बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभावले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
काठमाडौँ । अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । दसैँको बेला विभिन्न सडक अवरुद्ध भएका छन् भने शनिवार आन्तरिक उडान समेत ठप्प भयो ।
यस्तै संघीय राजधानीमा समेत नदी किनारका क्षेत्रमा बाढी पसेको छ भने विभिन्न स्थानमा अविरल वर्षाले जनजीवन प्रभावित भएका छन् । यस्तै सरकारले तीन तीन लामो दूरीका यातायात सञ्चालनमा रोक लगाएको छ भने दुई दिन सार्वजनिक बिदा नै दिएको छ । मौसम आइतबार अपराह्नसम्मै प्रतिकूल रहने बताइएको छ ।
मकवानपुर। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण अरनिको राजमार्गका विभिन्न खण्डमा पहिरो र बाढीले यातायात प्रभावित भएको छ। काभ्रेको धुलिखेल, भुम्लु र बनेपा क्षेत्रमा राजमार्ग अवरुद्ध भएको हो।
धुलिखेल नगरपालिका-८, पाकुचामा सडकमाथिबाट लेदोसहितको पहिरो खसेको थियो। निरन्तरको प्रयासपछि पहिरो पन्छाएर सो खण्डमा एकतर्फी सवारी सञ्चालन गरिएको वडाध्यक्ष विनोद गौतमले जानकारी दिएका छन्।
यस्तै, भुम्लु गाउँपालिकाको दोलालघाटमा खसेको पहिरो पन्छाएर पनि राजमार्ग एकतर्फी खोलिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। सो क्षेत्रमा १५ जनाको प्रहरी टोली खटिएको छ।
चितवन। वर्षाका कारण सवारी आवागमन बन्द भएपछि चितवनमा अलपत्र परेका यात्रुहरूले अब होटलको कोठा भाडामा ७५ प्रतिशत छुट पाउने भएका छन्।
होटल व्यवसायी संघ चितवन र जिल्ला प्रशासन कार्यालय चितवनको बैठकले संयुक्त रूपमा यस्तो निर्णय गरेको हो। निर्णयअनुसार जिल्लाभरिका सबै होटलहरूले आफ्ना नियमित कोठा भाडामा ७५ प्रतिशत छुट दिई २५ प्रतिशत शुल्कमा मात्रै सेवा प्रदान गर्नेछन्।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले छुटमा बस्ने ग्राहकलाई कुनै पनि फरक व्यवहार नगरी सम्मानजनक सेवा दिन सदस्य होटलहरूलाई आग्रह गरेका छन्।
काठमाडौँ। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद् व्यवस्थापनमा पार्टीका सबै तहलाई एकजुट भएर खटिन निर्देशन दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार साँझ सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गर्दै पार्टीका नेता-कार्यकर्ता, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह तथा भातृ संगठनहरूलाई खोज, उद्धार र राहतका काममा तत्काल जुट्न आह्वान गरेका हुन्। उनले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का कार्यकर्ता विपद् प्रतिकार्यमा खटिएको जनाएका छन्।
प्रचण्डले असोज १७ गतेदेखि सुरु भएको वर्षाले बागमती, मधेस र कोशी प्रदेशका पहाडी भेगमा पहिरो र तराईमा डुबानको समस्या तीव्र रूपमा बढाउने देखिएको औँल्याएका छन्।
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सम्भाव्य मानवीय क्षति शून्य हुने गरी काम गरिरहेको बताएका छन् । मन्त्रालय स्थित कन्ट्रोल रुमबाट सर्वसाधारणलाई सन्देश दिँदै मन्त्री अर्यालले भने, ‘मानवीय क्षति शून्य हुने गरी काम गरिरहेका छौँ ।’
सरकारका निकायहरूलाई मानवीय क्षति शून्य हुने गरी विपद्को उद्धारमा लाग्न निर्देशन दिइएको उनले बताए । विपद्को बेलामा सुशासन अझै बढी महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अर्यालले भने, ‘यस्तो बेलामा नाजायज काम भयो भने सरकारप्रतिको आक्रोश अर्को चरणमा पुग्छ ।’
विपद्को समयमा हुनसक्ने नाजायज काममा संलग्न हुने कमजोरी नगर्न मन्त्रालय मातहतका अधिकारीहरूलाई अर्यालले निर्देशन दिएका छन् । उनले भने, ‘कमजोरी हुन नदिनुहोला ।’
काठमाडौँ। नेकपा (एमाले) सम्बद्ध राष्ट्रिय युवा संघ, नेपालले देशभर अविरल वर्षाका कारण उत्पन्न विपद्पूर्ण अवस्थामा आफ्ना कार्यकर्तालाई जनताको सेवा र सुरक्षामा सक्रियतापूर्वक खटिन आह्वान गरेको छ।
संघका अध्यक्ष क्षितिज थेबेले शनिबार एक विशेष सर्कुलर जारी गर्दै युवा कार्यकर्ताहरूलाई उच्च मनोबलका साथ उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन्।
सर्कुलरमा विपद्को जोखिम भएका स्थानहरू पहिचान गरी सतर्क रहन, उद्धार तथा राहत कार्यमा सक्रिय सहभागिता जनाउन र जनएकताको भावना सृजना गर्न आग्रह गरिएको छ। साथै, पीडित नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण, खाद्यान्न र अत्यावश्यक सामग्री वितरणमा सहयोग गर्न पनि संघले अनुरोध गरेको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शनिवार साँझसम्म महानगरपालिका भित्रका ५ वटा विद्यालयमा बाढीको जोखिममा रहेका बस्तीका मानिसहरू बसिरहेको बताएका छन् । महानगरका प्रमुख बालेन शाहले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन् ।
‘महानगरपालिकाको शिक्षा विभागले महानगरभित्रका ७० वटा विद्यालयमा तत्कालका लागि आश्रय स्थल (सेल्टर) व्यवस्था गर्न सकिने जनाएको छ । उनीहरूका लागि खाने र बस्ने व्यवस्था महानगरपालिकाले गरिरहेको छ’, प्रमुख शाहले भनेका छन् । साथै विश्व निकेतन, त्रिपुरेश्वरमा ७० जना र गुह्येश्वरीमा ५२ जना बसिरहेको पनि जनाएका छन् । मेयर शाहका अनुसार जन विकास, कुलेश्वरमा ५२ परिवार (२५१ जना) बसिरहेका छन् भने महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना बसिरहेका छन्।
शाहले कुनै आपत्कालीन समस्या परेमा तुरुन्त सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर १६६००१०५५११,०१५९०१७६४,०१५९०१७६३ मा सम्पर्क गर्न आग्रह गरेका छन् ।
काभ्रे। लगातारको वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्गको काभ्रेखण्डमा ९ भन्दा बढी स्थानमा सडक कटान गरेको छ।
रोशी गाउँपालिका र नमोबुद्ध नगरपालिकाका विभिन्न स्थानमा सडक कटान भएको हो।
इलाका प्रहरी कार्यालय मंगलटारका अनुसार असोज १८ गते साँझ ५ः४५ बजेतिर बाढीले ठुलो क्षति पुर्याएको छ। रोशी गाउँपालिका–९ स्थित बोक्सिकुनामा खोलाले करिब २०० मिटर सडक कटान गरेको छ। यस्तै, रोशी गाउँपालिका–७ को घुमाउनेमा १५ मिटर र नमोबुद्ध नगरपालिका–६ चौकीडाँडामा करिब २० मिटर सडक बगाएको छ।
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले असोज १८ देखि २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको चेतावनी जारी गरेसँगै गृहमन्त्रालयले विपद् व्यवस्थापनका लागि ८ बुँदे निर्देशन जारी गरेको छ।
शनिबार अपराह्न गृहमन्त्री ओम प्रकाश अर्यालले प्रमुख जिल्ला अधिकारीहरूसँग भर्चुअल बैठक गरी सम्भावित जोखिमको मूल्याङ्कन र व्यवस्थापनका लागि निर्देशन दिएका हुन् ।
आगामी २४ घण्टासम्म निरन्तर वर्षाले गत वर्षको जस्तै बाढी र डुबानको जोखिम निम्त्याउन सक्ने अनुमान गरिएको छ । बागमती नदी र यसका सहायक नदीहरूमा जलस्तर तीव्र रूपमा बढेको छ । ललितपुरको खोकना जलमापन केन्द्रमा बागमती नदीको जलस्तर सतर्कता तह ३.५ मिटर पार गरी ३.५८ मिटर पुगेको छ। मनोहरा खोलाको बालकुमारी केन्द्रमा जलस्तर सतर्कता तह ४.४ मिटर पार गरेको छ भने नख्खु खोलामा पनि जलस्तर तीव्र गतिमा बढिरहेको छ। हनुमन्ते खोला, विष्णुमति खोला, नख्खु खोलाको मेडिसिटी आसपास र तलका बस्तीहरू, कालिमाटी र बल्खु तरकारी बजार क्षेत्रमा डुबानको खतरा उच्च छ।
रौतहट। लगातारको वर्षाले गर्दा रौतहटको मौलापुर नगरपालिका–१, मर्यादपुर नजिक लाल बकैया नदीको बाँध फुटेपछि आसपासका बस्तीमा बाढी पस्ने उच्च जोखिम सिर्जना भएको छ।
जल तथा मौसम विज्ञान विभागले अविरल वर्षाका कारण नदीमा पानीको बहाव तीव्र गतिमा बढिरहेको र तल्लो भूभागका बस्ती डुबानमा पर्न सक्ने चेतावनी दिएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले बाँध फुटेको पुष्टि गर्दै अहिले पनि नदीमा पानीको प्रवाह खतराको सङ्केतभन्दा दुई मिटर मात्र तल रहेको जानकारी दिएका छन्। योसँगै मौलापुर-१ र २ सहित आसपासका कृषियोग्य जमिन र बस्ती डुबानमा पर्न सक्ने खतरा बढेको छ।
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनका लागि देशभरको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ। महाशाखाले शनिबार राति सार्वजनिक गरेको बुलेटिन अनुसार देशका विभिन्न भू-भागमा अझै पनि अविरल वर्षाको प्रभाव रहनेछ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानमा पूर्ण बदली रही बाँकी भू-भागमा साधारण बदली रहनेछ। ती प्रदेशका पहाडी र तराई भू-भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा पर्ने सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। कोशी, मधेश र बागमतीका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावना पनि रहेको विभागको भनाइ छ।
काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनारमा रहेका सुकुम्बासी बस्तीका स्थानीयलाई सुरक्षित ठाउँमा सारिएको छ । नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले काठमाडौँ महानगरपालिका–११ स्थित बागमती नदी किनारका स्थानीयलाई गुह्येश्वरी स्कुलमा स्थानान्तरण गरेको हो ।
गणेशदल गण र अन्य सुरक्षा निकायको संयुक्त टोलीले थापाथली स्थित बागमती किनारका बासिन्दालाई विद्यालयमा स्थानान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
त्यस्तै, टेकु दोभान स्थित सत्प्रयास वृद्धाश्रममा बसेका ज्येष्ठ नागरिकहरूलाई पनि त्यहाँबाट सारिएको छ । ज्येष्ठ नागरिकहरूलाई पचली भैरव मन्दिरमा स्थानान्तरण गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले बिदामा रहेका आफ्ना सकलदर्जालाई तत्काल कार्यालयमा हाजिर हुन सर्कुलर गरेको छ । अविरल वर्षाको कारण विपद्को जोखिम बढेसँगै उद्धारमा खटाउन सशस्त्र प्रहरीले सो सर्कुलर जारी गरेको हो ।
आफू कार्यरत ठाउँमा हाजिर हुन नसकेमा नजिकको सशस्त्र प्रहरीको जुनसुकै कार्यालयमा हाजिर हुन भनिएको सशस्त्र प्रहरीका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले जानकारी दिए । उनले भने, ‘नजिकैको सशस्त्र प्रहरीको जुनसुकै कार्यालयमा हाजिर भएर तत्काल उद्धारमा जुट्न भनिएको छ ।’
शुक्रबार रातिदेखि परेको पानी रोकिएको छैन । अझै केही दिन अविरल वर्षा हुने मौसम विज्ञान विभागले जनाएको छ ।
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अविरल वर्षाका कारण देशभर जनजीवन प्रभावित भएको भन्दै सबै तहका सरकारलाई प्रभावकारी रूपमा उद्धार, पुनःस्थापना र उपचारका काममा खटिन आग्रह गरेका छन्।
शनिबार जारी विज्ञप्तिमा अध्यक्ष लिङ्देनले वर्षातका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपद्को यस घडीमा सरकारको सक्रिय उपस्थिति आवश्यक रहेको बताएका छन्।
उनले भनेका छन्, 'प्राकृतिक विपदको यस घडीमा सबै तहका सरकारको प्रभावकारी उपस्थिति र सक्रियता अपेक्षित रहन्छ। बाढी, पहिरो र डुबानबाट पीडित नागरिकलाई उद्धार, पुनःस्थापना एवं उपचारको व्यवस्था गर्न राप्रपा सरकारको ध्यानाकर्षण गराउँछ।'
काठमाडौँ। मुलुक बाढी, पहिरो र वर्षाका कारण गम्भीर सङ्कटको सामना गरिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप यादवले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई उद्धार, राहत र सहयोगमा जुट्न निर्देशन दिएका छन्।
उपमहासचिव यादवले आज सामाजिक सञ्जालमार्फत एक अपिल जारी गर्दै प्राकृतिक विपद्का कारण जनधनको ठुलो क्षति हुन सक्ने खतरा औँल्याएका छन्। उनले जसपाका सबै नेता, कार्यकर्ता र पार्टी संरचनालाई जनताको सुरक्षालाई प्राथमिकतामा राखेर पूर्ण सतर्कताका साथ विपद् व्यवस्थापनमा सक्रिय हुन आग्रह गरेका छन्।
यादवले स्थानीय पार्टी कमिटीहरूलाई सम्बद्ध सरकारी निकायहरूसँग समन्वय गरी जोखिममा परेका नागरिकको उद्धार, राहत र संरक्षणको अग्रपङ्क्तिमा रहन अनुरोध गरेका छन्। उनले यस कठिन घडीमा जसपा परिवारका सदस्यहरूलाई एकताबद्ध भई सहयोग, सद्भाव र सशक्त उपस्थितिको पहिचान व्यवहारमा उतार्न आह्वान गरेका छन्।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले देशभर जारी अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी, पहिरो तथा डुबानको जोखिमलाई गम्भीर रुपमा लिँदै शनिबार साँझ विशेष सम्बोधन गरेकी छन्।
अझै दुई दिनसम्म वर्षा निरन्तर जारी रहने सम्भावना रहेको बताउँदै प्रधानमन्त्री कार्कीले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्।
हाल देशका धेरै नदी–नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको छ र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना बढेको छ। यस्तो अवस्थामा उनले भनिन्, 'यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आश्वस्त पार्न चाहन्छु कि सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिमा पनि उच्च मनोबलका साथ पूर्ण तयारीमा छन् ।'
काठमाडौँ । बीपी राजमार्ग स्थित काभ्रेको मंगलटारमा नदीले सडक कटान गरेको छ । स्थानीय मंगलटार खोलाले करिब २० मिटर सड्क कटान गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–११ मा पर्ने माम्तिखोला र कालढुंगामा पहिरो खसेको छ । रोशी गाउँपालिकामा वडा नम्बर–७ स्थित घुमाउनेमा पनि रोशीले सडक कटान गरेको छ । नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडामा नदीले सडक कटान गर्दा सवारी साधन आवतजावत पूर्ण रूपमा बन्द भएको छ ।
रोशी गाउँपालिकामा पर्ने लास्कोट, चारसयबेसी र नार्के लेदो खसेर सडक अवरुद्ध भएको छ ।
काठमाडौँ । काठमाडौँबाट बाहिरिने नाकाहरूबाट सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । टोखा–छहरे भन्दा बाहेक अन्यत्रबाट काठमाडौँ उपत्यका बाहिरिने सवारी सञ्चालनमा रोक लगाइएको हो ।
नागढुंगा, साँगा, फर्पिङ र भट्टेडाँडा लगायतका नाकाबाट उपत्यका बाहिर जाने सवारीलाई पूर्ण रोक लगाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयमा एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए । नुवाकोट तर्फ जाने नाका टोखा–छहरे सडक अवरुद्ध नभएको हुनाले सुचारु गरिएको छ ।
गए राति देखी परेको अविरल वर्षाको कारण काठमाडौँ बाहिर जाने नाकाबाट एम्बुलेन्स, उद्धार सामग्री बोकेका गाडी र सुरक्षाकर्मी चढेको सवारीलाई मात्र प्रस्थान अनुमति दिएको छ । एसपी सुवेदीले भने, ‘युनिफर्म लगाएका सुरक्षाकर्मी सवार गाडीहरूलाई मात्र उपत्यका बाहिर जान दिएका छौँ ।’
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काठमाडौँ उपत्यकाका नदी खोला किनारका सडक (करिडर सडक)मा साँझ ६ः०० देखि बिहान ६ः०० बजेसम्म सवारी आवागमनमा रोक लगाउन आग्रह गरेको छ ।
प्राधिकरणले आज एक सूचना जारी गर्दै काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको हो ।
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राजमार्गमा रोकिएका यात्रुलाई सुरक्षित स्थानमा राख्दै खानपान र स्वास्थ्योपचारलगायत आवश्यक बन्दोवस्त गर्न आग्रह गरेको छ ।
धादिङ । वर्षासँगै पृथ्वी राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत धादिङ खण्डका १६ स्थान पहिरोको जोखिममा परेका छन् ।
आज जिल्ला विपद् व्यवस्थापन समिति र प्राविधिक टोलीको संयुक्त अनुगमनले राजधानी भित्रिने प्रमुख राजमार्गका १६ स्थानमा पहिरो र सडक भासिने उच्च जोखिम पहिचान गरेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भेषराज रिजालले राजमार्गमा यात्रा गर्न सकिने अवस्था नभएकाले आआफ्नो स्थानमा सुरक्षित रहन आग्रह गरे । उनले सबैभन्दा बढी जोखिम बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोलामा देखिएको बताए ।
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भूभागमा अविरल भारी वर्षाका कारण दैनिक जनजीवन प्रभावित भइरहेको जनाउँदै नेपाल विभिन्न सेवा प्रदायक संस्था र मन्त्रालयलाई सम्पर्क गर्न अनुरोध गरेको हो ।
त्यसका लागि दूरसञ्चार कम्पनीको १४९८, एनसेलको ९००५, नेपाल दूरसञ्चार प्राधिकरणको ९८५१०८७४३२ र ९८४१३७६२०३ तथा मन्त्रालयको ९८४९०५३६६३ र ९८४१५२०११५ नम्बरमा सम्र्पक गर्न अनुरोध गरेको हो । सञ्चार मन्त्रालय र आवद्ध निकायका प्रतिनिधिबीच आज भएको छलफलले यस कठिन घडीमा सञ्चारसाधनलाई अवरुद्ध हुन नदिन र नागरिकलाई विपद्को समयमा सही सूचना प्रवाह गर्न थप तदरुकताका साथ कार्य गर्ने गरी आवश्यक तयारी गर्ने निर्णय गरेको छ ।