आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

९ वटा नेपाली नियोगहरूसँग परराष्ट्रको छलफल

२०० जना रोहिङ्ग्याले नेपाली राहदानी लिएको विषयमा पनि छलफल
बुधबार, ०८ असोज २०८२, २१ : ०४
बुधबार, ०८ असोज २०८२

काठमाडौँ । परराष्ट्र मन्त्रालयले वैदेशिक रोजगारीका क्रममा भिजिट भिसाको दुरुपयोग र त्यसबाट उत्पन्न चुनौतीबारे विदेशस्थित ९ वटा नेपाली नियोगहरूसँग विशेष छलफल गरेको छ।

अध्यागमन विभागको अनुरोधलाई समेत ध्यान दिँदै परराष्ट्र सचिव अमृत बहादुर राईको उपस्थितिमा गरिएको उक्त कार्यक्रममा वैदेशिक रोजगारीमा संलग्न नेपालीहरूको अवस्था, भिजिट भिसाको दुरुपयोग, यसबाट आइपर्ने जोखिम र आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीतिबारे व्यापक अन्तरक्रिया भएको थियो।

कार्यक्रममा वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित, मर्यादित र भरपर्दो बनाउन परराष्ट्र, गृह, श्रम मन्त्रालय तथा विदेशस्थित नियोगबिच आपसी समन्वय अपरिहार्य रहेको निष्कर्ष निकालिएको छ। 

यसै क्रममा भिजिट भिसा सरलीकरण, अध्यागमन नियमन, द्रुत प्रतिकार्य टोली, आपतकालीन उद्धार कोष, मानव तस्करी नियन्त्रण, बीमा प्रणाली, जनचेतना अभिवृद्धि, स्थानीय तहको भूमिका, भाषा र तालिम अभाव जस्ता विषयमा गहन छलफल भएको परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्तिमार्फत जनाएको छ।

सो अवसरमा करिब २०० जना म्यान्मारका रोहिङ्ग्याहरूले नेपाली राहदानी लिएर साउदी अरबमा गएका विषयमा पनि छलफल भएको छ। उनीहरूको राहदानी, नागरिकता र कागजातको सत्यता प्रमाणित गर्ने प्रक्रिया जारी रहेको र यसलाई तार्किक निष्कर्षमा पुर्‍याइने जानकारी दिइएको छ।

छलफलका क्रममा सचिव राईले सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको मर्म अनुरूप उपलब्ध स्रोतसाधन भित्र रहँदै छिटो, मितव्ययी र प्रभावकारी कार्यसम्पादन गर्न नियोग प्रमुखहरूलाई निर्देशन दिएको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप