शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
उद्यमीका कुरा

सोमी भगतको मसला क्रान्ति

डेढ लाखको लगानीमा सुरु भएको उद्योगले मासिक १० लाखको कारोबार गर्दै
मङ्गलबार, १४ असोज २०८२, ०९ : ००
मङ्गलबार, १४ असोज २०८२

सारांश

  • विराटनगरकी सोमी भगतले मसला उद्योग सुरु गरी प्रदेशभरि उत्पादन फैलाएकी छिन्, जसले आत्मनिर्भरताको उदाहरण दिएको छ।
  • सुरुमा घरमै मसला बनाएर बेच्न थालेकी सोमीले पछि उद्योग दर्ता गरी स्थानीय कच्चा पदार्थ प्रयोग गर्न थालिन्, जसले किसानलाई पनि बजार दिएको छ।
  • उद्योगमा हाल २० लाखभन्दा बढी लगानी भइसकेको छ र मासिक १० लाखको कारोबार हुन्छ, साथै, उनले भारतीय मसला र सरकारी नीतिका कारण चुनौतीहरू सामना गरिरहेकी छिन्।

विराटनगर । विराटनगरको एउटा सानो भान्साबाट सुरु भएको मसला उद्योगले आफ्नो उत्पादन प्रदेशभरि फैलाएको छ । विराटनगर–१० की सोमी भगत चौंलागाईंले ‘रुची फुड्स स्पाइसेस प्रोडक्ट’ मार्फत मसलाको व्यापारमा आफ्नो छुट्टै पहिचानमात्र बनाएकी छैनन्, रोजगारी दिएर आत्मनिर्भरताको उदाहरणसमेत बनेकी छन् ।

विवाहअघि पढाइसँगै निजी क्षेत्रमा जागिर गरिरहेकी सोमीका लागि विवाहपछि जीवनले नयाँ मोड लियो । घर र जागिरको दौडधुपमा समय व्यवस्थापन गर्न कठिन हुँदै गयो । ‘काम र गृहस्थी जीवनलाई सन्तुलनमा राख्न सकिनँ,’ उनी आफ्नो विगत सम्झिन्छिन्, ‘त्यसैले जागिर छाड्ने निर्णय लिएँ ।’

सधैँ आत्मनिर्भर रहन रुचाउने सोमीलाई घरमा मात्रै बस्न मनले मानेन । केही न केही गर्नुपर्छ भन्ने सोचले उनलाई उद्यमशीलतातिर डोर्‍यायो । श्रीमान् रमेश चौंलागाईंको पूर्ण साथ र सहयोग पाएपछि उनले २०६७ सालमा मसला उद्योग खोल्ने आँट गरिन् ।

Ruchi (1)

सुरुवात सोचेजस्तो सजिलो थिएन । व्यापार व्यवसायबारे कुनै ज्ञान नभएकी सोमीले सुरुमा घरमै मसला पिसेर, प्याकेजिङ गरेर छिमेकका पसलहरूमा बेच्न थालिन् । ‘सुरुमा त दर्ता नगरी परीक्षणको रूपमा काम गरेँ,’ उनले भनिन्, ‘प्रतिक्रिया राम्रो आएपछि डेढ लाख रुपैयाँ लगानी गरेर उद्योग दर्ता गरेँ ।’

सुरुवाती दिनमा कहाँ दर्ता गर्ने, खाद्य अनुज्ञापत्र कसरी लिने जस्ता सामान्य प्रक्रियाबारे पनि उनलाई जानकारी थिएन । सरकारी निकायहरूमा धाउँदा र सिक्दै जाँदा उनले धेरै ठक्कर खाइन्, तर हरेस खाइनन् । त्यही सङ्घर्षले आज उनलाई एक सफल उद्यमी बनाएको छ ।

रुची मसलाको सबैभन्दा ठुलो विशेषता भनेकै स्थानीय कच्चा पदार्थको प्रयोग हो । उनी आफ्नो उद्योगका लागि आवश्यक ६० प्रतिशत कच्चा पदार्थ पहाडी क्षेत्रका किसानहरूबाट सिधै खरिद गर्छिन् । बेसार, तेजपत्ता, धनियाँ, सुठोजस्ता मसला स्थानीय उत्पादन नै प्रयोग हुन्छ । नेपालमा कम उत्पादन हुने जीराजस्ता केही मसलामात्र उनी नेपालकै आयातकर्ताबाट खरिद गर्छिन् । यसले गर्दा उनको उद्योगले स्थानीय किसानलाई समेत बजार दिएको छ । 

Ruchi

आज उनको उद्योगमा बेसार, खुर्सानी, मिक्स मसलादेखि मःम, चाउमिन, मासु मसला, कश्मीरी मिर्च र विभिन्न गोटा मसला उत्पादन हुन्छन् ।

डेढ लाखबाट सुरु भएको उनको उद्योगमा आज २० लाखभन्दा बढी लगानी भइसकेको छ भने मासिक १० लाख रुपैयाँ बराबरको कारोबार हुन्छ । सुरुमा एक्लैले धानेको उद्योगमा अहिले ५ जना महिला र ३ जना पुरुष गरी ८ जनाले रोजगारी पाएका छन् । श्रीमानले पनि आफ्नो जागिर छाडेर उद्योगमा सघाउन थालेपछि व्यवसायले अझ गति लिएको सोमी बताउँछिन् ।

सफलतासँगै चुनौती पनि छन् । उनी भन्छिन्, ‘सबैभन्दा ठुलो चुनौती खुला सिमानाका कारण भन्सार छली गरेर भित्रिने भारतीय मसला हुन् । उनीहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो छ ।’ 

यसका साथै, सरकारी नीतिहरू साना र ठुला उद्योगका लागि एउटै हुँदा आफूजस्ता साना उद्यमीलाई समस्या पर्ने गरेको र सरकारी कर्जा तथा अनुदानमा सहज पहुँच नभएको उनको गुनासो छ ।

Masala (2)

सोमीलाई नेपाली उपभोक्ताको ‘नेपाली उत्पादन राम्रो हुँदैन’ भन्ने मानसिकताले सबैभन्दा धेरै दुःखी बनाउँछ । उनले भनिन्, ‘हाम्रो मसलाको गुणस्तरमा कुनै कमी छैन । १५ वर्षदेखि एउटै स्वाद र गुणस्तर कायम राखेका छौँ, त्यसैले बजारमा टिकेका छौँ ।’

उनी सबै उपभोक्तालाई एकपटक स्वदेशी उत्पादन प्रयोग गरेर हेर्न आग्रह गर्छिन् । ‘जबसम्म हामी आफैँले आफ्नो उत्पादनलाई माया गर्दैनौँ, तबसम्म स्थानीय उद्योगहरू फस्टाउन सक्दैनन्,’ उनले भनिन् ।

सोमी भगतको यो यात्रा एउटा व्यक्ति सफल भएको कथामात्र होइन, यो दृढ इच्छाशक्ति भए असम्भव केही छैन भन्ने कुराको प्रमाण हो । उनको संघर्ष र सफलताले नयाँ पुस्ताका उद्यमीहरूलाई अवश्य पनि प्रेरणा दिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप