बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

फुटबल क्यालेन्डर पूर्ण कार्यान्वयन गर्छौँ : एन्फा महासचिव राई

बिहीबार, १६ असोज २०८२, २० : २०
बिहीबार, १६ असोज २०८२

सारांश

  • दसैँ र तिहारपछि नेपाली फुटबलका गतिविधिहरू नियमित रूपमा अगाडि बढ्ने तयारी भइरहेको छ।
  • एन्फाले आगामी ६ महिनाको लागि परिमार्जित फुटबल क्यालेन्डर सार्वजनिक गरेको छ, जसमा विभिन्न प्रतियोगिताहरू समावेश छन्।
  • सहिद स्मारक 'ए' डिभिजन लिग जसरी पनि हुने एन्फाको भनाइ छ, तर लिगको मोडल र भेन्युबारे छलफल हुनेछ।

काठमाडौँ । देशको दुई ठुला चाड दसैँ र तिहारपछि नेपाली फुटबलका गतिविधि नियमित अगाडि बढ्ने तयारीमा छ । 

अखिल नेपाल फुटबल संघ एन्फाले गत हप्ता आगामी ६ महिनाका लागि परिमार्जित फुटबल क्यालेन्डर सार्वजनिक गरेको थियो । उक्त तालिकाअनुरूप आगामी चैतसम्म नेपाली फुटबल व्यस्त हुनेछ । 

यद्यपि एन्फाले घोषित तालिका र कार्यक्रम नगर्ने आशंका पनि भइरहेका छन् । तीमध्ये सबैभन्दा चासो शीर्ष डिभिजन लिग हो । तर एन्फाका महासचिव किरण राईले सहिद स्मारक लिग जसरी पनि हुने तर लिगको मोडलको विषयमा भने छलफल हुने प्रक्रियामा रहेको बताएका छन् । देशमा आम निर्वाचन घोषणा भएको अवस्थामा होम एण्ड अवे के हुन्छ भनेर छलफल गरिने तयारी रहेको उनले उल्लेख गरेका छन् ।

कुल १४ भेन्युमा लिग गर्ने एन्फाको योजनामा छलफल गर्न आवश्यक रहेको उनी बताउँछन् । एन्फाका महासचिव किरण राईले यु–१६ लिग रोकिँदा र चाडपर्वपछि फुटबललाई थप चलायमान बनाउने तरिकाले केही क्यालेण्डरमा परिमार्जित गरिएको उल्लेख गरेका छन् । उनले १४ भेन्युमा लिग गर्ने विषय उत्साहपूर्ण भएपनि स्थानीय सरोकारवालालाई पनि यो लिगमा जोड्ने योजना गर्न यसपल्ट सहज नभएकाले केही विकल्पमा छलफल हुने बताएका छन् । तर केही खेलहरू बाहिर लैजानेले तरिकाले पनि लिगबारे आगामी असोज २६ गते तय बैठकमा छलफल हुने उनी बताउँछन् । उनले कुनैपनि हालतमा सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने विश्वास व्यक्त गरेका छन् । 

एन्फाले आगामी ६ महिनामा पहिलोपल्ट हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप र साफ महिला च्याम्पियनसिप पनि गर्दैछ । साथै एन्फा प्रेसिडेन्ट लिग, मैत्रीपूर्ण फुटबल, थ्री नेसन्स महिला फुटबल, एन्फा महिला च्याम्पियनसिप, एन्फा महिला राष्ट्रिय लिग र ‘सी’ डिभिजन लिगका साथै उमेरसमूहका प्रतियोगिताहरू पनि यही अवधिमा हुनेछन् । त्यसैले एन्फा पछिल्ला ६ महिना निकै व्यस्त हुनेछ । एन्फाका महासचिव राईले यी आयोजना गर्न चुनौती रहेको र तर कुनै पनि हालत सम्पन्न हुने बताएका छन् । साथै उनले नेपाल सुपर लिग (एनएसएल) पनि एन्फाको महत्वपूर्ण कार्यक्रमभित्र रहेकाले आयोजकले तयारी पूरा गरेपछि क्यालेन्डर समावेश गर्ने बताएका छन् ।

यसअघि एन्फाको साधारण सभाले नै आगामी नोभेम्बर एनएसएल आयोजना गर्ने प्रस्ताव पास गरेको थियो । तर एन्फाले जारी गरेको क्यालेण्डरमा भने एनएसएलबारे समावेश थिएन । एन्फाका महासचिव राईले आयोजकको तयारी नपुगेकोले त्यसबारे उल्लेख नगरिएको स्पष्ट पारेका छन् । 

एन्फाका महासचिव राईले कार्यक्रम कार्यान्वयन गर्नेगरी तालिका ल्याएको उल्लेख गरेका छन् । एनएसएलको आयोजकको प्रस्ताव आएपछि नै एन्फाले त्यसलाई पनि क्यालेण्डरमा समावेश गर्दा नेपाली फुटबल निकै व्यस्त हुनेछ । दसैँ र तिहार अगाडि नै नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप क्वालिफायरको तेस्रो चरणअन्तर्गतको खेलमा भियतनामसँग उसैको घरेलु मैदानमा खेल्दैछ । नेपाली टोली अहिले त्यसैको तयारीमा छ । व्यस्त घरेलु क्यालेन्डर अगावै नेपाली राष्ट्रिय महिला फुटबल टोलीले पनि भारतसँग सिक्किममा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । त्यसैले पनि नेपाली फुटबल असोजको अन्तिम सातादेखि नै व्यस्त हुनेछ । —न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप