शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विहारमा चुनाव

विहार विधानसभा चुनावमा नेपालको जेनजी आन्दोलनको प्रभाव कति ?

बिहीबार, २३ असोज २०८२, २० : ००
बिहीबार, २३ असोज २०८२

काठमाडौँ । आगामी नोभेम्बर ६ र ११ मा भारतको विहार राज्यमा विधानसभा चुनाव हुँदैछ । जसकारण त्यहाँको राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ । चुनावलाई लिएर भारतीय जनता पार्टी (बीजेपी)का शीर्ष नेता, प्रधानमन्त्री नरेन्द्र मोदीदेखि लिएर प्रतिपक्षी दल कांग्रेस आईका नेता राहुल गान्धी र अन्य दलसम्मका नेता विहार केन्द्रित भएका छन् । 

नेपालमा हालै जेनजी आन्दोलनपछि राजनीतिक परिदृश्य फेरिएको छ । विहारका लागि नेपाल ‘मुख्य फ्याक्टर’ पनि हो । लामो खुला सिमाना, नेपाल र विहारका बासिन्दाबिच सदियौँदेखिको वैवाहिक सम्बन्ध र राजनीतिक सम्बन्धले नेपाल र विहारबिच हरेक कुराले अर्थ राख्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । 

खुल्ला सीमाबारे अध्ययन गरेका पत्रकार चन्द्रकिशोर भन्छन्, ‘नेपालमा भर्खर भएको आन्दोलनले विहारको भित्रसम्म प्रभाव नपारेपछि बोर्डर छेउछाउ प्रभाव पारेको देखिन्छ । बिहारको चुनावमा नयाँ उम्मेदवारहरुको चर्चा सुरु हुनु र पुरानो अनुहार आउनु हुँदैन भनेर युवामाझ चर्चा हुनु त्यसको संकेत हो ।‘

नेपालमा भ्रष्टाचारको विरोध र सुशासनको माग गर्दै जेनजी पुस्ताले गरेको आन्दोलनले सरकार नै ढालिदिएको थियो । हाल सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । 

विश्वकै ठुलो जनसंख्या रहेको भारतमा सामाजिक सञ्जालको प्रयोग अझ व्यापक छ । त्यहाँका युवाहरुले पनि भ्रष्टाचार र सुशासनका मुद्दा सामाजिक सञ्जालमार्फत उठाउन थालेका छन् । त्यसैले विहारको विधानसभा चुनावमा नयाँ उम्मेदवारको उपस्थिति राम्रै हुनसक्ने देखिन्छ । यसमा नेपालको आन्दोलनको प्रभाव रहेको चन्द्रकिशोर बताउँछन् । 
नेपालमा चुनाव घोषणा भएपनि राजनीतिक तरलता छँदैछ । यही बेला विहारमा हुन गइरहेको चुनाव कुनै न कुनै रुपमा प्रभावित हुनसक्ने आशंका त्यहाँका दलहरुमा देखिएको छ ।  

Bihar Election1

नेपाल–भारत सीमा विषयमा विद्यावारिधि गरेका डा. राजीव झा भन्छन्, ‘नेपालमा भएको आन्दोलनले राजनीतिक रुपमा विहारको चुनावमा कुनै प्रभाव नपारेपनि आन्दोलनको क्रममा जेलबाट भागेका अपराधी चुनौती हुनसक्ने आशंका कतै कतै सुनिन्छ ।’

नेपाल र विहारको राजनीतिक मुद्दा फरक रहेकाले प्रभाव नै पार्छ भन्न नसकिए पनि सुरक्षा चुनौती थपिन सक्ने उनी बताउँछन् । 

विहारमा जेनजी आन्दोलनको चर्चा 

नोभेम्बर ६ र ११ अर्थात् कात्तिक २० र २५ गते गरी दुई चरणमा विहारमा विधानसभा चुनाव हुन गइरहेको छ । कुल २४३ सिटमा चुनाव हुनेछ ।

नेपालको जेनजी आन्दोलनलाई लिएर विहारमा चर्चा भइरहेको छ । नेपालमा जेनजी आन्दोलन भएकै दिन विहार विधानसभा विपक्षी दलका नेता तेजस्वी यादवले भनेका थिए, ‘नेपालको नजिक छ विहार । डराएको होइन, सम्झाएको हो निर्वाचन आयोगलाई (नेपाल के नजदिक हैं विहार, डरा नही रहे हैं सिर्फ बता रहे है चुनाव आयोग को ।)’

जेनजी आन्दोलनपछि सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको दिन भारतको विपक्षी गठबन्धन इन्डिया गठबन्धनले एक्समा लेखेको थियो, ‘यदि नेपालजस्तै भारतमा पनि नेतालाई कुटाइ सुरु भयो भने सबैभन्दा बढी लात कसले खान्छन्, नडराई बोल्नुस् । (अगर नेपाल की तरह भारत में भी नेताओं की पिटाई शुरू हो जाए, तो कौन सबसे ज्यादा लात खायेगा ! बिना डरे बिंदास बोलो !)’

विहारको चुनाव भारतीय जनता पार्टीका लागि कति महत्वपूर्ण छ, त्यो कुरा प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्ति र गतिविधिले पनि पुष्टि गर्छ । विहारको चुनावलाई लक्षित गरेर प्रधानमन्त्री मोदीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणलाई विहार केन्द्रित गर्ने योजना बनाएका थिए । 

भ्रमणको क्रममा ओली र मोदीको भेट विहारको बोधगयामा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुने तय भएको थियो । यसअघि दिल्लीस्थित प्रधानमन्त्री निवास हैदराबाद हाउसमा भेट हुँदै आएको थियो । त्यति मात्र होइन, भ्रमणको क्रममा विहारको राजधानी पटनास्थित जयप्रकाश नारायण अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँसम्म हवाई उडान सुरु हुने घोषणा गर्ने कार्यक्रम पनि तय भएको थियो । 

यसबाहेक विहारलाई केन्द्रित गरेर अन्य कार्यक्रम घोषणा गर्ने कार्यक्रम थियो । तर जेनजी आन्दोलनका कारण ओलीले राजीनामा दिएपछि भ्रमण रद्द भयो । यी विभिन्न घटनाक्रमले स्पष्ट हुन्छ, विहारको चुनावमा नेपाल कति महत्त्वपूर्ण फ्याक्टर हो । प्रधानमन्त्री मोदी नेपालको विषयमा यति चासो लिनुको मुख्य कारण नै विहारको चुनाव हो । 

राष्ट्रिय जनता दलका नेता एवं विहार विधानसभा सदस्य भरतभूषण मण्डल सबभन्दा नजिकको छिमेकी देश नेपाल र त्यसमा पनि खुला सीमा भएका कारण हरेक कुरामा प्रभाव पार्ने बताउँछन् । ‘खुला सीमाका कारण एक अर्काको देशमा कुनै न कुनै प्रकारले प्रभाव पारिरहेका हुन्छन्, तर नेपालमा भइरहेको यो आन्दोलनले चुनावमा कुनै प्रभाव पर्ला जस्तो मलाई लाग्दैन’, मण्डल भन्छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एसके यादव
एसके यादव

एसके यादव रातोपाटीमा राजनीतिक तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप