लुम्बिनी प्रदेशमा चाडपर्वमा झन्डै ८ हजार प्रहरी खटिने, के–के छन् सुरक्षा चुनौती ?
बुटवल । लुम्बिनी प्रदेशमा दसैँ, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना तयार गरिएको छ ।
प्रदेश प्रहरी कार्यालय लुम्बिनीले ‘एकीकृत चाडपर्व सुरक्षा कार्ययोजना २०८२’ लागु गरेको हो । विगतमा चाडपर्वका बेला धेरै चोरी तथा अपराधका घटना हुने भएकाले दसैँ, तिहार र छठ पर्वसम्मका लागि सुरक्षा कार्ययोजना लागु गरिएको लुम्बिनी प्रदेशका डीआईजी राजेन्द्र प्रसाद भट्टले बताए ।
चाडबाडको अवसरमा हुन सक्ने अवाञ्छित तथा आपराधिक गतिविधिहरूलाई नियन्त्रण एवम् सडक सुशासन कायम गर्न उक्त योजना लागु गरिएको खुलाउँदै उनले केही ठाउँमा सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायसँग समन्वय गरी काम अगाडि बढाइएको बताए ।
चाडपर्वका समयमा हुन सक्ने कुनै पनि आपराधिक गतिविधि तथा अवाञ्छित क्रियाकलापलाई रोकेर आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउँदै समग्र लुम्बिनी प्रदेशमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउने लक्ष्य अनुरूप काम भइरहेको उनको भनाइ छ ।
विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रदेशभर चाडपर्वका लागि ७ हजार ९ सय ७३ जना प्रहरी परिचालन गरिएको छ ।
जसमा मोबाइल गस्ती ८३, मोटरसाइकल गस्ती २६५, यस्तै क्यूआरटी (द्रुत प्रतिकार्य टोली) १०५ परिचालन र खास गरी पहाडी जिल्लामा १६० वटा पैदल गस्ती सञ्चालन गरिएको उनले रातोपाटीलाई खुलाए । यस्तै प्रहरीले सुरक्षालाई मजबुत बनाउनका लागि नियमितबाहेक चेकिङलाई सशक्त पारेको छ ।
चाडपर्वको बेलामा प्रहरीले ५८ ठाउँमा हेल्प डेस्क पनि सञ्चालनमा ल्याएको छ । उक्त हेल्प डेस्कका लागि १६७ जना प्रहरी खटाएको छ । हेल्प डेस्कमा जनपथ, ट्राफिक, सशस्त्र र विभिन्न यातायात समितिका कर्मचारीहरू रहन्छन् ।
यस प्रदेशमा भारतसँग सीमा जोडिएका ११ वटा सीमा नाकामा पनि हेल्प डेस्क स्थापना गरिएको छ । खासगरी भारतबाट आउने यात्रुहरूको विगतमा लुटपाट हुने गरेकाले ती सीमा नाकाहरूमा उक्त हेल्प डेस्क स्थापना गरिएको डीआईजी भट्टले बताए ।
यहाँ भारतीय सीमा नाकाहरू महेशपुर, सुनौली, मर्यादापुर, कृष्णनगर, कोइलाबास, जमुनालगायत रहेका छन् । ती नाकामा भारतबाट आउँदा टिकट काउन्टर देखाउनेदेखि, कतै कोही लुटिएको भए तत्काल अपराधीको खोजी गर्ने, यदि यात्रुहरूलाई समस्या परे सम्बन्धित ठाउँ पुर्याउन सहजीकरण गर्ने लगायतका काम हुनेछन् ।
चुनौती के के छन् ?
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये अहिले सबैभन्दा संवेदनशील जिल्ला बाँके हो । त्यसपछि कपिलवस्तु र रुपन्देही आउँछन् । तराईका जिल्लाहरूमा खास गरी दुर्गा पूजाको मूर्ति विसर्जन गर्दा विगतमा साम्प्रदायिक अपराधका घटना भएका छन् । ती घटनाहरू हुन नदिन प्रहरी अहिले सचेत रहँदै धार्मिक क्षेत्रहरूमा सद्भाव कायम राख्न सरोकारवालाहरूसँग भेटघाट गर्ने, सचेतना जगाउने लगायतका काम गरिएको छ ।
यस्तै प्रहरीले सादा पोसाकमा पनि खटाउने काम भइरहेको डीआईजी राजेन्द्र प्रसाद भट्टले रातोपाटीलाई बताए । उनले भने, 'तराईका जिल्लाहरू प्रायः धेरै नै संवेदनशील हुन्छन् । त्यसमाथि यो बेला साम्प्रदायिक घटना हुनसक्ने भएकाले हामी चनाखो छौँ ।'
प्रहरीलाई अहिले अर्को चुनौती जेल आन्दोलनका क्रममा भागेका बन्दी र कैदीहरूबाट छ । यस्तै सुरक्षाकर्मीबाट लुटिएका हतियारबाट पनि समाजमा थप सुरक्षा चुनौती वृद्धि भएको प्रहरीको आकलन छ ।
प्रहरीले विगतका चाडपर्वभन्दा अहिले थप चनाखो भएर काम गर्नुपर्ने डीआईजी भट्टले बताए । लुम्बिनी प्रदेशका तराईका जिल्लाहरूमा खास गरी चाडपर्वको बेला सहरका मानिसहरू पहाडतिर जाने हुँदा घरसमेत खाली भएको बेला धेरै चोरी हुनसक्ने भएकाले सतर्क रहनुपर्ने छ ।
यस्तै चाडपर्वमा मदिरा सेवन गरेर झैँझगडा पनि उस्तै हुने सम्भावना रहेकाले धेरै प्रहरी परिचालन गर्नुपरेको हो । पहाडी जिल्लाहरूमा समूहमा भेला भई मदिरा सेवन गरेर झैँझगडा विगतमा धेरै हुने गरेकाले अहिले अन्य प्रहरीको गस्तीका साथै पैदल गस्ती समेत वृद्धि गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण