मन्त्री घिसिङसँगको भेटमा चिनियाँ राजदूतले भने- नेपाललाई सहयोग गर्न चीन सधैँ तयार छ
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङ र चिनियाँ राजदूत चेन सोङबीच शिष्टाचार भेटवार्ता भयो, जसमा बधाई तथा शुभकामना आदानप्रदान भयो।
- भेटमा नेपाल-चीनबीचको सडक, विद्युत प्रसारण लाइन, र चिनियाँ लगानीका परियोजनाबारे छलफल भयो।
- मन्त्री घिसिङले सडक मर्मत, चक्रपथ विस्तार, र प्रसारण लाइन निर्माणमा चीनको सहयोगको आग्रह गरे।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि चीनका चेन सोङबिच बुधबार शिष्टाचार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको भेटमा नवनियुक्त मन्त्री घिसिङलाई चिनियाँ राजदूत सोङले बधाई दिनुका साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
भेटमा नेपाल–चीनबिचको सडक तथा विद्युत् प्रसारण लाइन कनेक्टिभिटी, चिनियाँ निर्माण व्यवसायीबाट ठेक्का लिएका सडक तथा विद्युत् आयोजनाको निर्माण प्रगति, ऊर्जा क्षेत्रमा सहकार्य, चिनियाँ सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन अवस्था, चिनियाँ लगानीलगायतका विषयमा छलफल भएको थियो ।
भेटमा मन्त्री घिसिङले नेपाल र चीनलाई सडक सञ्जालबाट जोड्ने काठमाडौँ—कोदारी (अरनिको) र स्याप्रुबेंसी—रसुवागढी सडक महत्त्वपूर्ण र संवेदनशील रहेको तर पहिरो र कमजोर भौगोलिक अवस्थितका कारण जोखिमयुक्त रहेकाले चिनियाँ प्रविधि प्रयोग गरी सडक मर्मत गरी स्थायी रूपमा सञ्चालनका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरे ।
उनले काठमाडौँ उपत्यका चक्रपथ विस्तारअन्तर्गत चिनियाँ अनुदानमा निर्माण हुने कलङ्की—वसुन्धरा खण्डको काम तत्काल सुरु गर्न, अरुण नदी करिडोरमा धेरै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेको र नेपालको विद्युत् बजारलाई थप प्रतिस्पर्धी बनाउन किमाथाङ्काबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण अगाडि बढाउन आग्रह गरे । चिनियाँ कम्पनीले ठेक्का लिएका कमला—कञ्चनपुर आयोजनाको निर्माण सन्तोषजनक नरहेको, नारायणघाट—बुटवल र मुग्लिन—पोखरा सडक विस्तारको कामलाई गति दिन आवश्यक सहयोग र सहजीकरणका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
राजदूत सोङले नेपालका प्राथमिकता प्राप्त क्षेत्रमा सहयोग गर्ने चीन सँधै तयार रहेको उल्लेख गरे ।
भेटमा मन्त्रालयका सचिव केशव कुमार शर्मा, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखा प्रमुख सुशीलबाबु ढकाल, सडक विभागका महानिर्देशक विजय जैशी, परराष्ट्र मन्त्रालय उत्तरपूर्व एसिया महाशाखाका उपसचिव मनहरि दङ्गाललगायतका सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण