मेची नदीमा निर्मित झोलुङ्गे पुल पर्यटकीय गन्तव्य बन्दै
सारांश
- कचनकवल-५ पाठामारीस्थित मेची नदीमा बनेको झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बनेको छ।
- ४ करोड १२ लाखको लागतमा बनेको ४४२.४० मिटर लामो पुलले आवतजावत सहज बनाएको छ।
- पुल सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ, र पहुँच मार्गको स्तरोन्नति हुँदैछ।
झापा । मुलुकको होचो गाउँपालिकाका रूपमा रहेको कचनकवल–५ पाठामारीस्थित मेची नदीमा निर्मित झोलुङ्गे पुल नयाँ पर्यटकीय गन्तव्य बन्दै गएको छ । सङ्घीय सरकारको रु चार करोड १२ लाख २९ हजार लागतमा बनेको उक्त पुलको लम्बाइ ४४२ दशमलव ४० मिटर रहेको छ ।
कचनकवल–५ का वडाध्यक्ष नुर आलमले भारतीय सीमा नजिक बनेको झोलुङ्गे पुल सञ्चालनमा आएपछि दुवै मुलुकका पर्यटक घुम्न आउन थालेका बताउँदै पछिल्लो समय यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको उल्लेख गरे । “मेची नदी पार गर्न दुवै मुलुकका नागरिकलाई अब सहज भएको छ”, उनले भने, “साथै नदीमाथि बनेको लामो झोलुङ्गे पुल पर्यटकीय आकर्षणको केन्द्र बन्न थालेको छ ।”
विसं २०७३ मङ्सिर १७ गते नीलगिरि महावीर जेभीसँग निर्माणको सम्झौता भए पनि बजेट अभावले पुल सम्पन्न हुन समय लागेको हो । यसअघि यहाँ पुल नहुँदा स्थानीय बर्खायाममा दुई घण्टा पालो कुरेर काठको डुङ्गाबाट मेची नदी पार गर्दै आएका थिए ।
स्थानीय झट्टु हलुवाईंले मेचीमा पुल तरेर आवतजावत गर्ने कचनकवलबासीको वर्षौंदेखिको चाहना अहिले पूरा भएको बताए । उनले भने, “सीमा क्षेत्रका बासिन्दाले अनेक कामका लागि एक देशबाट अर्को देशमा आउजाउ गर्नुपर्ने हुन्छ । मेचीमा पुल बनोस् भन्ने धेरै वर्षदेखिको चाहना थियो । बल्ल अहिले साकार भयो ।”
मेची नदीमाथि बनेको उक्त पुलको दुवैतर्फ नेपाली भू–भाग पर्दछ । मेची नदी पारी पुलको पूर्वी भागमा ३० बिघाभन्दा बढी क्षेत्रफल जग्गा नेपालको हो । भारततिर पाठामारी भन्ने बजार छ, भने पुलको पूर्वी भागलाई धोबीभिट्टा भन्ने गरिएको हलुवाईंले जानकारी दिए ।
चाडपर्व आइसकेकाले स्थानीयबासीलाई वारिपारी गर्न सहज होस् भनेर गत भदौ ३१ गते पुल सञ्चालनमा ल्याइएको वडाध्यक्ष आलमले बताए । पुलको दुवै किनारामा पहुँच मार्गको स्तरोन्नति गर्न बाँकी रहेका जनाउँदै उनले हाल पैदल र साइकल यात्रीलाई मात्र आवतजावत गर्न दिइएको उल्लेख गरे ।
एक महिनापछि मोटरसाइकल ओहोरदोहोर गर्न मिल्नेगरी पहुँच मार्गको स्तरोन्नति गरिने वडाध्यक्ष आलमले बताए । उनका अनुसार नेपालको होचो भू–भाग भएकाले कचनकवल क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बन्दै आएको छ । यहाँका पोखरी, गन्धर्व बस्तीसँगै झोलुङ्गे पुलको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिराेले अवरुद्ध चितवन तर्फको सडक खुल्यो, धादिङतर्फ अझै अवरुद्ध
-
बर्नहम बन्दै छन् बेलायतका नयाँ प्रधानमन्त्री : यस्तो छ सत्ता हस्तान्तरण प्रक्रिया
-
कर्णालीको अति दुर्गम समुदायमा हिमालय आँखा अस्पतालको सेवा विस्तार : एक वर्षमा १७ हजारभन्दा बढी सेवा
-
शुक्लाफाँटा निकुञ्जमा च्याउ खोज्न गएका ३ जनाको सकुशल उद्धार, १४ जना अझै बेपत्ता
-
साउनको पहिलो सोमबार गोकर्णेश्वर मन्दिरमा भक्तजनको घुइँचो
-
बसपार्कको गेस्ट हाउसमा २५ वर्षीया युवतीको शव फेला, हत्या आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण