१० बजे १० समाचार : सरकारको पूर्वतयारीको प्रशंसा
सारांश
- गृहमन्त्रीले बाढी र पहिरोबाट मानवीय क्षति शून्य बनाउन काम भइरहेको बताए।
- प्रधानमन्त्री सुशीला कार्कीले वर्षा र बाढीको जोखिमलाई लिएर सम्बोधन गर्दै सतर्क रहन आग्रह गरिन्।
- सरकारले भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो।
काठमाडौँ । आज मिति २०८२ साल असोज महिनाको १८ गते शनिबार आज देशभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको नियमित प्रस्तुती रातोपाटी ब्रिफिङमा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ ।
१. प्रभावकारी पूर्वतयारी
सुशीला कार्की नेतृत्वको सरकारले मौसम पूवार्नुमानसँगै आवश्यक पूर्वतयारी गरेको भन्दै तारिफ भएको छ । यसैबीच गृहमन्त्री ओमप्रकाश अर्यालले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सम्भाव्य मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन् । मन्त्रालय स्थित कन्ट्रोल रुमबाट सर्वसाधारणलाई सन्देश दिँदै मन्त्री अर्यालले भने, ‘मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौँ ।’
२. सुशीलाको सम्बोधन
प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिँदै शनिबार साँझ विशेष सम्बोधन गरेकी छन्।
अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको बताउँदै प्रधानमन्त्री कार्कीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्।
३. मौसम पूर्वानुमान
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाले शनिबार राति सार्वजनिक गरेको बुलेटिन अनुसार देशका विभिन्न भू(भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू(भागमा साधारण बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भूभागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
४. सार्वजनिक बिदा
सरकारले देशभर दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले शनिबार जारी गरेको सूचनामा देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र जसका कारण आइपर्नसक्ने परिस्थितिलाई मध्यनजर गर्दै असोज १९ र २० गते सार्वजनिक बिदा निर्णय गरिएको उल्लेख छ ।
५. वर्षाले बेहाल
अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । दसैँको बेला विभिन्न सडक अवरुद्ध भएका छन् भने शनिवार आन्तरिक उडान समेत ठप्प भयो । यसबारे विस्तृत लाइभ अपडेट हेर्नुहोस्
६. दुर्घटना
पाँचथरको कुम्मायक–३ कात्तिकेमा आज भएको बलेरो दुर्घटनामा परी मृत्यु हुने चार जनाको सनाखत भएको छ । अन्य दुई जना मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
७. लामो दुरीका यातायात बन्द
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले लामो दूरीका यातायात तीन दिनका लागि बन्द गर्ने निर्णय गरेको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेकोले लामो दूरीका यातायात सञ्चालन बन्द गर्ने निर्णय गरिएको प्राधिकरणले जनाएको हो ।
८. सहयोगको आग्रह
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ ।
९. कारबाहीको चेतावनी
हालको मनसुनजन्य विपद्को अवस्थामामा काठमाडौं उपत्यकाभित्र इन्ड्राइभ, पठाओ, याङ्गो लगायतका राइड सेयरिङ सेवाप्रदायकहरूले यात्रुहरूसँग अत्यधिक भाडा असुल गरेको गुनासो प्राप्त भएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरेको छ।
१०. अर्थको आग्रह
अर्थ मन्त्रालयले राहत, पुनर्निर्माण र आर्थिक पुनरुत्थानका लागि स्थापना गरिएको भौतिक पूर्वाधार निर्माण कोषमा मात्र सहयोग रकम जम्मा गर्न आग्रह गरेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण