कसरी भयो इलाममा यति ठुलो मानवीय क्षति ?
विराटनगर । अविरल वर्षापछि आएको बाढी र पहिरोमा परी इलाममा मात्रै ३७ जनाको मृत्यु भएको छ । इलामको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार अझै १ जना बेपत्ता छन् भने २० जना घाइते भएका छन् ।
इलामका ७ वटा स्थानीय तहमा ठुलो मानवीय क्षति भएको हो । पहिरोले घरहरू पुरिँदा र बगाउँदा सुतिरहेका अवस्थामा धेरैले ज्यान गुमाए । प्राप्त विवरणअनुसार सबैभन्दा बढी क्षति देउमाई नगरपालिका र माईजोगमाई गाउँपालिकामा भएको छ । दुवै पालिकामा ८–८ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, इलाम नगरपालिका र सन्दकपुर गाउँपालिकामा ६–६ जनाले ज्यान गुमाएका छन् । सूर्योदय नगरपालिकामा ५ जना, माङ्सेबुङ गाउँपालिकामा ३ जना र फाकफोकथुम गाउँपालिकामा १ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु हुनेहरूमा १७ जना पुरुष र २० जना महिला रहेका छन् ।
यसैगरी इलाम नगरपालिकामा एक जना बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको छ । घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाहरू उद्धार कार्यमा खटिएका छन् । वर्षा नरोकिएको र भौगोलिक विकटताका कारण उद्धारमा कठिनाइ भइरहेको प्रमुख जिल्ला अधिकारी नेपालको भनाइ छ ।
अप्रत्याशित ठाउँमा ठुलो क्षति भयोः प्रजिअ नेपाल
अविरल वर्षाका कारण इलाममा गएको पहिरोले ठुलो मानवीय र भौतिक क्षति पुर्याएको छ । हालसम्मको विवरणअनुसार ३७ जनाको मृत्यु, १ जना बेपत्ता र २० जना घाइते भएका छन् । यसै सन्दर्भमा, विपद्को अवस्था, उद्धार, राहत र आगामी योजनाबारे इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालसँग गरिएको कुराकानीको सम्पादित अंशः
इलाममा बाढी र पहिरोले पुर्याएको क्षतिको पछिल्लो अवस्था के छ ?
– अहिलेसम्मको विवरणअनुसार ३७ जनाको मृत्यु भएको छ, एक जना बेपत्ता हुनुहुन्छ र २० जना घाइते हुनुहुन्छ ।
ठुलो पानी पर्छ भनेर केही पूर्वतयारी त थियो होला, यति ठुलो मानवीय क्षति कसरी हुन पुग्यो ?
– हो, तयारी थियो । तर यो घटना रातिको समयमा भयो । अविरल वर्षा हुँदा अधिकांश मानिसहरू घरमा सुतिरहनुभएको थियो, जसकारण उहाँहरूले भाग्न पनि पाउनुभएन । यसले गर्दा मानवीय क्षति बढी हुन गयो ।
पहिरो गएका ठाउँहरू पहिलेदेखि नै जोखिमयुक्त भनेर पहिचान गरिएका थिए ?
– थिएनन् । जहाँ–जहाँ घटना भएको छ, ती ठाउँहरू त्यस्तो एकदमै जोखिमयुक्त क्षेत्र भनेर चिनिएका थिएनन् । सदरमुकाम नजिकैको क्षेत्रमा समेत घर भत्किएको छ । १३ वटा विभिन्न ठाउँमा पहिरो जाँदा यो क्षति भएको हो ।
_arRGWgXT5i.jpg)
अहिले मौसमको अवस्था कस्तो छ ? पानी परेको छ कि रोकिएको छ ?
– पानी त बिहान ८ बजेदेखि नै परेको छैन । तर, इलाम अझै पनि जोखिम क्षेत्रभित्रै परेकोले हामी सतर्क छौं । राति फेरि पानी पर्यो भने समस्या हुन सक्छ ।
विपदमा परेकाहरूको उद्धार र राहतका लागि के–कस्ता कामहरू भइरहेका छन् ?
– तत्काल राहतको लागि पालिकाहरूले काम गरिरहनुभएको छ । जोखिममा रहेका परिवारहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने, उहाँहरूको खानपिनको व्यवस्था गर्ने जस्ता कामहरू सम्बन्धित पालिकाले नै गरिरहनुभएको छ । हामी उहाँहरूसँग निरन्तर सम्पर्कमा छौं ।
यातायात र सडकको अवस्था के छ ? उद्धार तथा राहतमा यसले कस्तो असर पारेको छ ?
– अवस्था निकै अप्ठ्यारो छ । धेरै ठाउँमा ठुलाठुला पहिरो गएका छन् । कतै त बाटो नै पूरै बगाएको छ । त्यसैले हामीले राजमार्गहरू खुलाउन सकेका छैनौं । भोलि दिनभर पनि बाटो बन्द नै रहनेछ ।
क्षतिको यकिन विवरण संकलन र आगामी योजना के छ ?
– हामीले क्षतिको द्रुत लेखाजोखा गर्नका लागि पालिकाहरूलाई पत्राचार गरिसकेका छौं । बाटोघाटोका कारण सबै ठाउँमा पुग्न नसकिए पनि भोलिबाट रेडक्रस, प्रहरी र पालिकाका प्रतिनिधिहरूको टोलीले विवरण संकलनको काम सुरु गर्नेछ । सोही रिपोर्टका आधारमा थप राहत र पुनर्स्थापनाका काम अघि बढाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण