जापानिज इन्सेफलाइटिस उच्च जोखिम : मृत्युदर र स्थायी अपाङ्गताको चिन्ता
सारांश
- तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेइ) तीव्र रूपमा फैलिएको छ, जसमा १५१ जना सङ्क्रमित हुँदा २९ जनाको ज्यान गएको छ।
- जेइ रोग लुम्बिनी, मधेस, कोशी, गण्डकी र बागमती प्रदेशमा बढी प्रभावित भएको छ भने यो रोग ४१ जिल्लामा फैलिसकेको छ।
- जेइ रोग क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने र यसले स्वास्थ्यमा गम्भीर असर पार्ने चिकित्सकको भनाइ छ।
काठमाडौँ । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेइ) तीव्र रूपमा फैलिएको छ । जेइबाट ०८२ वैशाख यता १५१ जना सङ्क्रमित हुँदा २९ जनाको ज्यान गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डाक्टर अभियान गौतमले नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण र मृत्युदर दुवै बढ्दै गएको बताए । अघिल्ला वर्षको तुलनामा यस वर्ष जेइ सङ्क्रमितको मृत्युदर बढेको पाइएको छ ।
मृत्यु भएका २९ जनामध्ये १५ जना पुरुष र १४ जना महिला छन् । तीमध्ये ७६ प्रतिशत ४० वर्षभन्दा माथिका छन् । जेइबाट २ महिनादेखि ८९ वर्ष उमेर समूहका व्यक्ति सङ्क्रमित भएका छन्, जसमध्ये ८२ जना पुरुष र ६९ जना महिला छन् ।
अघिल्लो वर्ष ८० जना सङ्क्रमित हुँदा २५ जनाको ज्यान गएको थियो । यस वर्ष जेइ पूर्वी नेपालबाट फैलिएर बिस्तारै पश्चिमी भागसम्म पुगेको छ । पुष्टि भएका २५ प्रतिशत केस २२ वटा पहाडी जिल्लामा पाइएको छ ।
यस वर्ष लुम्बिनी, मधेस, कोशी, गण्डकी र बागमती प्रदेश बढी प्रभावित भएका छन् । पछिल्लो आँकडाअनुसार जेइ ४१ जिल्लामा फैलिसकेको छ, जस अनुसार लुम्बिनीमा ५१, गण्डकीमा २६, बागमतीमा २२, कोशीमा १८, मधेसमा १५,सुदूरपञ्चिममा १४ र कर्णालीमा ५ जनामा सङ्क्रमण देखिएको छ ।
जापानी इन्सेफलाइटिसका केसहरू धानखेत र सुँगुर पाल्ने फार्म नजिकका क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूमा पाइएको शाखा प्रमुख डा. गौतमले सुनाए । ५१ प्रतिशत जेइको सङ्क्रमण मुख्य कृषि पेसा बनाएकामा रहेको पाइएको छ । यस्तै, तीन दिन यता ५ वटा नयाँ सङ्क्रमित फेला परेका छन्, जसमा काभ्रे, गोर्खा, दाङ, रोल्पा र कैलालीका एक–एक जना छन् ।
मृत्यु र स्थायी अपाङ्गताको जोखिम
जेइको सङ्क्रमण भएमा यसको चिन्ताजनक पक्ष भनेको स्वास्थ्यमा गम्भीरता ल्याउने रहेको डा.गौतमले बताए ।
‘सङ्क्रमित भएकामध्ये लगभग २५० जनामा एक जनालाई मात्रै गम्भीर लक्षण देखिए पनि एक पटक स्वास्थ्यमा जटिलता देखिएमा अवस्था भयावह हुन सक्छ,’ उनले भने ।
डा. गौतमका अनुसार गम्भीर बिरामीमध्ये एक तिहाइको मृत्यु हुने र जीवित रहनेमध्ये एक जनाको शरीरका अङ्ग नचल्ने, स्वाद थाहा नपाउने, मुख बाङ्गिनेजस्ता स्थायी अपाङ्गताहरू हुन सक्ने सम्भावना हुन्छ ।
जापानिज इन्सेफलाइटिस व्यक्तिबाट व्यक्तिमा नसर्ने उनले बताए । बरु ‘क्युलेक्स’ प्रजातिको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । यी लामखुट्टे घाम उदाउँदा र अस्ताउँदा तथा राति बढी सक्रिय हुन्छन् । यो रोग मुख्यतया धान खेती हुने क्षेत्रमा बढी देखिने उनले बताए । धान खेतमा पानी जम्ने हुनाले लामखुट्टेको प्रजननका निम्ति उपयुक्त वातावरण हुन्छ । यस्तै सुँगुर र हाँस पालेका क्षेत्रमा यो रोगको जोखिम अझ बढ्छ, किनकि सुँगुर र हाँसले भाइरसलाई ‘एम्प्लिफाइङ होस्ट’ को रूपमा काम गर्ने उनले बताए ।
‘एउटा लामखुट्टेले सुँगुरलाई टोकेपछि सुँगुरमा भाइरस हजारौँ गुणाले वृद्धि भई अन्य लामखुट्टेलाई सङ्क्रमित गर्न सक्छ, जसले गर्दा सङ्क्रमण चक्र तीव्र हुन्छ र मानिसमा सर्ने सम्भावना बढ्छ,’ उनले भने ।
तराईबाट पहाडमा उक्लियो जेइ
सुरुवाती समयमा तराईमा देखिएको यो सङ्क्रमण पहाडी जिल्लामा समेत देखिएको छ । पछिल्लो समयमा सातै प्रदेशमा यसको सङ्क्रमण फेला परेको छ ।
जेइको सङ्क्रमण मौसमी हुन्छ । असार महिनादेखि असोज–कात्तिकसम्म यो सङ्क्रमण देखिने र भदौ–असोजमा उच्च बिन्दुमा पुग्ने डा. गौतमले बताए । यस वर्ष झापाबाट सुरु भएको सङ्क्रमण बिस्तारै पश्चिमतिर चितवन, नवलपरासी, लुम्बिनी हुँदै कैलाली, कञ्चनपुरसम्म फैलिएको उनको भनाइ छ ।
हालसम्म ४१ वटा जिल्ला र १०४ वटा स्थानीय तहमा यो रोग देखिएको छ, जसमा केही पहाडी जिल्ला स्याङ्जा, गोरखा समेत छन् । यद्यपि मुख्यतया तराई क्षेत्र बढी प्रभावित छ ।
नेपालमा जापानिज इन्सेफलाइटिसको सङ्क्रमण पुरोना भए पनि आधिकारिक निगरानी गर्न थालिएको केही दशक भएको छ । सन् २००६ देखि जोखिम क्षेत्रका १ वर्षमाथिका बालबालिकालाई खोप दिन सुरु गरिएको हो । २०१५ देखि यसको खोप नियमित खोपको सूचीमा राखिएको हो ।
जेइ हुँदा के हुन्छ ?
डा. गौतमका अनुसार जापानिज इन्सेफलाइटिस मस्तिष्कको एक प्रकारको भाइरल सङ्क्रमण हो, जसले मस्तिष्कमा सुजन गराउँछ । यसका प्रारम्भिक लक्षणहरूमा उच्च ज्वरो र असाध्यै टाउको दुख्ने पर्दछन् । सङ्क्रमण बढ्दै जाँदा बिरामीको चेत अवस्थामा परिवर्तन आउने, भ्रममा पर्ने, आफू कहाँ छु वा के गर्दैछु भन्ने थाहा नहुने र बिस्तारै बेहोस भई कोमामा समेत पुग्न सक्ने जटिल अवस्था आउने उनले बताए । चिउँडोले घाँटी छुन नसक्ने पनि यसको एक प्रमुख लक्षण भएको उनले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण