्ततः ती सबै अराजकताको अपजस पनि जेन–जी आन्दोलनकै निधारमा थोपरियो ।
समग्र राजनीतिक पार्टीहरू र नेता तथा कार्यकर्तालाई हेर्ने–बुझ्ने प्रश्नमा देखिएको गलत सोच र चिन्तन पनि जेन–जी आन्दोलनको एक अर्को दुर्बल पक्ष हो । जेन–जी आन्दोलनकारीले सबै राजनीतिक पार्टी र सबै राजनीतिक नेता तथा कार्यकर्तालाई एउटै डालोमा हालेर हेर्ने, बुझ्ने र सोही अनुसारको व्यवहार गर्ने गरेको पनि देखिन्छ । आन्दोलनमा प्रायः सबै राजनीतिक पार्टीका कार्यालयमा तोडफोड र आगजनी भएका छन् । नेताहरूको व्यक्तिगत सम्पत्तिमाथि छानी–छानी तोडफोड तथा आगजनी गरियो भने नेताहरू माथि नै आक्रमण भए ।
जेन–जी उमेर समूहका कतिपय युवा राजनीतिक पार्टी, विचार समूह र सङ्गठनहरूमा आबद्ध छन् । भदौ २३ को जेन–जी आन्दोलनमा राजनीतिक पार्टीमा आबद्ध नभएका जेन–जी युवा मात्र थिएनन् । त्यस आन्दोलनमा सबै राजनीतिक पार्टीमा आबद्ध जेन–जी युवाको पनि उल्लेख्य सहयोग, समर्थन र सहभागिता थियो । प्रायः राजनीतिक पार्टीमा आस्था राख्ने जेन–जी युवाहरूको त्यो आन्दोलनमा ऐक्यबद्धता थियो ।
जेन–जी आन्दोलनपछि रिपोर्टस क्लबमा पत्रकारहरूको एउटा प्रश्नको उत्तर दिनेक्रममा जेन–जी नेता सुदन गुरुङले भनेका थिए— आगामी चुनावमा हामी राजनीतिक दलका नेताहरूलाई घरबाट निक्लिनै दिन्नौँ । लोकतन्त्रका निम्ति वास्तवमै यो खेदजनक अभिव्यक्ति हो । यो अभिव्यक्ति जेन–जी आन्दोलनको मर्मविपरीत अभिव्यक्ति पनि हो । किनकि जेन–जी आन्दोलन पञ्चायतजस्तो निर्दलीयताका निम्ति थिएन; यो आन्दोलन राजनीतिक दल र तिनका नेताहरूको गतिविधिमाथि प्रतिबन्धको निम्ति पनि थिएन । हामीले बुझेको जेन–जी आन्दोलन भ्रष्टाचार, बेथिति र विकृति, विसङ्गतिका विरुद्ध थियो । यस आन्दोलनले आफ्ना मागलाई बिर्सनु हुँदैन, तिनलाई टुंंगोमा पुर्याउन खबरदारी गरिरहनुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘क्रिटिक्स फिल्म अवार्ड’ : दायाहाङ र थिन्ले उत्कृष्ट, अन्य को–कसले पाए अवार्ड ?
-
रास्वपा महाधिवेशन उद्घाटन सत्र : व्यवस्थापनमा र्याट, बाउन्सर र सुरक्षामा नेपाल प्रहरी (तस्बिरहरु)
-
विश्वकपको ऐतिहासिक एक हजारौँ खेल, जापानको पनि ऐतिहासिक उपलब्धि
-
प्रतिनिधिसभा निर्वाचनपछि ५ पार्टीका अध्यक्ष एउटै मञ्चमा
-
दुई सुरक्षा निकायका एआईजीले सुरक्षा व्यवस्थापनको मनिटर गर्ने
-
दीपक बोहराले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण