बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अर्थतन्त्र

‘नेताहरुको अहमताले यस्तो परिस्थिति आयो, देशको कायापलट गर्ने यो अन्तिम अवसर’

बिहीबार, ०९ असोज २०८२, १७ : ००
बिहीबार, ०९ असोज २०८२

हाम्रो मुलुकले राजनीतिक परिवर्तनका अनेकन घुम्तीहरू पार गर्‍यो । माओवादी जनयुद्धदेखि जनआन्दोलन, मधेस आन्दोलन हुँदै नयाँ संविधानसम्मको यात्रामा नेपाली जनताले ठुलो मूल्य चुकाएका छन् । 

माओवादी जनयुद्धको बेला करिब १४–१५ हजार नेपाली जनताले ज्यान गुमाए । नयाँ संविधानको घोषणापछि मुलुक आर्थिक विकासमा अगाडि बढ्छ भन्ने एउटा ठूलो आशा थियो । तर दुर्भाग्यवश, मुलुक आर्थिक विकासमा अगाडि बढ्नुको सट्टा दिनप्रतिदिन झन् खस्कँदै गएको अवस्था छ । यो निराशाको मूल जड भनेकै राजनीतिक दल र नेतृत्वको गलत कार्यशैली र अकर्मण्यता हो ।

इमान्दार उद्योगी, इमान्दार व्यापारी, इमान्दार कर्मचारी र इमान्दार नेता आवश्यक छ । हुन त सबै नेता खराब छैनन्, तर आम व्यवसायी र आम जनता यी कोही पनि मुलुकमा खुसी छैनन् । इमान्दारीपूर्वक काम गर्ने मान्छेहरू आज सबैभन्दा बढी प्रताडित छन् । 

यसको विपरीत जो भ्रष्टाचारी छन्, जो फटाहा व्यापारी छन्, जो तस्करीमा लागेका छन्,जसले सिन्डिकेट चलाउँछन्, ती उद्योगी, व्यापारी, कर्मचारी र नेताहरू आफ्नो प्रलोभनमा परेर भ्रष्ट काममा लिप्त छन् । यसको सिधा नतिजा आम जनताले दिनप्रतिदिन निराशा खेप्नुपरेको छ ।

यो निराशाको परिणाम केही न केही ठुलो गल्ती राजनीतिक पार्टीहरूले गरे । हालैको जेनजी आन्दोलन त्यसैको नतिजा थियो । सरकारी संरचनाहरू ध्वस्त हुनुहुँदैनथ्यो, त्यो आफ्नो ठाउँमा छ, तर गल्ती त नेताहरुले गरेकै हुन् । उनीहरुकै गल्तीको कारण आज हामीले यो पीडा भोगिरहेका छौँ ।

हाम्रा राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्न कहिल्यै आवश्यक ठानेनन् । मैले जे सोचेको छु, त्यही ठीक छ । मैले जे बोलेको छु, त्यही ठीक छ । मैले जे गरेको छु, त्यही मात्रै ठीक छ भन्ने अहम् पालिरहे, आफूभन्दा फरक विचार राख्ने वा विरोध गर्नेलाई सिध्याउनतिर लागे । यसको नतिजा हालैको आन्दोलन हो, जहाँ ७३ जनाले ज्यान गुमाउनुपर्‍यो ।

पुराना पार्टीहरु आफ्नो गल्ती स्वीकार गर्नै तयार छैनन् । यदि अहिले पनि गल्ती सुधारेर अगाडि बढ्यो भने मुलुक केही सुधार होला । यो भन्दा अझ मुलुकमा बिगार्न केही पनि बाँकी छैन । यो उनीहरुलाई अन्तिम अन्तिम मौका हो ।

नेपालमा सधैँ ‘पावर डिसब्यालेन्स’ कायम रह्यो । राजनीतिक पार्टीहरूले राजालाई फाले, तर त्यसपछिको काममा चुके । कामै नभएको होइन, तर जनतालाई चित्त बुझाउने गरी काम गर्न नसकेकै हुन् । 

एउटालाई फालेर म अब सत्ता चलाउँछु देश चलाउँछु भन्ने प्रवृत्तिले मुलुकले यत्रो जनताको ज्यान गुमाउनुपर्‍यो र यो क्रम अझै रोकिएको छैन । आगामी दिनमा पनि यस्ता आन्दोलन, यस्तो ज्यान गुमाउनुपर्ने अवस्था आउनु हुँदैन ।

वर्तमान अवस्थामा राजनीतिक दलहरूले ’यो पूरै पोलिटिकल सिस्टमलाई नै फालेर नयाँ रिभोलुसन गर्दिन्छौँ’ भन्ने पनि सजिलो छैन । तर अहिलेको जेनजी आन्दोलनपछि राजनीतिक पार्टीहरूले ‘हामीबाट गल्ती भएको छ । अबका दिनमा हामी जनताको भावना बुझेर गल्तीलाई सुधारेर अगाडि बढ्छौँ’ भन्ने लाइनमा आउनुपर्थ्यो । धेरै वर्ष सत्तामा बसेर कामै नलाग्ने भएका आउटडेटेड मान्छेहरूले विश्राम लिएर आफ्नै पार्टीका युवा नेताहरूलाई अगाडि सार्छौँ भन्ने प्रतिबद्धता जनाउनुपर्थ्यो । 

तर अहिले पनि जेनजी आन्दोलन सकिएपछि पनि कुनै पनि पार्टीबाट, कुनै पनि नेताबाट हामीबाट केही भूल भएको छ भनेर स्वीकार गरिएको छैन । यो उहाँहरूको अर्को एरोगेन्सी र इगो हो । यसले हामीले जे गर्‍यौँ, त्यो ठीक छ भन्ने सोचलाई नै उजागर गर्छ ।

मुलुकको जुन आर्थिक अवस्था छ, जुन तरिकाबाट एक ठुलो जनशक्ति विदेश पलायन भइरहेको छ । कसैले पनि नेपालमा भविष्य देख्न छोडेका छन् । अब यो कसले सुधार्ने ? अहिलेको सरकार त अन्तरिम सरकार हो, यसको जिम्मेवारी निर्वाचन गराउने मात्रै हो । आगामी आम निर्वाचनमा भने ठुलो परिवर्तन आउने आशा छ । अब चाहिँ मान्छेहरू इमान्दार भएर जनताप्रति काम गर्नुपर्छ ।

यदि अहिले पनि राजनीतिक पार्टीहरू सच्चिएर अगाडि आउन इच्छुक छैनन् भने झन् नयाँ शक्तिहरू उत्पन्न भएर, नयाँ युवा मान्छेहरू अगाडि आएर देशभरिबाट युवापुस्ताका मान्छेहरू चुनावमा उठ्दियो भने एकदमै ‘डाइनामिक’ काम हुन्छ । 

पुराना पार्टीहरु आफ्नो गल्ती स्वीकार गर्नै तयार छैनन् । यदि अहिले पनि गल्ती सुधारेर अगाडि बढ्यो भने मुलुक केही सुधार होला । यो भन्दा अझ मुलुकमा बिगार्न केही पनि बाँकी छैन । यो उनीहरुलाई अन्तिम अन्तिम मौका हो ।

मुलुकको अर्थतन्त्रको क्रान्ति र अबको बाटो

जेनजी आन्दोलनको रेभोलुसनले मुलुकको अर्थतन्त्रमा कस्तो क्रान्ति ल्याउँछ भन्ने प्रश्न महत्त्वपूर्ण छ । हाम्रो मुलुकमा इमान्दार नागरिक छन् । यस्ता नागरिकलाई माया गर्ने अभिभावक चाहियो, तानाशाह अभिभावक चाहिएको होइन । 

हामीले डेढ करोड पर्यटक भित्र्याउन सक्यौँ भने हाम्रो देशको अर्थतन्त्र रातारात कायापलट हुन्छ । हामीले ठूलो मात्रामा जलविद्युत उत्पादन गरेर निर्यात गर्न सक्छौँ । आम जनतालाई विद्युतमा सहुलियत दिनुपर्छ । आज जुन हामी ग्यास चुलो बाल्दैछौँ, त्यसको ठाउँमा एक रुपैयाँ प्रतियुनिटमा गार्हस्थ विद्युत दिने हो भने कसैले पनि ग्यास बाल्नुपर्दैन । 

आईटी क्षेत्रमा युवाहरूलाई लगाउनुपर्छ । कलेज, स्कुलहरूमा पढाउने मात्र होइन, १२ कक्षापछि हाम्रा विद्यार्थीहरूलाई कसरी आत्मनिर्भर बनाउने ? पढ्नु भनेको सफलता होइन, पढिसकेपछि तिम्रो अगाडिको जीवन के हो ? आर्थिक रुपमा आत्मनिर्भर कसरी हुन्छौ भन्ने कुरा सिकाउन हामी चुकेका छौँ । 

१२ कक्षा पास गर्‍यो, १० हजारको पनि जागिर पाउँदैन । यस्तो छ अहिलेको समस्या । समस्या कहाँ छ त्यो पहिला खोज्नुपर्छ, अनि मात्र समाधान गर्न सकिन्छ । समस्या नै पहिचान नगरी, अरूको भावना नै नबुझी, जे पायो त्यही नीति बनाउँदाको परिणाम अहिले मुलुकले भोगिरहेको छ । सडक र नाला बनाउनु मात्रै विकास होइन नि । 

हिजोको विगतलाई अब भन्दा पनि अब यो खालको निराशा निजी क्षेत्रमा थियो, व्यवसायमा थियो, विद्यार्थीमा थियो, युवामा थियो, सबैमा एउटा फ्रस्ट्रेसन थियो, त्यो निस्कियो । यो निस्किँदै गर्दा विध्वंस त भयो, सरकारी संरचना पनि ध्वस्त भए । पाँच प्रतिशत जीडीपीको क्षति बेहोर्नुपर्‍यो । 

हामी उद्योगी व्यापारीले देशको अवस्था हेरेर, हाम्रो वित्तीय अवस्था हेरेर सरकारबाट अपेक्षा गर्ने बेला होइन । अहिले हामीले देशलाई के योगदान दिन सक्छौँ भन्ने सोच्ने बेला हो । पुनर्निर्माणमा सिमेन्ट जस्ता आवश्यक सामग्रीहरू सहुलियत दरमा कसरी उपलब्ध गराउने भन्ने वातावरण बनाउनुपर्छ । 

उत्पादन र रोजगारी उत्पादनमा युवा 

हामीले देशलाई यो संकटको बेलामा सेवा गर्ने बेला हो । हामीले सरकारबाट चाहने भनेको राम्रो नीति मात्रै हो । नीतिले कसैलाई काख कसैलाई पाखा नहोस् । हामीले त्यति मात्रै चाहनुपर्छ । 

आज जेनजी पुस्ताले जुन फ्रस्ट्रेसनबाट यो काम गरेका छन्, त्यो मामुली कुरा होइन । आफ्नो ज्यान गुमाएको छ । त्यो फ्रस्ट्रेसन निकाल्नुको कारण के थियो त ? त्यसको मूल कारण खोजेर त्यसमा हरेक क्षेत्रको जे गल्ती छ, तिनले आफूलाई सुधारेर अगाडि बढ्नुपर्ने हुन्छ । 

सरकारले कुन राम्रो नीतिबाट युवापुस्ता वा आम मान्छे सन्तुष्ट हुन्छन् भन्ने कुरामा ध्यान दिनुपर्छ । पुराना अनुभवी मान्छेहरूलाई सल्लाहकारको रूपमा राखेर युवापुस्तालाई अगाडि बढाउनुपर्छ अब । 

अब निजी क्षेत्र र सरकारी क्षेत्रमा युवा अर्थात् जेनजी पुस्ताहरु सबै मिलेर उत्पादनमूलक वा रोजगारी सिर्जनामा लाग्नुपर्छ । हामी दिनभरि फेसबुक चलाएर, मिडियाबाजी गरेर मात्रै भएन । अब त मान्छेहरूले आफ्नो करिअर विकासको काममा केन्द्रित हुनुपर्छ । व्यक्ति, समाव र राज्यको विकासमा लाग्नुपर्छ । 

हामीले परिवर्तनका लागि आन्दोलन गर्‍यौँ, त्यसक्रममा देशका महत्वपूर्ण संरचना ध्वस्त बनायौँ पनि । अब त सबै मिलेर अगाडिको यात्रा निस्कनुपर्‍यो नि । 

(उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सरुनासँग रातोपाटीकर्मी अनिष मिजारले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप