बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिमा उपमेयर–कर्मचारी विवाद, कामकाज प्रभावित

मङ्गलबार, ०७ असोज २०८२, २० : ५४
मङ्गलबार, ०७ असोज २०८२

सारांश

  • जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर र कर्मचारीबीचको विवादले कार्यालयको काम प्रभावित भएको छ।
  • कर्मचारीहरूले उपमेयरमाथि सार्वजनिक अपराध मुद्दा दायर गर्न माग गर्दै 'कलम डाउन' गरेका छन्।
  • मेयरले समेत उपमेयरको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्, भने उपमेयरले वार्ता चलिरहेकोले अहिले प्रतिक्रिया नदिने बताए।

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिमा उपमेयर किशोरी साह र कर्मचारीबिचको विवादले कार्यालयको काम प्रभावित भएको छ ।

सोमबार भएको विवादपछि मंगलबार कर्मचारीहरूले उपमेयरमाथि सार्वजनिक अपराध मुद्दा दायर हुनुपर्ने अडान राखेका छन् ।

भण्डारण महाशाखा प्रमुख गणेश यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृत (सीएओ) मित्रलाल ढकालमार्फत मुद्दा अगाडि बढाउने तयारी गरिएको हो । मंगलबार कार्यालय समयमा कर्मचारीहरूले ‘कलम डाउन’ समेत गरेको उनले बताए ।

यादवका अनुसार सोमबार उपमहानगरपालिकाबाट कलश यात्रा निकालिएको थियो । त्यसपछि फर्केका कर्मचारीहरू आराम गरिरहेका बेला उपमेयर साह कार्यालय पुगेर आफूलाई सम्मान नगरेको र आदेश नमान्ने गरेको भन्दै गाली–गलौज गरेका थिए ।

कर्मचारीहरूले विरोध जनाउँदा उनी झन् उग्र हुँदै कुर्सी उठाएर कुटपिट गर्न तम्सिएको कर्मचारीको आरोप छ ।यसअघि पनि यस्ता घटना पटक–पटक भए तापनि यसपटक सहनसक्ने सीमा नाघेकाले कानुनी बाटो रोज्न बाध्य भएको कर्मचारीहरूको भनाइ छ ।

यस्तै मेयर मनोज कुमार साहले समेत आफू उपमेयरको असभ्य व्यवहारबाट पीडित भएको दाबी गरेका छन् । उनले भने, ‘उपमेयर साहले मलाई समेत पटक–पटक गाली गरेका छन् । अहिले स्थिति विकराल बनेको छ ।  म कर्मचारीको पक्षमा छु, किनभने उनीहरूमाथि बारम्बार अन्याय हुँदै आएको छ ।’

यता कर्मचारीहरुसंगको विवादको विषयमा उपमेयर किशोरी साहले विवादकै विषयमा वार्ता चलिरहेकोले अहिले यस विषयमा कुनै किसिमको प्रतिक्रिया नजनाउने रातोपाटीलाई बताए । 

उनले भने, ‘कर्मचारीहरुसंगको विवादको विषयमा अहिले कार्यपालिकामा वार्ता बसेको छ, यस विषयमा प्रतिक्रिया दिँदा वार्ता भङ्ग हुने खतरा रहेकोले अहिले केही भन्न चाहन्नँ । बरु ममाथि लगाइएको आरोपको खण्डन समस्या समाधान भएपछि पक्कै गर्ने छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप