बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अन्तरवार्ता

ओली सरकारमा रहेको कारणले भोग्नुपर्ने सजाय भोग्न तयार छु ः प्रदीप पौडेल

‘देउवा तीन महिनाभन्दा बढी समय सभापति रहने स्थिति छैन’
बुधबार, २२ असोज २०८२

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले शेरबहादुर देउवा अब तीन महिना मात्र नेपाली कांग्रेसको सभापति रहने दाबी गरेका छन् । एक महिना पनि कार्यकाल लम्ब्याउन सम्भावना नरहेको भन्दै नेता पौडेलले अबको तीन महिनाभित्र पार्टीको महाधिवेशन भएरै छाड्ने दाबी गरे । उनले सकेसम्म पार्टी सभापतिले नै महाधिवेशनको मिति तोक्ने, नभए आउँदो केन्द्रीय समितिको बहुमतले महाधिवेशनमा जाने निर्णय गर्ने आशा व्यक्त गरे । 

बुधबार रातोपाटीसँग कुरा गर्दै उनले महाधिवेशन प्रतिनिधिको सत्तरी प्रतिशत हस्ताक्षर पुग्ने दाबी पनि गरे । सबै कमजोरीको दोष सभापति मात्र नहुने भन्दै महामन्त्रीहरूको पनि कमजोरी रहेको उनको भनाइ छ । जेनजी आन्दोलन उत्कर्ष पुगेको भदौ २३ गते साँझ बसेको मन्त्रिपरिषद् बैठकमा कसले के भनेका थिए ? महाधिवेशनपछिको सभापति को हो ? कांग्रेस चुनावमा जान्छ कि संसद् पुनर्स्थापनाका लागि लाग्छ ? तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने माग भइरहेका बेला त्यही मन्त्रिपरिषद्को एक जना सदस्य तपाईं पनि दोषी हो कि होइन ? लगायत विषयमा पौडेलसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश–

  • २३ गते बेलुकाको मन्त्रिपरिषद्को बैठकमा के भएको थियो ?

त्यो बेलाको मन्त्री नै हो म । अब त्यो मर्यादालाई ख्याल गर्नुपर्ने पनि हुन्छ होला । तर पनि मलाई के लाग्यो भने राज्य संयन्त्रलाई कुनै पनि सूचना नहुँदो रहेछ । पब्लिक अडिटका लागि पनि मैले भन्न खोजेको हो । केही पनि सूचना हुँदो रहेनछ ।

  • १९ जना आन्दोलनकारी मारिएको, आन्दोलनको विषय, आन्दोलनकारीको मागका विषयमा केही कुरा भएन ?

त्यो घटनाप्रति जुन गम्भीरता, संवेदनशीलता हामीहरूको हुनुपर्थ्यो त्यो भएजस्तो देखिएन । त्यसमा म क्षमा माग्न चाहन्छु । त्यसलाई जुन ढङ्गले सम्बोधन गर्नुपर्थ्यो, त्यो सम्बोधन गर्ने सवालमा हामीहरू चुकेकै हो ।

  • आन्दोलनकारीको मागबारे त तपाईं स्पष्ट नै हुनुहुन्थ्यो नि ?

एकदमै स्पष्ट । त्योबारे मैले नै प्रश्न उठाएको हो । दर्ता गर्न आएनन् भनेर सामाजिक सञ्जाले बन्द गर्नु हुँदैन भनेर पहिलेदेखि नै भन्दै आएको थिएँ र त्यो दिनको मन्त्रिपरिषद्को बैठकमा खोल्नुपर्छ होइन भने राजीनामा दिन्छु समेत भनेँ । त्यही दिन  सामाजिक सञ्जाल पनि खुल्यो खुल्नलाई । 

  • तर प्रधानमन्त्रीले त मान्नुभएको थिएन रे हो ? 

 प्रधानमन्त्रीज्यूले पत्र लेख्यौँ, उनीहरूले हामीले लेखेको पत्रलाई यसरी जवाफ दिए । उनीहरूले नेपालको नीति, नियम, कानुन त मान्नुपर्‍यो नि त भन्ने जिकिर चाहिँ प्रधानमन्त्रीज्यूको थियो ।

  • दिउँसो मान्छे मरेको कुराचाहिँ उठेन ? कि थाहै भएन ? 

गृहमन्त्रीज्यूले घटना विवरण प्रस्तुत गर्नुभन्दा पहिले नै राजीनामा दिनुभयो । २३ गतेको घटनाको छानबिन गनाउन समिति गठन गर्ने कुरा पनि भएको थियो । करप्सनको विषयमा जेनजीसँग मिलेर, सहकार्य गरेर अगाडि बढ्ने निर्णय गर्ने भन्ने कुरा पनि भएको थियो । मृतकको परिवारलाई क्षतिपूर्ति दिने सम्मका कुराहरू पनि भएको थियो । तर किन हो बाहिर आएन । 

555162195_1850637289222233_239647193523166012_n

  • त्यत्तिका मान्छे मरिसकेपनि तत्काल राजीनामा दिनुपर्छ भन्ने तपाईंलाई लागेन ?

सामाजिक सञ्जाल खोल्नुपर्ने विषय उठाएँ । सामाजिक सञ्जाल खुल्ने सहमति भयो । आफूले भनेको कुरा पूरा भइसकेपछि राजीनामा गर्ने बाटो बनाउने कुरा अप्ठ्यारो भयो । राजीनामा गर्ने मेरो मनस्थिति नबनेको होइन । मनस्थिति बन्दाबन्दै पनि त्यो कुरा त्यतिबेला गर्न सकिएन । त्यसमा म क्षमा माग्न चाहन्छु । फेरि सामाजिक सञ्जालमा सार्वजनिक गरेर राजीनामा हुन्छ भन्ने कुरा मेरो दिमागमा आएन । प्रधानमन्त्रीज्यूकहाँ राजीनामा दिन हिँडेको त्यहाँ पुग्नै सकिनँ ।

  • त्यत्रो घटना भएपछि प्रधानमन्त्रीकै राजीनामा माग्न पनि त सक्नुहुन्थ्यो नि ?

मेरो राजीनामा पत्रको अन्तिममा लाइनमा प्रधानमन्त्रीज्यूलाई राजीनामा गरेर मार्ग प्रशस्त गर्न अनुरोध गरेको आशय थियो । तर म त्यहाँ पुग्नै सकिनँ । अनि पछि कसैले मलाई सुझाए, फेसबुकबाट सार्वजनिक गर भनेर सुझाएपछि मात्रै मैले चाहिँ राजीनामा सार्वजनिक गरेँ ।

  • कांग्रेस–एमालेको दुई तिहाइ नजिकको बलियो सरकारले कामै गर्न नसकेर यस्तो स्थिति हुनु भनेको कति लज्जास्पद कुरा हो यो ? 

हाम्रो लोकतन्त्र गणितीय आधारमा मात्रै चल्यो । हाम्रो लोकतन्त्र सिद्धान्तको आधारमा, विचारको आधारमा, नागरिकलाई डेलिभर गर्ने आधारमा चल्न सकेन । यो कुरा हामीले स्वीकार गर्नुपर्छ । अंक गणित नागरिकको सेवा गर्नका लागि हो । हामीले अंकगणित पुर्‍याउँदै रह्यौँ तर नागरिकको सेवा गरेनौँ । कांग्रेस र एमाले मूल रूपमा मिलेको त संविधान संशोधन गर्नका लागि हो नि । तर १४ महिनासम्म त्यो कामको सुरुवातै भएन । 

  • केपी ओली नेतृत्वको सरकारसँग जनता मात्र होइन सुरक्षा निकाय, कर्मचारी कोही सन्तुष्ट रहेनछन् हैन त ? 

असन्तुष्टिको पक्षबाट भएको नि हुनसक्छ । क्षमता नभएको कारणले भएको पनि हुनसक्छ । यो दुईभन्दा अर्को तेस्रो कारण देखिँदैन । तर सुरक्षा अंगले सूचना अथवा जानकारी कहाँसम्म दिन्छ ? अनुमति कहाँबाट लिन्छ ? कुन अवस्थामा गोली चलाउँछ ? यी कुराहरू पनि त्रुटिपूर्ण छन् भने त्यसलाई सच्याउनका निम्ति पनि त्यसको छानबिन हुनुपर्छ ।

  • यो आन्दोलनबारे तपाईंको टिप्पणी के हो ? तत्कालीन प्रधानमन्त्रीले त विदेशी षड्यन्त्र हो भन्नुभएको छ । 

जेनजीहरूको आन्दोलन थियो । मुद्दा सही थिए । आन्दोलन पनि मर्यादित र संयमित थियो । २३ गते जुन घटना भयो, त्यो घटनाको दोषी जेनजीभन्दा सरकार हो । अब त्यो (केपी ओली नेतृत्वको) सरकारमा रहेको कारणले मैले भोग्नुपर्ने सजाय म भोग्न तयार छु । एकै दिन १९ जनाको जुन सहादत भयो, त्यो चाहिँ इतिहासमै गम्भीर विषय हो । त्यति छोटो समयमा त्यति जनाको ज्यान आजसम्म कहिल्यै कहीँ पनि गएको छैन ।

  • यो त २३ गतेको कुरा भयो । २४ गतेको घटनाको जिम्माचाहिँ कसले लिने त ?

२४ गतेको घटनाको सन्दर्भमा चाहिँ आन्दोलनको आयोजक जेनजी हो, त्यसको अर्थ जेनजी दोषी हो मैले भन्दिनँ । जेनजीका ती कोमल हातहरूबाट त्यो हिंसा हुनै सक्दैन । जेनजीको आन्दोलनभित्र छिरेर कसले स्वार्थको रोटी सेक्यो, त्यसको पनि छानबिन हुनुपर्छ ।

  • राष्ट्रपति कार्यालय, सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, प्रधानमन्त्री कार्यालय, प्रधानमन्त्री निवास सबै जल्दा पनि किन कसैले रोकेन होला ?  तपाईंलाई के लाग्छ?

मैले पनि नबुझेको कुरा हो यो । सिंहदरबारको सुरक्षाका निम्ति खटिएको गणले पनि सिंहदरबारमै आगो लागिसक्दा पनि आदेश लिनुपर्छ र ? शान्तिपूर्ण ढङ्गबाट, क्षति नहुने गरी बचाउने कोसिस गर्नुपर्छ, हैन ? म नै अचम्म परिरहेको छु ।

  • निर्देशन नभएर रे नि त !

त्यस्तो अवस्थामा सुरक्षा परिषद् बसेर निर्देशन दिनुपर्ने आजको कानुनी व्यवस्था हो भने त्यसलाई संशोधन गर्नुपर्‍यो । नत्र भने त यस्ता सम्पत्ति त जोगिनै सक्दैन । यत्रो सुरक्षा अङ्ग छ, यत्रो मेकानिजम छ राज्यको, हैन ? एउटा नागरिकले राज्यभित्र सुरक्षा प्राप्त गर्न सक्दैन भने अनि राज्यले नागरिकलाई के दिएको मान्न मिल्छ त ?

  • तपाईंलाई नेपालको इतिहासमा कलङ्कित मन्त्री भइयो भन्ने लाग्छ कि लाग्दैन ?

अब त्यो सरकार जहाँ म मन्त्री थिएँ त्यो सरकारकै बेलामा यो घटना भइसकेपछि त्यो घटनासँग त जोडिनुपर्‍यो ।

  • त्यतिखेरका प्रधानमन्त्री, गृहमन्त्रीलाई पक्राउ गरिनुपर्छ भन्ने माग उठिरहेको छ । यो सिलसिला अघि बढ्दै गयो भने त तपाईं पनि पर्नुहुन्छ होला नि ?

कानुनी राज्यभित्र छानबिन गर्ने सन्दर्भमा ती कुराहरू पनि आवश्यक देखिन्छन् भने त्यसको लागि तयार हुनुपर्छ । तर पूर्वाग्रही ढङ्गबाट कारबाहीहरू गरिने स्थिति भयो भनेचाहिँ त्यो स्वाभाविक हुँदैन । त्यस्तो दोषी देखिए सजाय भोग्न तयार छु ।

  • अब पार्टीमा नेतृत्व हस्तान्तरण, पुस्तान्तरणको सम्भावना कति छ ? कि पहिलेजस्तै कराउने तर परिणाम केही नआउने हुन्छ ?

अहिलेको नेतृत्व अब रहँदै, रहँदैन । विधिवत् रूपमा नै यो नेतृत्व रहँदैन ।

  • भनेको नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा अब रहनुहुन्न ?

अबको तीन महिनाभित्र कि त नेपाली कांग्रेसको नियमित अधिवेशन हुन्छ कि विशेष अधिवेशन हुन्छ । त्यो दुवै प्रक्रिया अगाडि बढ्दै गर्दा अहिलेको हाम्रो आदरणीय सभापतिज्यू तीन महिनाभन्दा बढी समय सभापति रहने स्थिति हुँदैन ।

  • भनेको अब तीन महिना रहनुहुन्छ ?

उहाँहरूले लामो समय सत्ता चलाएको कारणले नागरिक समर्थन उहाँहरूप्रति छैन । त्यस आधारमा हामीले हाम्रो आदरणीय सभापतिज्यूलाई यो अधिवेशनकै प्रक्रिया अगाडि बढाउँदा पनि प्रक्रियागत ढङ्गबाट कार्यवाहक दिएर सम्मानजनक ढङ्गबाट बाहिरिनुस् भन्ने हाम्रो आग्रह छ ।

  • अब हुँदा विशेष अधिवेशन हुन्छ कि नियमित अधिवेशन ?

सबभन्दा बढी सम्भावना चाहिँ नियमित अधिवेशन हुन्छ । 

  • यति छोटो समयमा नियमित महाधिवेशन गर्न सक्ने सम्भावना रहन्छ र ?

गिरिजाप्रसाद कोइरालाले २०६० सालमा घोषणा गरेको ६० दिनमा उहाँले महाअधिवेशन सम्पन्न गराउनुभएको इतिहास पनि छ हामीसँग । अहिले त हामीसँग ९० दिन हाराहारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया