शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

हवाई यात्रुको चाप बढेपछि भरतपुर विमानस्थलबाटै बस सेवा

आइतबार, १९ असोज २०८२, १३ : २७
आइतबार, १९ असोज २०८२

सारांश

  • भरतपुर विमानस्थलमा हवाई यात्रुको चाप बढेपछि काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ।
  • शनिबार हवाई सेवा अवरुद्ध भएपछि यात्रुको चाप बढेको थियो, जसका कारण प्रशासनले बसको व्यवस्था गर्यो।
  • प्रमुख जिल्ला अधिकारीको पहलमा यातायात व्यवसायीसँग समन्वय गरी यात्रुलाई बसबाट पठाउने व्यवस्था मिलाइयो।

चितवन । हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौँका लागि बसको व्यवस्था गरिएको छ । विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौँ पठाइएको हो । 

शनिबार हवाई सेवा अवरुद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्याधिक बढेको थियो । काठमाडौंँ जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्याधिक बढेको हो । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएका हुन् । एउटा माइक्रोबसले यात्रु लिएर गएको छ भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए ।

उनले भने, ‘यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौँ ।’ अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उनले बताए ।

बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्रसमेत बनाइएको उनले जानकारी दिए । नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ । पृथ्वी राजमामर्गको चितवन खण्ड पनि खुल्ला रहेको छ ।

धादिङमा खसेको पहिरो पन्छ्यएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उनले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए । प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप