शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

पाँच वर्षमा करिब १५ लाख व्यक्तिले लिए आँखा उपचार सेवा

बिहीबार, १६ असोज २०८२, १८ : ३६
बिहीबार, १६ असोज २०८२

सारांश

  • भैरहवाको श्री रण अम्बिका शाह आँखा अस्पतालले ५ वर्षमा करिब १५ लाख बिरामीलाई आँखा उपचार सेवा प्रदान गरेको छ।
  • आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालले २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ।
  • अस्पतालले आँखाका बिभिन्न समस्या र ईएनटी सेवा पनि दिँदै आएको छ, जसमा हजारौंले सेवा लिएका छन्।

रुपन्देही । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भैरहवाको श्री रण अम्बिका शाह आँखा अस्पतालबाट पाँच वर्षको अवधिमा करिब १५ लाख (१४ लाख ७७ हजार १७४) बिरामीले आँखा उपचार सेवा लिएका छन्। यो तथ्याङ्क आर्थिक वर्ष २०७७/०७८ देखि २०८१/०८२ सम्मको हो।

अस्पतालका सूचना अधिकारी प्रतीक पाण्डेयका अनुसार आर्थिक वर्षअनुसार उपचार गरिएका बिरामीको सङ्ख्या:

  • २०७७/०७८: १ लाख ५३ हजार ५३३ जना
  • २०७८/०७९: २ लाख ८२ हजार २३७ जना
  • २०७९/०८०: ३ लाख २८ हजार ८४० जना
  • २०८०/०८१: ३ लाख २९ हजार ५११ जना
  • २०८१/०८२: ३ लाख ८३ हजार ०५३ जना

अस्पतालको तथ्याङ्कले उपचारका लागि आउनेको सङ्ख्या क्रमशः बढ्दै गएको देखाउँछ। आर्थिक वर्ष २०८१/०८२ मा अस्पतालले २८ हजार ७६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको सहव्यवस्थापक तुल्सीप्रसाद पराजुलीले जानकारी दिएका छन्।

यसबाहेक, आँखाको पर्दा फाटेका, आँसु आउने नली र आँखाको डेढोपनको समस्या झेलिरहेका १० हजार ६०६ जनाको पनि शल्यक्रिया गरिएको छ। सहव्यवस्थापक पराजुलीका अनुसार उल्लिखित सेवा लिने बिरामीमध्ये ५० प्रतिशतभन्दा बढी नेपाली छन्।

अस्पतालले गत वर्षदेखि नाक, कान तथा घाँटीरोग (ईएनटी) विशेषज्ञ सेवा समेत प्रदान गर्दै आएको छ। हालसम्म आठ हजारभन्दा बढीले यो सेवा लिइसकेका छन्।

विसं २०४० सालदेखि सञ्चालनमा आएको यस अस्पतालले नेपालका विभिन्न जिल्लाका साथै भारतीय बिरामीलाई पनि सेवा दिँदै आएको छ। सूचना अधिकारी पाण्डेयका अनुसार अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा परीक्षण शिविर समेत सञ्चालन गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप