बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बेसबल तथा सफ्टबल सङ्घमा पर्वतारोही पाण्डे

शुक्रबार, १० असोज २०८२, १६ : ३५
शुक्रबार, १० असोज २०८२

सारांश

  • नेपाल बेसबल तथा सफ्टबल संघले पर्वतारोही प्रकाशराज पाण्डेलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।
  • पाण्डेले खेलकुद विकासमा योगदान पुर्याउने र विद्यालय तहमा खेल विस्तार गर्ने बताए।
  • बेसबल र सफ्टबल खेलको विकासका लागि संघले विद्यालय तहमा समन्वय गर्ने जनाएको छ।

काठमाडौँ । नेपाल बेसबल तथा सफ्टबल सङ्घले पर्वतारोही प्रकाशराज पाण्डेलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको छ । सङ्घको भाद्र ३० गतेको बैठकले पाण्डेलाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत गरेको हो ।

विगत १० वर्षदेखि पर्वतारोहणमा सक्रिय रहेका पाण्डे खेलकुदसँग निकटताको सम्बन्ध रहेका कारणले सङ्घसँग आबद्ध भई खेल विकासमा अघि बढ्न लागेको बताउँछन् ।

‘साहसिक कार्य र साहसिक खेल आफ्नो रुचिको क्षेत्र भएका कारणले त्यसमै सक्रिय रहेको हुँदा कुनै न कुनै रूपमा खेलसँग जोडिएकै थिएँ, आजबाट यस विशिष्ट खेल सङ्घमा औपचारिक प्रवेशसँगै देशको खेलकुदमा प्रत्यक्ष जोडिएको छु’ उनले भने, ‘मैले यस खेलको विकासमा कुनै योगदान दिन सकेँ भने मेरो संलग्नता सार्थक हुनेछ भन्ने विश्वास लिएको छु । सङ्घका अध्यक्ष, महासचिव र अन्य पदाधिकारीहरूले मलाई विश्वास गरेर यो जिम्मेवारी दिनुभएको छ, उहाँहरू सबैलाई धन्यवाद दिँदै यो जिम्मेवारीमा खरो उत्रिन सकौँ भन्ने मात्रै लागेको छ अहिले ।’

पर्वतारोही पाण्डेले विश्वको सबैभन्दा उच्च हिमशिखर सगरमाथासहित मनास्लु र विभिन्न महादेशीय उच्च शिखरको सफल आरोहण गरिसकेका छन् । आरोही पाण्डेले विद्यालय तहबाटै यो खेललाई आम युवा तथा विद्यार्थी माझ परिचित गराउँदै खेलको विस्तार गर्ने सोचमा रहेको बताए । ‘देशका विभिन्न विद्यालयसँग यस खेलका लागि उपयुक्त हुने मैदान छ, जसलाई उपयोग गरेर खेलको विकास र विस्तार गर्न सकिन्छ’ पाण्डेले भने ।

अमेरिकामा प्रसिद्ध रहेको खेल बेसबल अमेरिकीहरूको समय कटाउने खेलको रूपमा लोकप्रिय छ भने अमेरिकी सेनाले आफू पुगेका विश्वका अन्य देशहरूमा यो खेललाई परिचित गराई लोकप्रिय बनाएको मानिन्छ । यो खेल अहिले जापान, दक्षिण कोरिया र क्यारिबियाई द्वीपहरूमा निकै लोकप्रिय छ । क्रिकेटकै शैलीमा ब्याटिङ, बलिङ र फिल्डिङ गरेर खेलिने यो खेल प्रतिस्पर्धी टिमले विभिन्न इनिङमा खेल्दछन् । सफ्टबल पनि उस्तै शैली र उस्तै खेल मैदानमा खेलिने खेल हो । खेलमा प्रयोग गरिने बल र बललाई पिचिङ गर्ने तरिका एवं मैदानको आकारले यी दुई खेललाई अलग बनाउँछ । 

नेपालमा बेसबल तथा सफ्टबल सङ्घ सन् २००९ देखि राष्ट्रिय खेलकुद परिषद्बाट मान्यता प्राप्त खेल सङ्घको रूपमा रहेको छ । 

यी खेलहरूको प्रतिस्पर्धाका लागि आवश्यक सामग्री निकै मूल्य पर्ने भएकोले यो महँगो खेलको रूपमा दरिन्छ । त्यसैले यो खेलको विकासमा समस्या रहेको जानकारहरू बताउँछन् । सङ्घले यो खेल विकासका लागि विद्यालय तहमा समन्वय गरी काम गरिरहेको बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप