बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह

शनिबार, १८ असोज २०८२, २२ : ५०
शनिबार, १८ असोज २०८२

सारांश

  • मनाङ जिल्ला प्रशासनले भारी वर्षाका कारण पदयात्रामा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले थोराङ्ला पास, लार्के पास लगायतका स्थानमा पदयात्रा नगर्न अनुरोध छ।
  • विपद् व्यवस्थापनका लागि उपकरण र जनशक्ति परिचालन गरिएको छ, साथै चामे-बेशिसहर सडक खण्ड तीन दिनका लागि बन्द गरिएको छ।

मनाङ । जिल्ला प्रशासन कार्यालय मनाङले निरन्तर वर्षा भइरहेकाले सम्भावित जोखिमलाई मध्यनजर गरी पदयात्रा गर्दा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 

आज एक सूचना जारी गरी प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले  शुक्रबार रातिदेखि परिरहेको अविरल वर्षाका कारण उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् । 

‘वर्षातका कारण उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गर्दै यस जिल्ला वा यहाँबाट गरिने थोराङ्ला पास, लार्के पास, कालापास, लमजुङ  हिमाल आरोहणका साथै तिलिचो ताल, आइसलेक लगायतका स्थानको पदयात्रामा उच्च सतर्कता अपनाउन जिल्ला सुरक्षा समिति मनाङ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटकमा अनुरोध गर्दछ’, सूचनामा भनिएको छ । 

माथिल्लो मनाङमा विपद् पुर्वतयारी र उद्धारको लागि आवश्यक उद्धार उपकरण, आवश्यक स्वास्थ्य सामग्री, स्वास्थ्यकर्मीसहितको सुरक्षाका लागि थप जनशक्तिसमेत परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी पौड्यालले बताए ।

साथै, पदयात्रामा निस्कनुअघि वा पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाई वा सुरक्षा निकाय, स्थानीय प्रशासनमा सम्पर्क गर्न अनुरोध गरिएको छ । 

यसैबिच आगामी तीन दिनका लागि चामे-बेशिसहर सडक खण्ड बन्द गरिएको पनि कार्यालयले जनाएको छ । निरन्तरको वर्षापछिको जोखिमलाई ध्यान दिँदै जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २० गतेसम्मका लागि सडक बन्द गरिएको जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप