बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
खेलकुद

देशको एउटै मात्र अन्तर्राष्ट्रिय फुटबल रंगशाला, तर पटक पटक अयोग्य

बिहीबार, २३ असोज २०८२, ११ : ४४
बिहीबार, २३ असोज २०८२

सारांश

  • नेपाली राष्ट्रिय फुटबल टोलीले दुई वर्षदेखि घरेलु मैदानमा खेल्न पाएको छैन, जसका कारण खेलाडीहरू निराश छन्।
  • एएफसीले दशरथ रंगशालाको सुरक्षा मापदण्ड नपुगेको भन्दै खेल खेलाउन अयोग्य ठहर गरेको छ।
  • दशरथ रंगशालामा पिचको अवस्था, फ्लड लाइट र प्रवेशद्वारको समस्याका कारण अन्तर्राष्ट्रिय खेलहरू हुन सकेका छैनन्।

काठमाडौँ । कुनै पनि देशको राष्ट्रिय टोलीले आफ्नो देशमा फुटबल खेल्न पाउनु गर्वको कुरा हो । घरेलु समर्थकको माझमा खेल पस्किन पाउनु खेलाडीका लागि खुसीको कुरा हो । 

तर, नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका लागि यो अवसर पछिल्लो दुई वर्षदेखि मिलेको छैन । नेपालको एक मात्र अन्तर्राष्ट्रियस्तरको दशरथ रंगशालमा एसियाली फुटबल महासंघ (एएफसी)बाट पटक–पटक अयोग्य बनेको छ, जसका कारण घरेलु मैदानमा नेपाली टोलीले खेल देखाउन पाएको छैन । 

नेपाली राष्ट्रिय फुटबल टोलीका उप–कप्तान रोहित चन्दले घरेलु रंगशालामा खेल्न नपाउँदा दुख लागेको बताए । एएफसी एसियन कप छनोट, विश्वकप फुटबल छनोटलगायत खेल घरेलु मैदानमा नहुनु दुःखद् भएको उनको भनाइ छ । 

‘दुई वर्ष धरै भयो घरेलु मैदानमा हामीले खेल खेल्न नपाएको, यो टिमका लागि सकारात्मक कुरा होइन,’ चन्दले भने । 

घरेलु रंगशाला तयार हुन नसक्दा राष्ट्रिय फुटबल टोली विदेशी भूमिमै खेल्न बाध्य छ । 

मलेसियासहित भियतनामविरुद्ध हुने एसिया कपको छनोट खेल दशरथ रंगशालामा हुने तय गरिएको थियो, समूह एफमा रहेको नेपालले पहिलो खेल मलेसियाविरुद्ध घरेलु मैदानमै खेल्ने तय थियो । तर एएफसीले दशरथ रंगशालाको सुरक्षा मापदण्डलाई कमजोर ठान्यो र खेल गराउन नसक्ने बतायो । 

रंगशालाको पिचको अवस्था, फ्लड लाइट ठिक नरहेको एएफसीले निष्कर्ष निकालेपछि मलेसियासँग घरेलु मैदानमा खेल भएन । नेपाली टोलीले यसअघि पनि विश्वकप छनोट अन्तर्गतका विभिन्न खेलहरू विदेशी भूमिमा खेलेको छ । 

नेपाली टोली अहिले भियतनाममा छ । बिहीबार साँझ भियतनामविरुद्ध नेपाली टोली मैदान उत्रिँदै छ । अर्थात् आफ्नो भूमिमा खेल्न नपाउँदा नेपाली टोलीको प्रदर्शनमा असर पर्न सक्छ । 

एएफसीले आफ्ना खेलहरू अर्को निर्णय नआएसम्म दशरथ रंगशालामा खेल्न नपाउने निर्णय गरेको छ । जसअनुसार नेपालले दशरथ रंगशालामा एसिया कप छनोटका खेलहरू (भियतनाम र मलेसियाविरुद्ध) खेल्न नपाउने भएको हो । 

नेपालले गत वर्ष चैतमा एसिया कप छनोट (तेस्रो चरण) अन्तर्गत मलेसियाविरुद्ध उसकै मैदानमा गएर खेल्यो । तर मलेसियाको होम म्याच नेपालमा खेलाउने सहमति भए पनि त्यो वातावरण यहाँ बनेन । 

किन पटक–पटक नेपालका रंगशाला अयोग्य ?

नेपालमा फिफा विश्वकप छनोट, एसिया कप कप छनोट लगायत खेलहरू नेपालको एक मात्र अन्तर्राष्ट्रिय रंगशालामा हुने गर्छ, जसलाई राखेपअन्तर्गत एन्फाले गर्दै आएको छ । 

दशरथ रंगशालामा दक्षिण एसियाली महासंघ (साफ) महिला च्याम्पियनसिप, चार राष्ट्र सहभागी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल, विभिन्न मैत्रीपूर्ण खेलहरू भने आयोजना भए । तर, पुरुषतर्फका मुख्य प्रतियोगिताहरू हुन सकेका छैनन् । 

नेपाली राष्ट्रिय फुटबल टोलीले गत भदौ २१ गते दशरथ रंगशालामा बंगलादेशको टोलीसँग मैत्रीपूर्ण खेल खेल्न पायो, जुन दुई वर्षपछि हो । 

तर दशरथ रंगशालामा आधिकारिक अन्तर्राष्ट्रिय खेल खेल्न नमिलेको यो पहिलो पटक भने होइन, एएफसीले रंगशालामा मुख्यतः पिचको अवस्था, सुरक्षा र फ्लड लाइटको कारण देखाएर यहाँ खेल नै हुन अयोग्य ठहर गरिदिएको छ । 

यति मात्र नभई रंगशालाको मुख्य प्रवेशद्वार नै मापडण्डअनुसार नभएको एएफसीको दाबी छ । मुख्य प्रवेशद्वारबाट भीआईपी, मिडिया र दर्शक पनि छिर्न पाउँछन्, खेलाडी पनि यसै गेटबाट आउजाउ गर्नुपर्ने भएकाले अत्यधिक भिड हुन्छ, यसलाई पनि एएफसीले खतरा मानेको छ । 

त्यस्तै रंगशालामा अटोमेटिङ वाटर सिस्टम नभएको, प्रोपर ड्रेनज नभएको जस्ता समस्या देखाइएको छ । 

रंगशालमा भदौ २१ गतेअघि नेपालले फिफा विश्वकप र एसियन कप छनोटअन्तर्गत दोस्रो चरणमा यमनविरुद्ध २०८० मंसिरमा खेलेको थियो ।

विश्वकप छनोटअन्तर्गत नै दोस्रो चरणमा नेपालले बहराइन र यूएईविरुद्ध घरेलु मैदानमा खेल्नुपर्ने थियो, तर नेपाली टोलीले विदेशमा गएर खेल्नुपर्‍यो । त्यसबेला पनि रंगशाला नै कारक बनेको थियो । बहराइनविरुद्ध उसकै देशमा र यूएईविरुद्ध नेपालले साउदी अरेबियामा खेल्न बाध्य हुनुपर्‍यो । 

यता एन्फाले पनि खेल आयोजना गर्दा त्यसबाट प्राप्त हुने रकम गुमेको छ । 

  • के भन्छन् एन्फा र राखेप ? 

अखिल नेपाल फुटबल संघ (एन्फा)सँग आफ्नै रंगशाला छैन । भएको यही दशरथ रंगशालामै भएजति खेलहरू उसले आयोजना गर्दै आएको छ । तर एन्फाले प्रतियोगिता आयोजना गर्दा स्वीकृत भने लिने गर्छ । 

एन्फालाई मैदानको पिच मिलाउने बाहेक कुनै अधिकार पनि छैन । रंगशालाको सम्पूर्ण अधिकार राखेपमा निहित भएकाले आफूहरूले स्तरोन्नतिका कुनै काम गर्न नसकेको एन्फा प्रवक्ता सुरेश शाह बताउँछन् । 

यता राखेप भने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रियाकलापका लागि रंगशालामा सबै प्रक्रिया पुगेको दाबी गर्छ । ‘हामीले गर्ने प्रतियोगिताका लागि सबै मापदण्ड पुगेको छ । स्तरोन्नतिका लागि पनि सोचेका छौँ । छिट्टै हुनेछ,’ राखेपका सदस्य सचिव टंकलाल घिसिङले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भुपेश उपाध्याय
भुपेश उपाध्याय

भुपेश उपाध्याय खेलकुद क्षेत्रमा आफ्नो कलम चलाउँछन् ।

लेखकबाट थप