शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दलका नेताले मनन गरुन्— हामीले त्यस्तो के गरिरहेका छौँ र जनता चिढिए ?

गणतन्त्रको रक्षा, प्रयोग र विकासबारे !

बिहीबार, ०९ असोज २०८२, १३ : ०४
बिहीबार, ०९ असोज २०८२

गणतन्त्रका झन्डै दुई दशक र नयाँ संविधान लेखेको एक दशकपछि गणतन्त्रको विरोधमा सडक तातिएको छ; राजतन्त्रका पक्षधर हौसिएका छन् । कुनै पनि राजनीतिक व्यवस्था स्थापित हुन, विकास हुन र त्यो व्यवस्थाले प्रतिफल दिन समय लाग्छ नै तर आज जनताको ठुलो पंक्ति निर्धक्क गणतन्त्रको विरोधमा बोल्ने, सडकमा आउने काम भइरहेको छ; जुन कुरा गणतन्त्रका लागि शुभ सङ्केत होइन ।

यसमा गम्भीर बन्दै यस व्यवस्थाका मुख्य हिमायती दल कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका नेतृत्व तथा कार्यकर्ताले प्रश्न आफैँलाई गरौँ र भनौँ— हामीले के त्यस्तो गरिरहेका छौँ, जसले जनतालाई चिढ्याइरहेको छ ?

समस्याको समीक्षा 

कहिलेकाहीँ त यस्तो लाग्छ, नेपालमा स्वतन्त्र जनता नै छैनन्, मात्र दलका कार्यकर्ता छन्, पार्टीका नेता छन् । मतदाताको परिचयपत्र नै दलको सदस्यता जस्तो भएको छ । तसर्थ अधिक स्वतन्त्र जनताविनाको चुनावी परिणाममा हामीले हर्ष बढाइँ गरेको धेरै भइसक्यो । जनताका प्रतिनिधिले संविधान लेखिसकेपछि तीन तहका सरकारमा समावेशी प्रतिनिधित्व भइसकेपछि अब हामी बिस्तारै समृद्धिको यात्राबारे उत्सुक हुनुपर्ने हो, हुँदै छौँ पनि । व्यापक बहस, गम्भीर चासो र अनेक उपायको खोजी गर्दै छौँ ।

गणतन्त्रमा जनताका असली प्रतिनिधि भनेका राजनीतिक दल हुन् । राजनीतिक दलले नै जनतामा आशा–भरोसा जगाउनुपर्छ; सुखदुःखमा साथ दिनुपर्छ । जनताले आफ्नो विचारले, आवश्यकताले, विश्वासले आवधिक निर्वाचनमार्फत दल चुन्ने, नेतृत्व चुन्ने र त्यो अवधिमा चुनेको दल, नेतालाई परीक्षण र निगरानीमा राख्ने कुरा गणतन्त्रमा अनिवार्य हो । जब जनता जर्ज हुन्छन् र फैसला गर्छन्, त्यो सर्वस्वीकार्य हुन्छ, हुनुपर्छ गणतन्त्रमा । के अहिले यस्तो अवस्था हो त ? 

मुख्य गरी अहिलेको राज्यसत्ता सञ्चालकमा कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलहरू छन् । अब प्रश्न उठ्छ, के अहिले यी दल र नेतृत्वले राज्यसत्ता सञ्चालनमा गणतन्त्रको मर्म बुझेका छन् ? जनताले त्यो अधिकार उपभोग गरेको महसुस गरेका छन् ? 

मिलिजुली सरकार चलाउने, आलोपालो प्रधानमन्त्री बन्ने र मौका पाएसम्म सत्ताको भोग गर्न पछि नपर्ने चरित्र अहिलेको दलीय चित्र हो । निकै लामो समयदेखि जुन व्यवस्था आए पनि राज्यसत्ता चलाएका अनुहारहरूको निरन्तरता र फेरि उनै पात्र र प्रवृत्तिले राजनीतिक पार्टीमा रजगज गरेको देख्ने जो–कोही जनता पनि निराश हुने स्वाभाविक छ । यी र यिनै प्रवृत्ति नै गणतन्त्रको सूचक वा उपलब्धिजस्तो देखिनु, ठान्नु नै अहिलेको गणतन्त्रप्रति प्रश्न उठ्नुको मूल कारण मान्न सकिन्छ, हो पनि । 

राजनीतिमा परिवर्तन नै समाधान 

गणतन्त्रका आधार स्तम्भहरू राजनीतिक दलहरू हुन् भने अहिलेका राजनीतिक दललाई जनताको नजरमा विश्वासिलो, भरोसायोग्य र उत्तम विकल्पका रूपमा बदल्न जरुरी छ । 

अहिलेका कांग्रेस/कम्युनिस्टहरू विशेषतः निरकुंश जहाँनिया राणाशासनमा जन्मेका पार्टी हुन् । यी दलको तत्कालीन उद्देश्य नै निरकुंशताबाट मुक्ति थियो । बलपूर्वक सङ्घर्ष नै विकल्प थियो । शताब्दी राज गरेको राणाशासन ढालेर प्रजातन्त्र ल्याउन बनेका पार्टी र त्यसको संरचनाले त्यो बेला जे जे गर्नु थियो, सायद सफलतापूर्वक गरे; आफ्नो लक्ष्य वा उद्देश्य प्राप्त गरे पनि । जब प्रजातन्त्रमा दलहरूले चुनावमा भाग लिए र सरकार बनाए । उक्त सरकार वर्ष दिन नपुग्दै फेरि देश अर्को निरकुंशतामा गयो । झन्डै तीस वर्ष राज गरेको पञ्चायतलाई ढालेर पुनः प्रजातन्त्र ल्याउन उस्तै पार्टी, उस्तै संरचना र उस्तै शैली स्वभावको नेतृत्व र कार्यकर्ता निर्माण गर्न समयको आवश्यकता थियो । तिनै पार्टी संरचना, तिनै नेता–कार्यकर्ताको नेतृत्वमा पुनः प्रजातन्त्र आयो । 

नेपालका दल र त्यसको नेतृत्वले उपयुक्त समय नै पाएन कि समृद्धिका लागि नयाँ ढङ्गको पार्टी, कार्यदिशा बनाउन । त्यही अनुकूलको नेता–कार्यकर्ता तयार पार्न । विडम्बना ठुल्ठुला आन्दोलन र सङ्घर्ष गरेर ठुल्ठुला सफलता प्राप्त गर्ने पार्टी र नेतृत्वहरू नै गणतन्त्र आएपछि आलोचित हुँदै गए । अल्छी, पुरानाजस्ता देखिए । 

पटकपटक व्यवस्था परिवर्तनमा सङ्घर्ष र सफलताको नेतृत्व गरेका कांग्रेस–एमाले र दशक सङ्घर्ष गरेर आएका माओवादी मधेसवादी दलहरू, गणतन्त्र आएको यस बिचमा बदलिन र नयाँ सोच–शैलीमा अगाडि बढ्न तयार भएनन्, हिम्मत गरेनन् । 

नयाँ संविधान आएको यो दश वर्षमा तीन तहका सरकारले आफ्नो दुई अवधि पूरा गर्न थाल्दा जनताले स्पष्ट परिणाम खोजेका छन् । जो दल र सत्तामा आसीन व्यक्तिहरूले जानीजानी यो विषयलाई अन्यत्र मोड्न खोज्दा जनता थप आक्रोशित भएको सत्य हो ।

सङ्घीयतासहितको संविधान जारीपछिको दोस्रो अवधिको सरकार चलिरहँदा  स्थानीय सरकारले संविधानले व्यवस्था गरेअनुरूप पारदर्शिता सहितको जनताको स्वास्थ्य, शिक्षा, रोजगारी, सुशासन लगायतको गाउँठाउँ सुहाउँदो विकासको मोडल लागु गरेको भए; प्रदेश सरकारले प्रदेशका जनतालाई समग्र प्रदेशको विकास गर्न नयाँ मार्ग देखाउँदै वास्तविक सरकारको अनुभूति गराएको भए र सङ्घको सरकारले त्यही स्तरको क्षमता, नैतिकता र दूरदृष्टिसहित देशलाई अगाडि बढाइरहेको अनुभूति गराएको भए पक्कै पनि सङ्घीय गणतन्त्रमा यति छिटै यो स्तरको प्रश्न किमार्थ उठ्ने थिएन । 

तसर्थ अब हामीले हाम्रा दलको निर्मम सुधार गर्दै राजनीतिलाई जनतासँग जोड्न र जनताको हितलाई सर्वोपरी ठान्दै राजनीति गर्ने परिपाटी बसाल्न जरुरी भइसकेको छ । त्यसका लागि पहिला निम्न कुरामा सुधार आवश्यक छ । 

यस व्यवस्थाका मुख्य हिमायती दल कांग्रेस, एमाले, माओवादी र मधेसवादी दलका नेतृत्व तथा कार्यकर्ताले प्रश्न आफैँलाई गरौँ र भनौँ— हामीले के त्यस्तो गरिरहेका छौँ, जसले जनतालाई चिढ्याइरहेको छ ?

सीमित दल

नेपालमा कति दल छन् भनी यकिनका साथ बताउन सायद निर्वाचन आयोगलाई पनि गाह्रो होला । असङ्ख्य कम्युनिस्ट पार्टीहरू; उति नै सङ्ख्यामा उदारवादी धाराका कांग्रेसजस्तै पुँजीवादी पार्टीहरू; सामन्ती युगका पक्षपाती दर्जनौँ राजतन्त्र पक्षधर पार्टीहरू; जाति, जनजाति र क्षेत्रीय पार्टीहरू— यी सबै नेपालका पार्टीले जनतालाई राजनीतिक शिक्षा र संस्कार दिन कम तथा दिग्भ्रमित बनाउन ज्यादा योगदान गरिरहेका छन् भन्दा अतिशयोक्ति हुँदैन । 

कुनै पनि गन्तव्यमा पुग्न असङ्ख्य बाटा भए भने यात्री अलमलमा पर्छन् । यात्रीलाई भ्रम र अन्योल हुन्छ, गन्तव्यमा पुग्न सक्दैनन्, पुगे पनि ढिलो पुग्छन् । अहिले भएका राजनीतिक दलले पनि जनतालाई अन्योलमा पारेका छन् । उस्तै नाम, उस्तै विचार, उस्तै कार्यक्रम तथा कार्यदिशा, उस्तै सङ्गठन लिएर जनतामा जाने यी असङ्ख्य पार्टीले जनतालाई सङ्गठित, मजबुत बनाउनभन्दा असङ्गठित, अराजक र कमजोर बनाउन भूमिका खेलेका छन् ।

तसर्थ सबैभन्दा पहिला राजनीतिमा सुधार र सफापन ल्याउन जरुरी छ । संवैधानिक व्यवस्था गरेर दल खोल्ने र सञ्चालन गर्ने कुरामा निश्चित मापदण्ड तयार पार्नुपर्छ । ताकि जो कसैले पार्टीको पसल खोल्ने, आफ्नो गुजारा गर्ने र समाज तथा देशलाई अराजक र असङ्गठित हुने वातावरण तयार पारेर लक्ष्यबाट विमुख गराउने माहोलको अन्त्य होस् । 

उच्च नैतिक आदर्श, विचारमा स्पष्ट र योजनामा प्रस्ट सीमित पार्टी नै देश र जनताको हितमा दृढतापूर्वक लाग्न सक्छन् ।

राजनीतिक संरचनामा सुधार

राजनीतिका विविध संरचना तथा सङ्गठनमा व्यापक सुधारको खाँचो छ । हिजोका प्रजातन्त्र र गणतन्त्र प्राप्तिमा आवश्यक त्यही अनुरूपका लडाकु संरचना अहिलेको प्रविधिको उच्च विकास सहितको वैश्य युगमा अगाडि बढ्न निश्चय नै कठिन छ । हिजो कडा, सङ्घर्षशील, जुझारु, सशक्त र आदेशमा चल्ने पार्टी, सङ्गठन र कार्यकर्ता आवश्यक थियो । हिजो राणाशासनमा बोल्न छुट थिएन; पढ्न, लेख्न र राजनीतिक गतिविध गर्न छुट थिएन; जनतामा जागरण थिएन; समाजमा असाध्यै गरिबी व्याप्त थियो । त्यो बेला साहसी योद्धाको आवश्यकता थियो । त्याग, सङ्घर्ष र बलिदानको उच्च कदर हुनुपर्थ्यो । त्यही अनुरूपको स्कुलिङ, त्यही अनुसारको पार्टीको कार्यदिशा र कार्यक्रम हुने गर्थ्यो । राणाशासन, पञ्चायत हुँदै गणतन्त्रसम्म आइपुग्दा जेलनेल खान सक्ने नेता–कार्यकर्ता आवश्यक थियो । समाजका हर तप्काका मान्छे राजनीतिक गतिविधिमा सहभागी हुनुपर्ने आह्वान आवश्यकता थियो । सरकारी कर्मचारी, शिक्षक, डाक्टर, वकिल, पत्रकार, व्यवसायी, कलाकार, लेखक सबै–सबै आन्दोलित थिए । परिवर्तनका संवाहक भएर सडकमा सङ्घर्ष गर्न तैनाथ थिए । गणतन्त्र सबैको योगदानले आएको हो तर अब यो गणतन्त्र अगाडि बढ्न सबैको भूमिका आवश्यक छ तर आ–आफ्नो ठाउँबाट योगदान दिएर मात्र, यो फरक बुझौँ बुझाऔँ । 

हिजो शिक्षक स्कुलमा कम पार्टीका गतिविधिमा ज्यादा संलग्न थिए । आज डाक्टरले उपचारमा सबै ऊर्जा समय लगाएन भने, कर्मचारीले सेवा दिनमा सम्पूर्ण समय लगाएन भने, पत्रकारले पत्रकार भएर आफ्नो पेसामा निष्ठा देखाएन भने, न्यायाधीशले न्यायमा, व्यवसायले व्यवसायमा र समाजका हर तप्काले इमानदारीपूर्वक आफ्नो पेसामा सहभागिता देखाएन भने गणतन्त्र टिक्दैन, जोगिँदैन; जनताको नजरमा पनि राम्राे हुँदैन । तसर्थ अब पार्टीका तथा राजनीतिका सबै संरचनामा समयानुकूल सुधार खाँचो छ । 

युग चेतसहितका नेता–कार्यकर्ता 

विश्व व्यवस्थामा अनेक किसिमका फेरबदल भइरहेका छन् । आज हामी प्रविधिको युगमा छौँ । प्रविधिले गर्दा आज संसार हरेकको हातमा आइपुगेको छ । प्रविधिको उच्चतम विकास, आर्थिक रूपमा आएको व्यापक फेरबदल, जनतामा भएको चेतनाको अभूतपूर्व विकासले हाम्रो देशमा ठुलो अर्थ राख्दै छ । आज देशका युवा काम खोज्दै संसारको कुनाकुनामा पुगिरहेका छन् । उनीहरू जहाँ–जहाँ जान्छन्, त्यो देशको राजनीति, सत्ता–सरकार, आर्थिक गतिविधि, भौतिक विकास, जनताको जीवनस्तर सबै सबै देख्छन्, भोग्छन् । ती कुराको तुलना आफ्नो देशसँग गर्छन् । जसले गर्दा उनीहरूमा तीव्र विकास र सम्पन्नताको भोक जाग्छ । त्यसका लागि युवाहरू तड्पिन्छन्, छटपटिन्छन् । भनेजस्तो, देखेजस्तो, भोगेजस्तो व्यवस्था आफ्नो देशमा नपाउँदा यो बेला उनीहरू चरम निराश र आक्रोशित छन् । 

तसर्थ अबको नेता यो युग बुझ्ने हुनुपर्छ  अर्थात् प्रविधि बुझेको र परिवर्तनलाई आत्मसात गर्ने  हुनुपर्छ । हरेक युगमा एउटै व्यक्ति र प्रवृत्तिले नेतृत्व गर्न सम्भव हुँदैन । सबै दलमा अहिलेको युग हाँक्ने क्षमता भएको नेता–कार्यकर्ता तयार पार्न र त्यसका लागि वातावरण बनाउन अत्यावश्यक भइसक्यो । जसले पहिला यो पहलकदमी लिन्छ, उसले राजनीतिमा जित्ने निश्चित छ । 

आत्मनिर्भर र पारदर्शी राजनीतिक सङ्घर्ष

लोकतन्त्रमा राजनीतिक दल भनेका जनताका सार्वजनिक संस्था हुन् । आत्मनिर्भर, पारदर्शी भए मात्र यी संस्थाले जनताको विश्वास जित्छन् । जनता नै सर्वोपरी हुने व्यवस्थामा जनताको विश्वास जिते गर्न धेरै सकिन्छ । 
पछिल्लो समय नेपालमा जनताको आलोचना वा आक्रोश दल र तिनका नेता–कार्यकर्तामा छ । हिजो कठिन सङ्घर्षको समय थियो, जनताले निसर्त पार्टी तथा नेतालाई विश्वास गरे । हिजो सङ्घर्ष गरेर आएका दल र नेता–कार्यकर्ता आज सत्तामा छन्, सरकारमा छन् र जनताको नजरमा सुविधाभोगी, अवसरवादी देखिएका छन् । हिजो सङ्घर्षमा देखिएका सपना र आदर्श खै भनेर जनताले सोधिरहेका छन् । 

अहिले जनताले न पार्टीलाई आत्मनिर्भर र पारदर्शी देख्छन्, न त नेता कार्यकर्तामा पारदर्शिता । जब एउटा आम नागरिकले जीवनभर दुःख गर्दा यही देशमा खान–लाउन पुग्दैन तर केही नगरी राजनीति गर्दै हिँडेका नेता–कार्यकर्तासँग अथाह सम्पत्ति छ, अथाह सुविधा छ । तब न उनीहरूको मन कुँडिएको छ र शङ्काले राज गरेको छ ।

अब हरेक पार्टीमा आत्मनिर्भर हुने प्रणालीको विकास हुनैपर्छ । नेता–कार्यकर्ता आफ्नै पौरखमा बाँचेको हुनुपर्ने र हरेक कुरामा पारदर्शिता हुनैपर्ने अहिलेका जनताको माग हो । 

स्वतन्त्र नागरिक 

कहिलेकाहीँ लाग्छ, जुन देशमा पार्टीको नेता तथा कार्यकर्ता बन्न सजिलो छ तर स्वतन्त्र नागरिक भएर बाँच्न गाह्रो छ, त्यस्तो देशको हालत कस्तो हुन्छ ? ठिक हाम्रोजस्तो । आज समाजका विकृति, विसङ्गतिको ढल निकासका रूपमा राजनीतिक पार्टी देखापरेका छैनन्; समाजका अल्छी, असफल, अराजक र अपराधीको छहारी बनेका छन् पार्टीहरू । तसर्थ अब पार्टीको सदस्यभन्दा स्वतन्त्र नागरिक हुन जरुरी देखिन्छ । राज्य संयन्त्रका सबै संरचना पार्टी सदस्यले कब्जा गर्ने स्थिति छ । अनि कसरी हुन्छ, जनताको साँचो खबरदारी ?

सरकारी कर्मचारी पनि कुनै न पार्टी निकट; वकिल तथा न्यायाधीश पनि कुनै न कुनै पार्टी निकट; उद्योगी तथा व्यवसायी पनि कुनै न कुनै पार्टी निकट; डाक्टर, लेखक, बुद्धिजीवी, मजदुर, किसान, युवा, महिला, दलित, जनजाति सबै कुनै न कुनै पार्टी निकट भएपछि स्वतन्त्र नागरिक हुने को ? तसर्थ अब गुणदोषका आधारमा, नीति योजनाका आधारमा, आदर्श र नैतिकताका आधारमा पार्टी र नेतृत्व चुन्ने परिपाटी बसाउन स्वतन्त्र नागरिक चाहिन्छ । त्यसका लागि सर्वप्रथम हरेकलाई व्यवहारतः स्वतन्त्रताको हक दिलाउनुपर्छ । अधिक स्वतन्त्र नागरिकले चुन्ने उत्तम व्यवस्था नै गणतन्त्र हो भन्ने कुराको पुष्टि गर्नुपर्छ । 

अन्त्यमा, जनताको निराशा र आक्रोश, शासनशैलीको अपूर्णता, असक्षमता र पश्चगामी शक्तिहरूको उत्साहले यति छिटै सङ्घीय गणतन्त्र चढेको रेलगाडीमा रातो बत्ती बल्दै छ । त्यो बत्ती ज्वाला बन्न कतिबेर लाग्नेछैन । 
तसर्थ जनताको निराशा र आक्रोश जायज छ । अहिलेसम्म शासनसत्तामा पुग्ने हामी सबैका थुप्रै कमी–कमजोरी छन् भन्ने स्विकार्दै सबै पार्टी र तिनका नेतृत्व तथा कार्यकर्ताले आफूले त्याग गरेर र बदलिएर अरुलाई शिक्षा दिने संस्कार सिके अवश्य पनि गणतन्त्र गर्बिलो बन्नेछ र नेपाली जनताको समृद्धिको यात्रामा हरियो बत्ती बल्नेछ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेशमान सिंह
गणेशमान सिंह
लेखकबाट थप