काखमा बोकेको दुई महिने छोरा जीवित छैन भन्ने पनि थाहा पाएनन् सौजनले
सारांश
- हेटौंडाका सौजन डिसी लागुऔषधको कुलतमा फसे र पछि सुधार केन्द्र खोले।
- उनले छोरा गुमाएपछि दुर्व्यसनबाट मुक्त भएर सिआन पुनःस्थापना केन्द्र खोले।
- केन्द्रले दुर्व्यसनीहरूलाई उपचार र सीप विकास तालिम दिँदै आएको छ।
मकवानपुर । हेटौंडा–४ का सौजन डिसी सानैदेखि गीत–सङ्गीत तथा वाद्यवादनमा रुचि राख्थे । विद्यालयमै सङ्गीतको कक्षामा सिकेको गिटार र अन्य बाजा बोकेर ‘रक स्टार’ नै बनेका थिए उनी ।
दुई दशक अघि हातमा गिटार बोकेर हेटौंडाको चोकचोकमा कन्सर्ट गर्ने ग्याङका रूपमा परिचित थियो सौजनको टोली । स्थानीय स्तरमा ‘रक स्टार’को परिचय बनाउँदै गर्दा साथीभाइको लहैलहैमा उनी कुलतमा फसे ।
स्कुल जीवनदेखि नै उनी लागुऔषधको दलदलमा फस्दै गए । यो क्रम ११ वर्षसम्म चलिरह्यो । किशोर अवस्थामा गाँजा, चुरोटदेखि विभिन्न ‘ड्रग्स’सम्म प्रयोग गर्न थोरै खर्चले पुग्ने अवस्था थिएन । लागुऔषध सेवनकै लागि आफैँले कानमा लगाएको मुन्द्रा २ पटकसम्म बेच्नु परेको उनी बताउँछन् ।

घरबाट पैसादेखि गरगहनासम्म चोरेर भए पनि नशा लिन पल्किएका उनलाई सधैँ चोरेकै खर्चले पुग्ने अवस्था भएन । नशाविना बाँच्न नसक्ने भइसकेका उनले विकल्पका रूपमा लागुऔषध कारोबारको काम पनि थालिसकेका थिए ।
‘दिनमा १ लाखसम्मको कारोबार गर्थें, तर त्यो पैसा मैले घरमा देखाउने गरेको थिइनँ । पैसा टन्न कमाएका वेला साथीहरूलाई पनि खुवाउँथेँ । त्यतिवेला कमाउनका लागि नभएर नशा प्रयोगकै लागि किनबेच गर्ने मलाई पैसा, परिवारभन्दा नशा नै प्यारो थियो,’ सौजनले रातोपाटीसँग भने ।
स्कुल पढ्दै गर्दा सहपाठीसँगको प्रेममा रहेका उनले सानै उमेरमा विवाह गरे । उनको वैवाहिक जीवन सामान्य रहेन । परिवारले स्वीकार गरेन । श्रीमतीसँगै उनी हेटौंडामा डेरा गरेर बस्न थाले ।

हुन त सौजन सामान्य परिवारका मान्छे थिएनन् । उनको परिवार व्यावसायिक घरानाको थियो । हेटौंडामा नाम कहलिएको व्यवसायी थिए उनका बुबा । लागुऔषधको नशाका कारण सौजन परिवारबाट अलग बस्न बाध्य थिए । कोठामा बस्दा पनि उनी लागुऔषध सेवन गर्थे । सोही क्रममा सन् २०१० मा २० वर्षको उमेरमा उनी श्रीमतीसँगै रोजगारीका लागि दुबई पुगे । त्यहाँ पनि उनले कुलत त्याग्न सकेनन् ।
जसोतसो तीन वर्ष दुबईमा काटेर उनी नेपाल फर्किए, तर लागुऔषधका कारण वैवाहिक सम्बन्ध सुमधुर थिएन । गाँजा, चरेस, हेरोइन लगायतको नशामा डुबिसकेका उनी नशाकै सुरमा श्रीमतीलाई कुटपिट गर्नसमेत थाले । यद्यपि श्रीमती तान्या अग्रवालले उनको साथ भने छाडिनन् । सोही क्रममा २०७२ मा तान्याले छोरा जन्माइन् । पिता भइसकेपछि पनि सौजनको स्वभाव उस्तै रह्यो । नाशाको लत जस्ताको तस्तै थियो ।

दुर्व्यसनबाट मुक्त हुन भन्दै सन् २०१५ मा उनी काठमाडौँको एक सुधार केन्द्र पुगे । उनी सुधार केन्द्रमा भर्ना भएकै रात दुई महिने छोरा सिआन बिरामी भए । उपचारको लागि श्रीमती तान्याले काठमाडौँ पुर्याइन् । सौजन पनि अस्पताल पुगेका थिए । चिकित्सकले सिआनलाई बचाउन सकेनन् । आफूले छातीमा टाँसेर बोकेको छोरा जीवित छैन भन्ने पनि सौजनलाई जानकारी थिएन । छोराको शव बोकेर सौजनसहित परिवारका सबै सदस्य राति नै हेटौंडा फर्कियो ।
सौजन स्मरण गर्छन्, ‘छोरा च्यापेर हेटौंडा आएपछि मात्र थाहा भयो– बाबु रहेनछ भनेर । त्यो समय मलाई असैह्य पीडा भयो । यो सबै मेरै कारणले भएकोजस्तो लाग्यो । सायद मैले समय दिन पाएको वा सकेको भए आज यो अवस्था हुँदैन थियो ।’

पुत्र वियोगपछि सौजनलाई आफूमा सुधार अपरिहार्य भएको महसूस भयो । आफैँ ३ महिना अनुशासित भई सुधार केन्द्रमा बसे । उनी लतबाट मुक्त भएर घर फर्किए । यद्यपि परिवार र समाजले उनको रुपान्तरण सहजै स्विकारेनन् ।
सौजनले पनि हार मानेनन् । समाजमा स्थापित हुन उनले संघर्ष गरे । उनको विगत देखेर उनलाई परिवार, समाज र आफन्तले सहजै स्वीकार गर्ने अवस्था पनि थिएन । सुधार गृहबाट निस्केर केही समय रिह्याबको काममा उनी सक्रिय भए । तालिम तथा गोष्ठीमा सहभागी भए । मानिसहरूसँग बोल्नसमेत असहज मान्ने उनी आफूलाई परिवर्तन गर्न प्रयत्नरत रहे ।

‘सुधारगृहबाट निस्केको केही समयमा हेटौंडामा एउटा स्तरीय सुधारगृहको आवश्यकता महसुस भयो,’ सौजनले भने । आफूलाई स्थापित गर्ने र समाज परिवर्तनमा काम गर्ने उपयुक्त अवसर देखेपछि उनले दिवंगत छोराको नाममा २०७३ सालमा सिआन पुनःस्थापना केन्द्र सञ्चालनमा ल्याए । ८ वर्षको अन्तरालमा यो केन्द्रबाट थुप्रै युवा पुनर्जीवन पाएर समाजमा पुनःस्थापित भइसकेका छन् ।
‘लागुऔषधमा लागेकै कारण आफ्नो पहिलो सन्तान गुमाएँ,’ सौजनले भने, ‘सन्तान गुमाउँदाको पीडाले मलाई जीवनको महत्त्व बुझायो । कुलतमा लागेका युवालाई बचाउनुपर्छ भन्ने निष्कर्षले सिआन पुनःस्थापना केन्द्र स्थापना गरेँ । यसलाई मैले छोरा सिआनको पुनर्जन्मको रूपमा लिएको छु ।’

- पूर्वसेवनकर्तालाई रोजगारी
हेटौंडा उपमहानगरपालिका–९ मा रहेको यस सुधार केन्द्र बागमती प्रदेशकै उदाहरणीय रहेको ठहरसहित प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७५ सालमा ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । २०७५ सालमै प्रदेशको कृषि मन्त्रालयले पनि सम्मान गरेको थियो ।

सिआन पुनःस्थापना केन्द्रलाई गृह मन्त्रालयले एक लाख रुपैयाँसहित पुरस्कृत गरेको छ । सिआन पुनःस्थापना केन्द्रमा खेलमैदान, व्यायामशाला लगायतको व्यवस्था छ । केन्द्रमा भर्ना भएकाहरू बिहान व्यायाम र खेलमा सहभागी हुन्छन् भने दिउँसो अभिव्यक्ति र भाषण कलाको कक्षा लिन्छन् । साँझ सबै मिलेर फूल र तरकारी बारीमा काम गर्छन् । यहाँको भान्सामा चाहिने तरकारी यहीँ उत्पादन हुन्छ । केन्द्रमै गाई पालिएको छ । दुध–दहीको पनि जोहो हुन्छ ।
केन्द्रमा अहिले १९ वर्षदेखि ६७ वर्षसम्मका दुर्व्यसनी लत छुटाउने अभ्यास गरिरहेका छन् । सेवाग्राहीले तिरेको मासिक १८ हजार रुपैयाँ शुल्कबाटै केन्द्र चलेको छ । केन्द्रले वार्षिक २ जनालाई निःशुल्क ६ महिने आवासीय सेवा उपलब्ध गराउने गरेको पनि सौजन बताउँछन् ।

उनका अनुसार यहाँ बसेर लागुऔषधको लत छुटाएकाहरू पछि सरकारी सेवामा प्रवेश गरेका छन् भने कोही निजी विद्यालयका सञ्चालकसमेत बनेका छन् । हाल ११ जना पूर्वसेवनकर्ताले त सिआनमा रोजगारी गरिरहेका छन् ।
लागुऔषध दुर्व्यसनविरुद्धको अभियानमा सौजनलाई श्रीमती तान्या अग्रवालको पनि साथ छ । सौजनले पुरुष सेवनकर्ताका लागि अभियान सञ्चालन गरिरहँदा तान्याले सिआन महिला पुनःस्थापना केन्द्र स्थापना गरी महिला सेवनकर्ताका लागि सचेतना, रोकथाम कार्यक्रम तथा परामर्श दिने काम गरिरहेकी छन् । त्यहाँ ४७ महिलाले नियमित सेवा लिइरहेका छन् ।

- सिआनमा १६८ जना सेवाग्राही
हाल सिआनमा केन्द्रले १६८ जना सेवाग्राहीलाई उपचार तथा पुनःस्थापना सेवा प्रदान गरिँदै छ । सिआनले लागुऔषध दुर्व्यसनमात्र हटाउँदैन, विभिन्न सिप सिकाएर समाजमा बाँच्न सक्ने बनाउन प्रयास गर्दै आएको सौजन बताउँछन् ।
उनका अनुसार सिआनले दुर्व्यसनी विरुद्धका जनचेतना, सिप विकास, थेरापी, परामर्श, कृषि तथा पशुपालनजस्ता कार्यक्रम समेत सञ्चालन गरेको छ । हाल सिआनले लक्षित समूहमा सचेतना अभियान, थेरापी सत्र, अनलाइन परामर्श, सेवाग्राही ट्रयाकिङ, योगा तथा ध्यान, मानसिक स्वास्थ्य सुधारमूलक कार्यक्रमलाई प्राथमिकता दिएको उनले बताए ।

मनहरी गाउँपालिकाको ३ लाख ५० हजार रुपैयाँको आर्थिक सहयोग र सिआनको आन्तरिक स्रोतको साझेदारीमा १७ जना विपन्न परिवारकालाई ३ महिनाको आवासीय परामर्श सेवा प्रदान भइरहेको सौजनले बताए । बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय, हेटौंडा उपमहानगरपालिका, रिकभरिङ नेपाल र भिभ हेल्थकेयर पोजिटिभ एक्सन ग्रान्टको आर्थिक सहयोगमा पुनर्स्थापना सेवा, विविध क्षति न्यूनीकरण कार्यक्रम, सिप विकास तालिम, मनोपरामर्श, चिकित्सकीय सेवा र संस्थाको संरचनागत विकास कार्यक्रम सञ्चालन भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण