शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश दिन आह्वान

आइतबार, १२ असोज २०८२, १८ : ०३
आइतबार, १२ असोज २०८२

विराटनगर । विश्व पर्यटन दिवस, २०२४ को अवसरमा पर्यटन क्षेत्रका विज्ञ तथा व्यवसायीहरूले हालको संकटलाई अवसरमा बदल्दै नेपाल सुरक्षित र भ्रमणका लागि उपर्युक्त गन्तव्य हो भन्ने सन्देश अन्तर्राष्ट्रियस्तरमा फैलाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले आयोजना गरेको ‘पर्यटन संकटबाट सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा समितिका सभापति भविष श्रेष्ठले हालैको राजनीतिक घटनाक्रमले पर्यटन क्षेत्रमा पारेको असरको मूल्याङ्कन गर्दै भविष्यको रणनीतिक उपाय खोज्न कार्यक्रम आयोजना गरिएको बताए ।

होटल व्यवसायी महासंघका उपाध्यक्ष रबिन गौतमले देशको अर्थतन्त्र र रोजगारीमा योगदान दिने व्यवसायीहरूलाई आन्दोलनको निशाना बनाइनु दुःखद भएको बताउँदै पर्यटन व्यवसायीले भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराए । उनले पर्यटन क्षेत्रलाई पुरानै लयमा फर्काउन ढिलाइ गर्न नहुनेमा जोड दिए । 

कार्यक्रममा सहभागी अन्य पर्यटन व्यवसायीहरूले पनि संकटलाई सम्भावनामा परिणत गर्न राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश प्रवाह गर्न आवश्यक रहेको बताए । उनीहरूले ‘कोशी पर्यटन वर्ष २०८२’ मार्फत भारतीय शहरहरूमा कोशी प्रदेशका पर्यटकीय गन्तव्य र सुरक्षाबारे सकारात्मक सन्देश प्रवाह गर्ने कार्यक्रमहरू तत्काल सञ्चालन गर्न सुझाव दिए ।

पर्यटन विज्ञ डा. प्रनिल नेपाल उपाध्यायले पर्यटन क्षेत्रको पुनर्स्थापनाका लागि तत्काल सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । ‘अहिले जति पर्यटकहरू आएका छन्, उनीहरूलाई अझ राम्रो सेवा–सुविधा र आकर्षक टुरिजम प्याकेज दिएर सन्तुष्ट बनाउन सकियो भने त्यसले सकारात्मक सन्देश प्रवाह गर्छ,’ उनले भने ।

उनले संकटका बेला अन्य देशहरूले कसरी आफ्नो पर्यटन क्षेत्रलाई पुनर्जीवित गरे भन्ने उदाहरणहरू पनि प्रस्तुत गरे । कार्यक्रममा अस्ट्रेलियाका ‘टुरिजम क्राइसिस रिकभरी एक्सपर्ट’ डा. डेभिड विर म्यानसँग भिडियोमार्फत पर्यटन पुनर्स्थापनाका अनुभव र उपायहरूबारे छलफलसमेत गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप