तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी
सारांश
- दाङका एक बादी समुदायका व्यक्ति तिहार नजिकिएसँगै मादल बनाउन र मर्मत गर्न व्यस्त छन्।
- उनले १२ वर्षको उमेरदेखि मादल बनाउन सुरु गरेका हुन् र यसै पेशाबाट परिवारको पालनपोषण गर्दै आएका छन्।
- उनको घरमा मादल किन्न र मर्मत गर्न घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पा लगायतका स्थानबाट मानिसहरू आउने गर्छन्।
दाङ । कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर । घरको सानो आँगन साना र ठुला मादलले भरिएको छ । त्यसैका छेउमा एकाबिहानै चित्रे बादी मादलमा एकनासले खरी भरिरहेका छन् ।
घोराही उपमहानगरपालिका–१७ पचुर्खाका बादीको मादल बनाउने र मर्मत गर्ने व्यस्तता तिहार नजिकिएसँगै थपिएको हो । उनका अनुसार अरू समयमा भन्दा तिहारमा मादलको माग बढ्छ । तिहारमा हुने मादल बिक्रीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।
आफूले मादल मर्मत गर्नेदेखि नयाँ मादल पनि बनाउँदै आएको उनले सुनाए । “बुवा गुइँठे बादी मादल बनाउनुहुन्थ्यो, उहाँकै सिको गरेर मैले पनि १२ वर्षको उमेरदेखि मादल बनाइरहेको छु”, ७० वर्षे बादीले भने । उनका अनुसार हिजोआज त बिहान उज्यालो भएदेखि बेलुकैसम्म मादलको काम भ्याइनभ्याइ छ । यही पेसबाट आफूले चार छोरा र दुई छोरी हुर्काएको र यसैबाट घर खर्च चलाएको पनि उनले उल्लेख गरे ।
तिहारमा देउसी भैलो खेल्नेहरू हरेक वर्ष जसो उनको घरमा नयाँ मादल किन्न, मादलमा खरी हाल्न, मादल कस्न र छाला फेर्न आउँछन् । नयाँ मादलको आकारअनुसार रु सात हजारदेखि १५ हजारसम्ममा बिक्री हुने गरेको उनले सुनाए ।
उनको घरमा घोराही, तुलसीपुर, नारायणपुर, लमही, प्युठान र रोल्पालगायतबाट स्थानबाट मादल खरिद गर्न मानिस आउने गरेका छन् ।
उनलाई काममा श्रीमती भूमि बादीले सहयोग गर्नुहुन्छ । आफूलाई नयाँ मादल बनाउन नआएपछि श्रीमानको काममा सहयोग गरिरहेको भूमि बादीले सुनाए । आफूले खरी बनाउन, छाला काट्नेलगायतका काममा सहयोग गरिरहेको बताए । उनको परिवारमा कान्छो छोरा पनि मादल बनाउन सिकेको उनको भनाइ छ ।
उनी मादल बनाउन खिर्रो, मौवा, मलेतो, खमारीलगायतका काठको प्रयोग गर्नुहुन्छ । मौवा र खमारीको काठमा स्वर राम्रो सुनिने उनको अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण