आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय

नेपालका दलहरूमा रूपान्तरणको आवश्यकता

बिहीबार, २३ असोज २०८२, १५ : ५२
बिहीबार, २३ असोज २०८२

परिवर्तन संसारको नियम हो । समयसँगै परिमार्जन हुन नसक्ने जुनसुकै व्यवस्था, व्यक्ति वा संस्था इतिहासको पानामा मात्र सीमित हुन पुग्छन् । यो सत्यलाई धेरैले स्वीकार गर्न नचाहे पनि इतिहासका पानाहरूले पुनःपुनः प्रमाणित गरिदिएका छन् ।

एक समय विश्व बजारमा राज गरेको नोकिया मोबाइल, राजदूत मोटरसाइकल, एचएमटी घडी वा पानासोनिक रेडियोजस्ता कम्पनी यसैका उदाहरण हुन् । समयानुकूल प्रविधि र बजारसँग मेल नमिलाउँदा यी कम्पनीले आफ्नो अस्तित्व गुमाए र इतिहासमा सीमित भए ।

नेपालको राजनीतिक इतिहासमा पनि त्यस्तै उदाहरण प्रशस्त छन् । नेपालमा दशकौँसम्म बलियो मानिएको राणाशासन अन्ततः समयको धार रोक्न नसकेर पतन भयो । राजतन्त्रले आफूलाई शाश्वत ठान्थ्यो, तर जनआन्दोलनको लहरले त्यो पनि समाप्त गरिदियो ।

आजका शक्तिशाली नेता पनि यसै बाटोमा छन् । पाँचपटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणासमेत बुढेसकालमा अपमान सहन बाध्य भए । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अहंकार र समयको माग अनुसार आफूलाई रूपान्तरण गर्न नसक्ने कमजोरीका कारण जनतामाझ लोकप्रियता गुमाउँदै गए ।

‘सर्वशक्तिशाली’ ठानिएका नेपाल र बंगलादेशका नेताहरूले एकै दिन सबै (घर, सवारीसाधन, नगद, गरगहना र पावर) गुमाएको दृश्य हामीले देखिसकेका छौँ । यसैले राजनीतिक दल र नेताहरूले इतिहासको यथार्थ बुझ्न जरुरी छ, समय अनुसार रूपान्तरण नगर्ने शक्ति टिक्दैन ।

नेपालको राजनीतिक इतिहास हेर्ने हो भने देशले पछिल्ला केही दशकमा ठुला र निर्णायक परिवर्तन देखेको छ । राणाशासन फालेर, पञ्चायती व्यवस्था फालेर, २४० वर्ष पुरानो राजतन्त्रको अन्त्य गरेर आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था छ । देशलाई आजको व्यवस्थामा ल्याउन भूमिका खेलेका दलहरू अहिले आफ्नै आन्तरिक कमजोरीका कारण जनतामाझ आलोचित र अविश्वसनीय बन्दै गएका छन् । त्यसैले आजको नेपालमा पुराना दलहरूको रूपान्तरण अपरिहार्य बनेको छ ।

कांग्रेस नेपालको सबैभन्दा पुरानो र ऐतिहासिक राजनीतिक दल हो । लोकतन्त्रको स्थापना र संरक्षणमा यसको योगदान असाधारण छ तर आज कांग्रेसभित्र नेतृत्वमा पुस्तान्तरणको अभाव, आन्तरिक गुटबन्दी र विचारधारात्मक अस्पष्टता देखिन्छ । पार्टीले ‘लोकतान्त्रिक समाजवाद’को नारा त दियो, तर व्यवहारमा त्यही नीतिलाई जीवन्त बनाउन असफल भयो । आज उसको संगठनात्मक संरचना कमजोर हुँदै गएको छ, गाउँस्तरका कार्यकर्ता निष्क्रिय छन् र युवा पुस्ता निराश छन् । कांग्रेसले जनताको भरोसा पुनः प्राप्त गर्न अब नयाँ सोच, नयाँ नेतृत्व र व्यावहारिक जनमुखी नीति अवलम्बन गर्नैपर्छ । पुराना नेताले सन्तोषपूर्वक नेतृत्व युवालाई सुम्पिए मात्र पार्टीले आफ्नो ऐतिहासिक भूमिका जोगाउन सक्छ ।

एमाले लामो समयसम्म स्थिर संगठन र अनुशासनको उदाहरण प्रस्तुत गरेको दल हो तर पछिल्ला वर्षमा आन्तरिक विभाजन र सत्ताकेन्द्रित सोचका कारण एमालेको पहिचान धमिलिएको छ । जनताले यस दललाई वैकल्पिक शक्ति होइन, सत्ता प्राप्तिको माध्यमका रूपमा हेर्न थालेका छन् । पार्टीभित्र युवा पुस्ता पछाडि पारिएको छ र निर्णय प्रक्रियामा तल्लो तहका कार्यकर्ताको आवाज हराउँदै गएको छ । संगठनको आडमा बढेको अहंकार र सत्तामोहले जनतासँगको दूरी बढाएको छ । एमालेले फेरि जनताको मन जित्न संगठन सुदृढीकरण, आत्मसमीक्षा र व्यावहारिक सुशासनको बाटो रोज्नैपर्छ । प्रविधि, पारदर्शिता र युवाको सक्रिय सहभागिताविना एमाले पुनः स्थापित हुन सक्दैन ।

भ्रष्टाचार, स्वार्थ र गुटबन्दीले थकित जनता अब नारा होइन, नतिजा खोजिरहेका छन् । उनीहरू सुशासन, रोजगारी र विकासमा स्पष्ट परिणाम चाहन्छन् । ठुला दलहरूले आफ्नो चरित्र, नीति र व्यवहारमा सुधार ल्याउन सकेनन् भने नयाँ राजनीतिक शक्ति उदाउने सम्भावना बढ्दै जानेछ ।

माओवादी केन्द्रले एक समय राजतन्त्रलाई हटाएर देशमा गणतन्त्र ल्याउने ऐतिहासिक भूमिका निभायो तर क्रान्तिबाट जन्मिएको यो दल शासन र पदमा केन्द्रित हुँदै गयो, अहिले यसको मौलिकता हराउँदै गएको छ । जनताले माओवादीलाई अब परिवर्तनको प्रतीकका रूपमा होइन, पुरानै राजनीतिक शैलीको अर्को संस्करणका रूपमा हेर्न थालेका छन् । आन्दोलनका समयमा उठाइएका वर्गीय समानता, भूमिहीनका अधिकार र जनसहभागिताका मुद्दा सत्ता भोग्ने क्रममा बिर्सिंदै गएका छन् । माओवादीले अब क्रान्तिकारी भाषण होइन, व्यावहारिक परिवर्तनको नीति ल्याउनुपर्छ । लोकतान्त्रिक मूल्यलाई स्विकार्दै असमानता, बेरोजगारी र भ्रष्टाचारविरुद्ध नयाँ अभियान सुरु गरे मात्र माओवादी पुनः सशक्त बन्न सक्छ ।

नेकपा एकीकृत समाजवादी दल एमालेबाट फुटेर बनेको नयाँ राजनीतिक शक्ति हो, तर गठन भएको छोटो अवधिमै यो दल आफ्नो पहिचान बनाउने संघर्षमा छ । जनस्तरमा यसको प्रभाव सीमित छ, संगठन कमजोर छ र विचारधारामा स्पष्टता छैन । पार्टी नेतृत्व अझै पुरानै शैलीमा अड्किएको छ, जहाँ युवालाई अवसर दिन हिच्किचाहट देखिन्छ । यो दलका लागि रूपान्तरणको अर्थ हो— नयाँ पुस्ता अगाडि ल्याउने, समाजमा प्रत्यक्ष असर पार्ने कार्यक्रम ल्याउने र श्रमिक तथा तल्लो वर्गका मुद्दामा गम्भीर प्रतिबद्धता जनाउने । यसले साँचो अर्थमा जनपक्षीय राजनीतिलाई आत्मसात् गर्न सक्यो भने मात्रै अस्तित्व सुनिश्चित हुनेछ ।

यी चारै दलहरूको साझा समस्या भनेको सत्ता र पदमोह, आन्तरिक असहिष्णुता र जनअपेक्षा अनुसार काम नगर्नु हो । दलहरू लोकतन्त्रका नाममा चुनावमा मात्रै सक्रिय देखिन्छन् तर जनजीवनका समस्यामा मौन रहन्छन् । युवामा बढ्दो राजनीतिक उदासीनता र दलप्रतिको वितृष्णा यसको प्रत्यक्ष परिणाम हो । जनताको मन जित्न अब कुनै पनि दलले पुरानै शैलीमा राजनीति गर्न सक्दैनन् ।

अबका दिनमा राजनीतिक दलहरूले रूपान्तरण गर्नुपर्छ, केवल नारामा होइन व्यवहारमा । पुरानाबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनुपर्छ; नीति निर्माणमा पारदर्शिता र जनसहभागिता हुनुपर्छ; संगठनात्मक स्तरमा गाउँ–वडा हुँदै केन्द्रसम्म पार्टीलाई पुनः सक्रिय बनाउनुपर्छ । सामाजिक सञ्जाल र डिजिटल माध्यम प्रयोग गरी जनताको सुझाव लिने र नीति प्रचार गर्ने नयाँ शैली अपनाउनुपर्छ ।

भ्रष्टाचार, स्वार्थ र गुटबन्दीले थकित जनता अब नारा होइन, नतिजा खोजिरहेका छन् । उनीहरू सुशासन, रोजगारी र विकासमा स्पष्ट परिणाम चाहन्छन् । ठुला दलहरूले आफ्नो चरित्र, नीति र व्यवहारमा सुधार ल्याउन सकेनन् भने नयाँ राजनीतिक शक्ति उदाउने सम्भावना बढ्दै जानेछ । अहिलेको सन्दर्भमा रूपान्तरण केवल विकल्प होइन, अस्तित्वको सवाल बनेको छ ।

कांग्रेसले लोकतन्त्रलाई व्यवहारमा उतार्न, एमालेले सुशासन र संगठन सुदृढ गर्न, माओवादी केन्द्रले आफ्नो क्रान्तिकारी आदर्शलाई पुनःजीवित बनाउन र एकीकृत समाजवादीले नयाँ पहिचान खोज्न सके भने मात्रै नेपाली राजनीति स्थायित्वतर्फ अघि बढ्न सक्छ । रूपान्तरणको यो बाटो कठिन अवश्य छ, तर यही बाटो देश र जनताको भविष्य सुनिश्चित गर्ने एक मात्र उपाय हो । यी दलहरूले आत्मसमीक्षा र परिवर्तनलाई आत्मसात् गर्न सके भने लोकतान्त्रिक प्रणाली बलियो हुनेछ, नत्र जनताले नयाँ विकल्प रोज्नेछन्, जसले नेपालको राजनीतिक नक्सा फेरिनेछ ।

मधेसी जनजाति र वर्तमान राजनीतिक अवस्था

नेपालको लोकतान्त्रिक संघर्षमा मधेसी जनजातिको योगदान ऐतिहासिक छ तर मधेसमै सक्रिय रहेका दल आज टुक्राटुक्रा रूपले चलिरहेका छन् ।

जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय मुक्ति पार्टी, जनमत पार्टी, नेपाल सद्भावना पार्टी, जनता प्रगतिशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)— यी सबै दलले मधेस र मधेसी जनजातिको मुद्दा उठाइरहेका छन् तर यिनीहरु आ–आफ्नो स्वार्थ र नेतृत्वको प्रतिस्पर्धामा विभाजित छन् । यसरी खण्डित अवस्थामा जनताको विश्वास कमजोर हुँदै गएको छ । जनताले अपेक्षा गरेको कुरा भने स्पष्ट छ— एकीकृत नेतृत्व, ठोस रूपान्तरण र समयानुकूल कार्यक्रम ।

मधेस अहिले राजनीतिक रूपान्तरणको निर्णायक मोडमा पुगेको छ । एकातिर जनचेतना तीव्र गतिमा बढिरहेको छ भने अर्कोतिर मधेसी दलहरू आन्तरिक फुट, स्वार्थ र पदमोहमा फसेका छन् । यस अवस्थामा रूपान्तरण अब विकल्प होइन, अस्तित्वको सवाल बनेको छ ।

समयको माग नै मधेसमा रूपान्तरण हो । मधेसी समाजमा शिक्षा, सञ्चार र प्रविधिको पहुँचले जनतालाई निकै सचेत बनाइसकेको छ । उनीहरूलाई आन्दोलनका भाषण र वाचा होइन, व्यावहारिक परिवर्तन चाहिन्छ । जनताको जीवनस्तर उकास्ने ठोस काम नगरेसम्म कुनै दलले लामो समयसम्म विश्वास कायम राख्न सक्दैन ।

अहिले राष्ट्रिय दलहरूले पनि मधेसलाई प्राथमिकतामा राख्न थालेका छन् । पहिलेजस्तो उपेक्षा अब छैन । मधेसका मतदाताले पनि विचार गर्न थालेका छन् कि कुन दलले वास्तवमै उनीहरूको मुद्दा बोकेको छ र कुन दलले केवल भाषण गरेको छ । यस्तो अवस्थामा मधेसी दलहरूले आपसी फुटमा रमाउने हो भने चुनावी परिणाममा उनीहरूको अस्तित्व नै संकटमा पर्न सक्छ ।

मधेसी नेतामाथिको भरोसा पनि विगतका विभाजन, स्वार्थ र पदलोभका कारण कमजोर भइसकेको छ । नेताहरूले आफ्नै दल फुटाएर नयाँ नाममा पुनः दल बनाउँदा जनता दिग्भ्रमित भएका छन् । जनताको त्यो भरोसाको पुनः स्थापना दलहरुको रूपान्तरणविना सम्भव छैन ।

अब के कस्तो रूपान्तरण आवश्यक छ भन्ने प्रश्न उठ्छ । सबैभन्दा पहिला मधेसका विभाजित दलहरू (जसपा, लोसपा, राष्ट्रिय मुक्ति पार्टी, जनमत, जनता प्रगतिशील पार्टी, नेपाल सद्भावना पार्टी, तमलोपा) लगायत सबैले मिलेर एउटा संयुक्त, सशक्त राजनीतिक शक्ति निर्माण गर्नुपर्छ । एउटै उद्देश्यका लागि विभाजित भएर होइन, एकीकृत भएर अघि बढ्दा मात्रै मधेसको आवाज राष्ट्रिय स्तरमा प्रभावशाली बन्न सक्छ ।

नीति र कार्यक्रमको स्पष्टता पनि रूपान्तरणको महत्त्वपूर्ण पक्ष हो । मधेसी राजनीति अब केवल आन्दोलन र अधिकारका नारामा सीमित रहनु हुँदैन; शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि आधुनिकीकरण, खुला सीमा र सीमापार सम्बन्धका व्यावहारिक एजेन्डा अघि सार्नुपर्छ; जनताले प्रत्यक्ष अनुभव गर्न सक्ने सुधारका नीति ल्याउनुपर्छ, जसले मधेसमा विकास र अवसरको वातावरण निर्माण गरोस् ।

युवालाई नेतृत्वमा ल्याउने कुरा पनि अब केवल शब्दमा होइन, व्यवहारमा लागु हुनुपर्छ । मधेसको राजनीतिमा पुस्तागत हस्तान्तरण नभएसम्म नयाँ सोच र नयाँ दृष्टिकोण प्रवेश गर्न सक्दैन । मधेसी दलहरूले युवा पुस्तालाई जिम्मेवारी दिनु, उनीहरूलाई निर्णय प्रक्रियामा सहभागी गराउनु र नयाँ पुस्तालाई भविष्यका नेता बन्ने अवसर दिनु नै वास्तविक परिवर्तनको सुरुवात हुनेछ ।

संगठनात्मक सुधार पनि रूपान्तरणको अर्को अनिवार्य अङ्ग हो । दलहरू केवल चुनावी तयारीका लागि बनेका मेसिन होइनन्, ती समाजका परिवर्तनका वाहक हुनुपर्छ । मधेसी दलहरूले सामाजिक, आर्थिक र सांस्कृतिक सुधारका नेतृत्वकर्ता बन्न सक्नुपर्छ । स्थानीय तहमा संगठन बलियो बनाएर मात्र जनता र दलबिचको सम्बन्ध बलियो रहन्छ ।

मधेसी दलहरूले तत्काल रूपान्तरण र एकता गरेनन् भने यसको परिणाम गम्भीर हुनेछ— मधेसमा नयाँ दल जन्मिन सक्छन्, जसले पुराना दलहरूको स्थान लिनेछन्; वर्षौंको आन्दोलन र सयौँ सहिदको बलिदानले प्राप्त संघीयता खतरामा पर्न सक्छ । पुराना दलहरू केवल इतिहासमा सीमित हुनेछन् र मधेसी जनताको मुद्दा फेरि उपेक्षित बन्ने जोखिम बढ्नेछ । जनता असन्तुष्ट भएर संघीयता विरोधी शक्तितर्फ आकर्षित हुन सक्छन् । जसरी नोकिया वा एचएमटी कम्पनीहरू समय अनुसार बदलिन नसकेर इतिहासमा मात्र बाँकी रहे, त्यसरी मधेसी दल र तिनका नेताहरू पनि केवल स्मृतिमा सीमित हुनेछन् ।

समयले कुनै पनि शक्ति वा नेतालाई प्रतीक्षा गर्दैन । परिवर्तनलाई आत्मसात् गर्नेले मात्र भविष्यमा स्थान पाउँछन् । मधेसी जनताको राजनीतिक अधिकारलाई दिगो बनाउन, उनीहरूको संघर्ष र बलिदानको सम्मान गर्न र मधेसलाई सक्षम नेतृत्व दिनका लागि अब ढिलाइ नगरी रूपान्तरण र एकीकरणको बाटो रोज्नुपर्छ । यही बाटोले मात्र जनताको विश्वास पुनः स्थापित गर्नेछ, मधेसलाई सबल बनाउनेछ र नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत पार्नेछ । अन्यथा इतिहास फेरि दोहोरिनेछ र यी दल र दलपतिहरू केवल नामका लागि बाँकी रहनेछन् । 

(झा राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. राजीव झा
डा. राजीव झा
लेखकबाट थप