जेनजी आन्दोलन : बागमतीमा ९० करोडको क्षति, पुनर्निर्माणमा ७१ करोड लाग्ने
सारांश
- बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनामा आगजनी तथा तोडफोड हुँदा ९० करोडभन्दा बढीको क्षति भएको छ।
- हेटौंडास्थित प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, जसमा ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ।
- आन्दोलनका कारण प्रदेशका काठमाडौं, चितवन, भक्तपुर, मकवानपुर र ललितपुर जिल्लामा सरकारी कार्यालयमा क्षति पुगेको छ।
मकवानपुर । भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडबाट बागमती प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचना पनि क्षतिग्रस्त भए । खासगरी ५ जिल्लामा रहेका सरकारी संरचनामा ठुलो क्षति पुग्यो ।
प्रदेश सरकार अन्तर्गतका विभिन्न सरकारी संरचनामा आगजनी तथा तोडफोडका कारण ९० करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । आन्दोलनका कारण प्रदेशको राजधानी हेटौंडामा रहेको प्रदेश सभा भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ, जसमा ३० देखि ३५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ ।
भर्खरै उद्घाटन गरिएको नयाँ भवनसहित प्रदेश सभाका ५ वटा भवन, सवारीसाधन र महत्त्वपूर्ण कागजात आगजनीमा नष्ट भएका छन् । प्रदेश सभा बैठक कक्ष, अभिलेख कोठा र अन्य संरचना ध्वस्त भएका छन् । यो क्षतिसँगै प्रदेश सभा बैठक सञ्चालन गर्ने स्थानको समेत अभाव भएको छ ।
त्यस्तै, बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र अन्तर्गतका कार्यालयहरूमा साढे ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ । मन्त्रालयका अधिकांश कोठा र कागजात जलेर नष्ट भएका छन् । मन्त्रालय अन्तर्गतका ४० वटा सवारी साधनमा पनि आगजनी गरिएको छ ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङका अनुसार प्रदेशका काठमाडौँ, चितवन, भक्तपुर, मकवानपुर र ललितपुर जिल्लामा गरी कुल ६० वटा भवनमा क्षति पुगेको छ । तीमध्ये २६ वटा सरकारी कार्यालयमा बढी क्षति भएको उनले बताए ।
सबैभन्दा बढी क्षति मकवानपुर जिल्लामा भएको छ । मकवानपुरमा १७ वटा कार्यालयका ४० वटा भवन गरी ३९ करोड ९३ लाख ७२ हजार रुपैयाँ बराबरको नोक्सान भएको छ । चितवनमा २ करोड ८४ लाख, ललितपुरमा १ करोड ९१ लाख, काठमाडौँमा १ करोड ५८ लाख र भक्तपुरमा १ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
क्षतिको प्रारम्भिक आँकडा अनुसार भवनतर्फमात्रै ९० करोड १९ हजार रुपैयाँको नोक्सानी भएको मन्त्री तामाङले बताए । उनका अनुसार १९५ वटा सवारीसाधन (दुई र चार पाङ्ग्रेगरी) र अन्य जिन्सी सामानमा भएको क्षति ४२ करोड ७ लाख रुपैयाँ बराबर रहेको अनुमान गरिएको छ । उक्त अनुमान ह्रासकट्टीपछिको मूल्य रहेको उनको भनाइ छ ।
‘प्रदेशमा कुल भौतिक संरचनामा क्षति ४७ करोड ९३ लाख ५४ हजार रुपैयाँको देखिएको छ, जसमा ६० भवन संरचना छन् । सोमध्ये २६ वटामा पूर्ण क्षति पुगेको छ,’ मन्त्री तामाङले भने, ‘सवारी साधनमा पनि धेरै क्षति भएको छ । सवारी साधनतर्फ २१ करोड ६७ लाख ५५ हजार रुपैयाँ र जिन्सीतर्फ २० करोड ४० लाख ८१ हजार रुपैयाँको क्षति भएको अनुमान छ ।’
मन्त्री तामाङले जेनजी आन्दोलनका क्रममा प्रदेश सरकार मातहतका संरचनाको क्षतिग्रस्त भवनहरूको पुनर्निर्माणका लागिमात्रै ७१ करोड ४१ लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । यथाशीघ्र पुनर्निर्माण गर्ने गरी सरकारले टिम खटाएर काम गरिरहेको उनले बताए ।
निजी सम्पत्तिमा रहेका कार्यालयको क्षति विवरण सङ्कलन गरिँदै
सरकारले निजी घर भाडामा लिएर सञ्चालित यातायात क्षेत्रका ४ वटा कार्यालयमा पनि क्षति पुगेको मन्त्री तामाङले बताए । काठमाडौँको चाबहिल र भक्तपुरको राधेराधे तथा चितवन र मकवानपुरमा रहेका यातायात कार्यालय राखिएको निजी सम्पत्तिमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको उनले बताए ।
मन्त्री तामाङका अनुसार, ती भवनको क्षतिको मूल्याङ्कनका लागि प्राविधिक टोली पठाइएको छ । प्रदेशको संरचनामा बसेर व्यक्तिको सम्पत्तिमा क्षति पुगेको अवस्थामा के गर्ने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय भइनसकेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह
-
इरान र कतारबिच अमेरिका–तेहरान वार्ता मध्यस्थताबारे छलफल
-
माडीमा प्लाष्टिकजन्य सामग्री बिक्रीमा रोक
-
सामाजिक सञ्जालमा सुनचाँदी र नगदको ‘रिल्स’ बनाउनु पर्यो महँगो, चोरले घरमै पुगेर लुटे लाखौँको सम्पत्ति
-
चलचित्र ‘लालीबजार’को अहिलेसम्मको आम्दानी कति ?
-
पाकिस्तानको उत्तर–पश्चिम क्षेत्रमा सैन्य कारबाही तीव्र, २७ जना मारिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण