मनाइयो महाअष्टमी
सारांश
- आज देशभर महाअष्टमी पर्व मनाइयो, जसमा महालक्ष्मी र महासरस्वतीको पूजाआराधना गरियो।
- यस वर्ष चौथी तिथि बढेकाले महाअष्टमी नवौँ दिन परेको छ, जहाँ दुर्गा भवानीको विशेष पूजा र पशु बली दिइयो।
- काठमाडौँ उपत्यका र देशभरका शक्तिपीठहरूमा श्रद्धालुहरूको बिहानैदेखि पूजाआजाका लागि घुइँचो लागेको थियो।
काठमाडौँ । मंगलबार विधिपूर्वक पूजाआराधना गरी आज देशभर महाअष्टमी पर्व मनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिन मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्य रूपमा मनाउने प्रचलन छ ।
सामान्यतया यो पर्व बडादसैँको आठौँ दिन पर्ने गरे पनि यस वर्ष चौथी तिथि वृद्धि भएकाले आज नवौँ दिन परेको छ ।
यस अवसरमा शास्त्रसम्मत रूपमा दसैँँघर, कोतलगायत देशभरका विभिन्न शक्तिपीठमा पशु बली दिई दुर्गा भवानीको विशेष पूजा गरिएको छ । दुर्गा भवानीको विशेष पूजा आराधनासहित दुर्गा, सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठसमेत गरिएको छ ।
विवेकशील र अविवेकशील प्राणी दुवैले मोक्ष प्राप्तिको चाहना गर्ने हुनाले देवीमन्दिर र यज्ञ यज्ञादिमा विधिपूर्वक बली दिनाले ती पशुले समेत मोक्ष प्राप्त गर्ने कुरा शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताए । आसुरी प्रवृत्तिको नाश गर्न देवीलाई शक्तिशाली बनाउन पनि यस्तो गर्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।
आजका दिन उपत्यकाभित्र गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, भद्रकाली, नक्साल भगवती, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, बज्रयोगिनी, सङ्कटा, बज्रवाराही, दक्षिणकाली, चामुण्डा, सुन्दरीमाई, भाटभटेनी, बङ्गलामुखीलगायत मन्दिरमा पनि बलीसहित पूजाआजा गर्नेहरूको बिहानैदेखि भीड लागेको थियो ।
यसैगरी उपत्यका बाहिर गोरखाको मनकामना, पर्साको गहवामाई, सप्तरीको छिन्नमस्ता भगवती, धनुषाको राजदेवी, डडेलधुराको उग्रतारा, काभे्रपलाञ्चोकको चण्डेश्वरी, नाला भगवती र पलाञ्चोक भगवती, सिन्धुपाल्चोकको पाल्चोक भगवती, दोलखाको कालीञ्चोक भगवती, ताप्लेजुङको पाथीभरालगायतका शक्तिपीठमा पनि बलीसहित पूजाआराधना गर्न श्रद्धालुको घुँइचो लागेको जनाइएको छ ।
आजको दिन कलपूर्जा, हातहतियार र यातायातका साधनलाई विशेष रूपमा सरसफाइ गरी देवी स्थापना गरिएको स्थानमा राखी बलीसहित पूजाआजा गरिन्छ । यस अवसरमा देवीका शस्त्रअस्त्रसहित चतुरङ्गिणी सेनाको पनि आह्वान गरी पूजा गर्ने गरिन्छ । पशुबली नचढाउनेहरूले भने पूजाकोठामा आआफ्नो कुल परम्पराअनुसार काँक्रो, घिरौँला, कुभिण्डो, मूला र नरिवल आदि बली चढाई पूजाआजा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण