शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ध्वस्त कलंकी मालपोत

कलंकी मालपोतअन्तर्गत सबै जग्गाधनीले नयाँ स्रेस्ता बनाउनुपर्ने, शुल्क पनि लाग्ने

मङ्गलबार, २१ असोज २०८२, १८ : १९
मङ्गलबार, २१ असोज २०८२

सारांश

  • कलंकी मालपोत कार्यालयले जग्गाधनीहरूलाई जग्गाको नयाँ स्रेस्ता कायम गर्न सूचना जारी गरेको छ।
  • भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा मालपोत कार्यालयमा आगजनी हुँदा स्रेस्ता जलेर नष्ट भएका थिए।
  • नयाँ स्रेस्ता कायम गर्न जग्गाधनीले तोकिएको कागजातसहित निवेदन पेश गर्नुपर्नेछ र शुल्क तिर्नुपर्नेछ।

काठमाडौँ । कलंकी मालपोत कार्यालय अन्तर्गत जग्गा भएका सम्पूर्ण जग्गाधनीले आफ्नो जग्गाको नयाँ स्रेस्ता कायम गर्नुपर्ने भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय कलंकीले सूचना जारी गर्दै सबै जग्गा धनीलाई स्रेस्ता कायम गर्न भनेको हो । 

‘दैनिक सेवा प्रवाह बन्द रहेकोले सेवा प्रवाह पुनः सुचारु गर्न नष्ट भएका जग्गाधनी दर्ता स्रेस्ता तयार गर्न जग्गाधनी स्वयम् उपस्थित भई भूमि प्रशासन निर्देशिका २०८१ को दफा २१ अनुसार देहायको कागज प्रमाण सहित निवेदन पेस गर्नु पर्नेछ,’ कार्यालयको सूचनामा भनिएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा कलंकीस्थित मालपोत र नापी कार्यालयमा आगजनी गरिएको थियो । उक्त कार्यालय अन्तर्गत रहेका सबै कागजात अहिले जलेर नष्ट भएका छन् । प्रमाण नष्ट भएसँगै अब त्यसलाई ‘रिस्टोर गर्ने’ प्रयोजनको लागि यस्तो सूचना जारी गरिएको कार्यालयले जनाएको छ । 

स्रेस्ता कायम भनेको के हो ?

स्रेस्ता कायम भनेको कुनै जग्गाधनीको नाममा जग्गाको रजिष्ट्रेसन प्रक्रिया पूरा भएर सरकारी अभिलेख (स्रेस्ता किताब) मा आधिकारिक रूपमा नाम लेखिएको अवस्था हो । 

अहिले मालपोत कार्यालयमा रहेका सबै स्रेस्ता जलेको अवस्था छ । त्यसैले कार्यालयसँग सुरक्षित नभएकोले यस्तो गर्नुपरेको कार्यालयका प्रमुख मालपोत अधिकृत रबिन ढकाल बताउँछन् । 

‘हामीसँग कार्यालयमा कुनै पनि स्रेस्ता सुरक्षित रहेको अवस्था छैन । मालपोत ऐन र नियमावली अनुसार जग्गाको कारोबार गर्न स्रेस्ता कायम अनिवार्य छ । हामीसँग अनलाइन तथ्यांक सुरक्षित भए पनि कानून अनुसार नयाँ स्रेस्ता बनाउनुपर्ने भएकोले यो सूचना जारी गरिएको हो,’ ढकाल भन्छन्, ‘तोकिएको कागजात लिएर उहाँहरूले जग्गाको स्रेस्ता पुनः कायम गर्न सक्नुहुन्छ ।’

शुल्क जग्गाधनीले नै तिर्नुपर्ने

जेनजी आन्दोलनका कारण भएको क्षतिले नयाँ स्रेस्ता कायम गर्नुपर्ने भए पनि शुल्क भने जग्गाधनीले नै तिर्नुपर्ने भएको छ । प्रमुख मालपोत अधिकृत ढकालका अनुसार प्रदेश सरकारले तोके बमोजिमको शुल्क तिरेरै नयाँ श्रेष्ता कायम गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । 

‘जग्गाको कारोबार गर्न लाग्ने शुल्क प्रदेश सरकारको आर्थिक ऐनमा तोकिएको हुन्छ, त्यही अनुसार शुल्क तिरेर बनाउन सकिन्छ । यो शुल्क छुट दिनेगरी प्रदेश सरकारबाट निर्णय नभएकोले यो तिर्नुपर्ने अवस्था छ । तर यसको शुल्क धेरै छैन, २/३ सय रुपैयाँ तिरेर बनाउन सकिन्छ ।’

लालपुर्जा हराएको भए के हुन्छ ? 

कार्यालयले स्रेस्ता कायम गर्न १० प्रकारका प्रमाण आवश्यक रहने भनेको छ । ती प्रमाणहरू देहाय बमोजिम छन् । 

क‍) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
ख) जग्गा रहेको स्थानीय तहबाट भएको भोग सम्बन्धी र सम्बन्धित जग्गाधनी एकिन गर्ने स्थायी ठेगाना भएको स्थानीय तहको तीन पुस्ते फोटो टाँस सहितको सिफारिस ।
ग) जग्गाधनीसँग भएको सक्कल पुर्जा।
घ) जग्गाप्राप्तीको श्रोतमा लिखितबाट प्राप्त भएकोमा सक्कल लिखत, निर्णय मिसिलबाट प्राप्त भएकोमा सोको प्रमाणित प्रति ।
ङ) प्लट रजिष्ट्रर, फिल्डबुक, नक्सा ।
च) चालु आवको मालपोत बुझाएको रसिद ।
छ) जग्गा रोक्का रहेकोमा रोक्का राख्ने संस्थाको सहमति ।
ज) आवश्यकता अनुसार स्थलगत सर्जमिन ।
झ) आवश्यकता अनुसार ३५ दिने सार्वजनिक सूचना ।
ञ) गुठी जग्गाको हकमा गुठी संस्थानको सहमति पत्र ।
ट) अन्य प्रमाणहरु ।

यीमध्ये जग्गा धनी पुर्जा मालपोत कार्यालयबाटै उपलब्ध हुने डकुमेन्ट हो । यस्तो पुर्जा हराएमा कार्यालयमा रेकर्डको रूपमा रहेका प्रमाणका र लालपुर्जाको कार्यालय प्रतिका आधारमा आवश्यक प्रक्रिया पूरा गरी नयाँ जग्गाधनी पुर्जा बनाउनुपर्ने व्यवस्था छ ।

तर, कार्यालयमा स्रेस्ता र लालपुर्जाको प्रति नै नभएको अवस्थामा नयाँ जग्गाधनी पुर्जा कसरी बन्छ भन्ने सन्दर्भमा चासो छ । कार्यालय प्रमुख ढकालका अनुसार ती प्रमाणहरू अनलाइन रेकर्डमा राखिएकोले सम्पूर्ण रूपमा हराउने सम्भावना छैन । तर, पुराना दर्ता किताबमा गल्तीको सम्भावना भने रहेको उनको भनाइ छ । 

खासगरी २०७७ पुसपछि कारोबार भएका यस्ता जग्गाको हकमा पूर्ण रूपमा अनलाइनमा आधारित कारोबार भएकोले तथ्यांकमा गल्ती हुने अवस्था छैन । त्यसअघिको डकुमेन्टमा भने केही गल्ती हुनसक्ने सम्भावना हुन सक्छ । 

photo

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप