शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रेरणा

काखमा बोकेको दुई महिने छोरा जीवित छैन भन्ने पनि थाहा पाएनन् सौजनले

कुलतमा फसेकालाई नयाँ जीवन दिन दम्पती नै सक्रिय
बिहीबार, १६ असोज २०८२, १७ : ००
बिहीबार, १६ असोज २०८२

सारांश

  • हेटौंडाका सौजन डिसी लागुऔषधको कुलतमा फसे र पछि सुधार केन्द्र खोले।
  • उनले छोरा गुमाएपछि दुर्व्यसनबाट मुक्त भएर सिआन पुनःस्थापना केन्द्र खोले।
  • केन्द्रले दुर्व्यसनीहरूलाई उपचार र सीप विकास तालिम दिँदै आएको छ।

मकवानपुर । हेटौंडा–४ का सौजन डिसी सानैदेखि गीत–सङ्गीत तथा वाद्यवादनमा रुचि राख्थे । विद्यालयमै सङ्गीतको कक्षामा सिकेको गिटार र अन्य बाजा बोकेर ‘रक स्टार’ नै बनेका थिए उनी । 

दुई दशक अघि हातमा गिटार बोकेर हेटौंडाको चोकचोकमा कन्सर्ट गर्ने ग्याङका रूपमा परिचित थियो सौजनको टोली । स्थानीय स्तरमा ‘रक स्टार’को परिचय बनाउँदै गर्दा साथीभाइको लहैलहैमा उनी कुलतमा फसे ।

स्कुल जीवनदेखि नै उनी लागुऔषधको दलदलमा फस्दै गए । यो क्रम ११ वर्षसम्म चलिरह्यो । किशोर अवस्थामा गाँजा, चुरोटदेखि विभिन्न ‘ड्रग्स’सम्म प्रयोग गर्न थोरै खर्चले पुग्ने अवस्था थिएन । लागुऔषध सेवनकै लागि आफैँले कानमा लगाएको मुन्द्रा २ पटकसम्म बेच्नु परेको उनी बताउँछन् । 

4

घरबाट पैसादेखि गरगहनासम्म चोरेर भए पनि नशा लिन पल्किएका उनलाई सधैँ चोरेकै खर्चले पुग्ने अवस्था भएन । नशाविना बाँच्न नसक्ने भइसकेका उनले विकल्पका रूपमा लागुऔषध कारोबारको काम पनि थालिसकेका थिए ।

‘दिनमा १ लाखसम्मको कारोबार गर्थें, तर त्यो पैसा मैले घरमा देखाउने गरेको थिइनँ । पैसा टन्न कमाएका वेला साथीहरूलाई पनि खुवाउँथेँ । त्यतिवेला कमाउनका लागि नभएर नशा प्रयोगकै लागि किनबेच गर्ने मलाई पैसा, परिवारभन्दा नशा नै प्यारो थियो,’ सौजनले रातोपाटीसँग भने ।

स्कुल पढ्दै गर्दा सहपाठीसँगको प्रेममा रहेका उनले सानै उमेरमा विवाह गरे । उनको वैवाहिक जीवन सामान्य रहेन । परिवारले स्वीकार गरेन । श्रीमतीसँगै उनी हेटौंडामा डेरा गरेर बस्न थाले ।

2

हुन त सौजन सामान्य परिवारका मान्छे थिएनन् । उनको परिवार व्यावसायिक घरानाको थियो । हेटौंडामा नाम कहलिएको व्यवसायी थिए उनका बुबा । लागुऔषधको नशाका कारण सौजन परिवारबाट अलग बस्न बाध्य थिए । कोठामा बस्दा पनि उनी लागुऔषध सेवन गर्थे । सोही क्रममा सन् २०१० मा २० वर्षको उमेरमा उनी श्रीमतीसँगै रोजगारीका लागि दुबई पुगे । त्यहाँ पनि उनले कुलत त्याग्न सकेनन् । 

जसोतसो तीन वर्ष दुबईमा काटेर उनी नेपाल फर्किए, तर लागुऔषधका कारण वैवाहिक सम्बन्ध सुमधुर थिएन । गाँजा, चरेस, हेरोइन लगायतको नशामा डुबिसकेका उनी नशाकै सुरमा श्रीमतीलाई कुटपिट गर्नसमेत थाले । यद्यपि श्रीमती तान्या अग्रवालले उनको साथ भने छाडिनन् । सोही क्रममा २०७२ मा तान्याले छोरा जन्माइन् । पिता भइसकेपछि पनि सौजनको स्वभाव उस्तै रह्यो । नाशाको लत जस्ताको तस्तै थियो । 

5

दुर्व्यसनबाट मुक्त हुन भन्दै सन् २०१५ मा उनी काठमाडौँको एक सुधार केन्द्र पुगे । उनी सुधार केन्द्रमा भर्ना भएकै रात दुई महिने छोरा सिआन बिरामी भए । उपचारको लागि श्रीमती तान्याले काठमाडौँ पुर्‍याइन् । सौजन पनि अस्पताल पुगेका थिए । चिकित्सकले सिआनलाई बचाउन सकेनन् । आफूले छातीमा टाँसेर बोकेको छोरा जीवित छैन भन्ने पनि सौजनलाई जानकारी थिएन । छोराको शव बोकेर सौजनसहित परिवारका सबै सदस्य राति नै हेटौंडा फर्कियो । 

सौजन स्मरण गर्छन्, ‘छोरा च्यापेर हेटौंडा आएपछि मात्र थाहा भयो– बाबु रहेनछ भनेर । त्यो समय मलाई असैह्य पीडा भयो । यो सबै मेरै कारणले भएकोजस्तो लाग्यो । सायद मैले समय दिन पाएको वा सकेको भए आज यो अवस्था हुँदैन थियो ।’

7

पुत्र वियोगपछि सौजनलाई आफूमा सुधार अपरिहार्य भएको महसूस भयो । आफैँ ३ महिना अनुशासित भई सुधार केन्द्रमा बसे । उनी लतबाट मुक्त भएर घर फर्किए । यद्यपि परिवार र समाजले उनको रुपान्तरण सहजै स्विकारेनन् । 

सौजनले पनि हार मानेनन् । समाजमा स्थापित हुन उनले संघर्ष गरे । उनको विगत देखेर उनलाई परिवार, समाज र आफन्तले सहजै स्वीकार गर्ने अवस्था पनि थिएन । सुधार गृहबाट निस्केर केही समय रिह्याबको काममा उनी सक्रिय भए । तालिम तथा गोष्ठीमा सहभागी भए । मानिसहरूसँग बोल्नसमेत असहज मान्ने उनी आफूलाई परिवर्तन गर्न प्रयत्नरत रहे ।

10

‘सुधारगृहबाट निस्केको केही समयमा हेटौंडामा एउटा स्तरीय सुधारगृहको आवश्यकता महसुस भयो,’ सौजनले भने । आफूलाई स्थापित गर्ने र समाज परिवर्तनमा काम गर्ने उपयुक्त अवसर देखेपछि उनले दिवंगत छोराको नाममा २०७३ सालमा सिआन पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याए । ८ वर्षको अन्तरालमा यो केन्द्रबाट थुप्रै युवा पुनर्जीवन पाएर समाजमा पुनःस्थापित भइसकेका छन् ।

‘लागुऔषधमा लागेकै कारण आफ्नो पहिलो सन्तान गुमाएँ,’ सौजनले भने, ‘सन्तान गुमाउँदाको पीडाले मलाई जीवनको महत्त्व बुझायो । कुलतमा लागेका युवालाई बचाउनुपर्छ भन्ने निष्कर्षले सिआन पुनःस्थापना केन्द्र स्थापना गरेँ । यसलाई मैले छोरा सिआनको पुनर्जन्मको रूपमा लिएको छु ।’

8

  • पूर्वसेवनकर्तालाई रोजगारी

हेटौंडा उपमहानगरपालिका–९ मा रहेको यस सुधार केन्द्र बागमती प्रदेशकै उदाहरणीय रहेको ठहरसहित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७५ सालमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । २०७५ सालमै प्रदेशको कृषि मन्त्रालयले पनि सम्मान गरेको थियो ।

11

सिआन पुनःस्थापना केन्द्रलाई गृह मन्त्रालयले एक लाख रुपैयाँसहित पुरस्कृत गरेको छ । सिआन पुनःस्थापना केन्द्रमा खेलमैदान, व्यायामशाला लगायतको व्यवस्था छ । केन्द्रमा भर्ना भएकाहरू बिहान व्यायाम र खेलमा सहभागी हुन्छन् भने दिउँसो अभिव्यक्ति र भाषण कलाको कक्षा लिन्छन् । साँझ सबै मिलेर फूल र तरकारी बारीमा काम गर्छन् । यहाँको भान्सामा चाहिने तरकारी यहीँ उत्पादन हुन्छ । केन्द्रमै गाई पालिएको छ । दुध–दहीको पनि जोहो हुन्छ ।

केन्द्रमा अहिले १९ वर्षदेखि ६७ वर्षसम्मका दुर्व्यसनी लत छुटाउने अभ्यास गरिरहेका छन् । सेवाग्राहीले तिरेको मासिक १८ हजार रुपैयाँ शुल्कबाटै केन्द्र चलेको छ । केन्द्रले वार्षिक २ जनालाई निःशुल्क ६ महिने आवासीय सेवा उपलब्ध गराउने गरेको पनि सौजन बताउँछन् । 

6

उनका अनुसार यहाँ बसेर लागुऔषधको लत छुटाएकाहरू पछि सरकारी सेवामा प्रवेश गरेका छन् भने कोही निजी विद्यालयका सञ्चालकसमेत बनेका छन् । हाल ११ जना पूर्वसेवनकर्ताले त सिआनमा रोजगारी गरिरहेका छन् । 

लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा सौजनलाई श्रीमती तान्या अग्रवालको पनि साथ छ । सौजनले पुरुष सेवनकर्ताका लागि अभियान सञ्चालन गरिरहँदा तान्याले सिआन महिला पुनःस्थापना केन्द्र स्थापना गरी महिला सेवनकर्ताका लागि सचेतना, रोकथाम कार्यक्रम तथा परामर्श दिने काम गरिरहेकी छन् । त्यहाँ ४७ महिलाले नियमित सेवा लिइरहेका छन् । 

12

  • सिआनमा १६८ जना सेवाग्राही 

हाल सिआनमा केन्द्रले १६८ जना सेवाग्राहीलाई उपचार तथा पुनःस्थापना सेवा प्रदान गरिँदै छ । सिआनले लागुऔषध दुर्व्यसनमात्र हटाउँदैन, विभिन्न सिप सिकाएर समाजमा बाँच्न सक्ने बनाउन प्रयास गर्दै आएको सौजन बताउँछन् । 

उनका अनुसार सिआनले दुर्व्यसनी विरुद्धका जनचेतना, सिप विकास, थेरापी, परामर्श, कृषि तथा पशुपालनजस्ता कार्यक्रम समेत सञ्चालन गरेको छ । हाल सिआनले लक्षित समूहमा सचेतना अभियान, थेरापी सत्र, अनलाइन परामर्श, सेवाग्राही ट्रयाकिङ, योगा तथा ध्यान, मानसिक स्वास्थ्य सुधारमूलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

1

मनहरी गाउँपालिकाको ३ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग र सिआनको आन्तरिक स्रोतको साझेदारीमा १७ जना विपन्न परिवारकालाई ३ महिनाको आवासीय परामर्श सेवा प्रदान भइरहेको सौजनले बताए । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, रिकभरिङ नेपाल र भिभ हेल्थकेयर पोजिटिभ एक्सन ग्रान्टको आर्थिक सहयोगमा पुनर्स्थापना सेवा, विविध क्षति न्यूनीकरण कार्यक्रम, सिप विकास तालिम, मनोपरामर्श, चिकित्सकीय सेवा र संस्थाको संरचनागत विकास कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप