शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

जलेका घरहरुजस्तै हाम्रो पार्टी पनि मर्मत नहुने ठाउँमा पुग्यो, विघटन गरौँ : राम कार्की

शुक्रबार, १० असोज २०८२, १२ : ५८
शुक्रबार, १० असोज २०८२

सारांश

  • माओवादी सचिव राम कार्कीले पार्टी विघटन गरी पुनर्निर्माण गर्नुपर्ने धारणा राखेका छन्।
  • उनले पार्टी र जनताबीचको दूरी बढ्नु अहिलेको विस्फोटको मूल कारण भएको बताए।
  • कार्कीले जनयुद्धपछिको नेतृत्वको आलोचना गर्दै नयाँ वैचारिक बहसको आवश्यकता औंल्याए।

काठमाडौं । नेकपा (माओवादी) का सचिव राम कार्कीले पार्टी जलेका घरजस्तै मर्मत नहुने अवस्थामा पुगेको भन्दै विघटन गरी पुनर्निर्माण गर्नुपर्ने धारणा राखेका छन्।

केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो विचार राख्दै उनले भने, 'अब यी पुराना पार्टीहरूले थेग्न सक्दैनन्, अगाडि बढ्न सक्दैनन्। प्रदेश अध्यक्षहरूको संयोजन समिति बनाएर पार्टीलाई विघटन गरौँ र नयाँ सिरेबाट नयाँ पार्टी निर्माण गरौँ।'

उनले पार्टी र जनताबीच बढ्दै गएको दूरी अहिलेको विस्फोटको मूल कारण भएको बताए । 'हाम्रा पार्टीहरूले प्रतिनिधित्व गर्ने दाबी गर्ने वर्ग र वास्तवमा त्यो वर्गबीच ठूलो फल्ट लाइन बनेको छ। त्यही असन्तोषको इन्धनले अहिलेको विस्फोट निम्त्याएको हो,' उनले भने ।

कार्कीले माओवादी नेतृत्वले जनयुद्धपछिको १५–२० वर्ष उदारवादी, नोकरशाही पुँजीवादी व्यवस्थाभित्रै वेलफेयर स्टेट र समाजवादको सपना देखाएर समय गुमाएको आरोप लगाए। उनले भने, 'यो सिस्टम भित्र समाजवाद बन्दैन, वेलफेयर स्टेट पनि बन्दैन। तर नेतृत्वले नयाँ बाटो लिन सकेन, पुरानो अर्डरमै रमायो।'

उनले अहिलेको पार्टीलाई ‘मर्मत असम्भव’ भन्दै नयाँ वैचारिक बहस आवश्यक रहेको बताए। 'अब फेरि एक पटक लेनिनसँगै बाग्दानोभ, प्यानेकोक, रोजा लक्जेम्बर्ग, ग्राम्सीलाई ल्याएर बहस गरौँ। हाम्रा विगत २० वर्षको अनुभवको समीक्षा गरेर नयाँ बाटो अख्तियार गर्नुपर्छ,' उनले भने।

कार्कीले जनसेना फेरि बनाउन नसकिने स्वीकार गर्दै वैचारिक र सांस्कृतिक सेना खडा गर्नुपर्ने सुझाए। 'हामीले शिक्षा व्यवस्थालाई छुन सकेनौं, त्यो हाम्रो गल्ती हो। तर अझै वैचारिक र सांस्कृतिक वर्चस्व निर्माण गर्न सकिन्छ,' उनले भने ।

पार्टीभित्र यथास्थितिवाद हावी भएको टिप्पणी गर्दै उनले भने, 'नेतृत्वले पुरानै प्रणालीलाई आफ्नो बनाउने, संरक्षक बन्ने काम गर्यो। यसले जनयुद्धको वास्तविक उद्देश्य ओझेलमा पारेको छ।'
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप