जेनजी विद्रोहको एक महिना : ‘पुराना नेताले पराजय स्विकार्न नसक्नु विडम्बना’
सारांश
- जेनजी पुस्ताको भ्रष्टाचार विरोधी आन्दोलन एक महिना पुगेको छ, जसले अन्तरिम सरकार गठन गर्यो र निर्वाचन तय भयो।
- भदौमा भएको विद्रोहमा ७५ जनाको मृत्यु भयो र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्यो, छानबिन आयोग गठन भयो।
- विश्लेषकहरूका अनुसार दलहरूमा युवाहरूको प्रवेश रोकिने खतरा छ, र दलहरूको व्यवहार यस्तै रहेमा संविधानमा असर पर्ने देखिन्छ।
काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचार र बेथितिविरुद्ध आन्दोलन गरेको एक महिना पूरा भएको छ । जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ । आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचन तोकिएको छ ।
एक हिसाबले मुलुक अहिले सङ्क्रमणकालीन अवस्थामा छ । तर सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्ने स्पष्ट खाका न अन्तरिम सरकारले दिन सकेको छ, न त पुराना राजनीतिक दलहरूले अगाडि सारेका छन् । भदौ २३ र २४ गते भएको विद्रोहका कारण ७५ जनाको ज्यान जानुका साथै अर्बौं रुपैयाँ बराबरका सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त भएका छन् ।
जनधनको क्षतिप्रति न्यायिक छानबिन गरी कारबाही सिफारिस गर्न विशेष अदालतका न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय छानबिन आयोग गठन भएको छ । तर जेनजी आन्दोलनका क्रममा फौजदारी कसुरका मुद्दामा अनुसन्धान अगाडि बढाउने विषयमा सरकार र आयोगबिच मत बाझिएको छ ।
सरकारले संसद् विघटन गरी फागुन २१ गते मध्यावधि घोषणा गरेपनि अहिलेसम्म सर्वदलीय बैठक बस्न सकेको छैन । यसै विषयमा रातोपाटीले राजनीतिक विश्लेषक चन्द्रकिशोर र मुवाराम खनालसँग कुराकानी गरेको छ । प्रस्तुत छ उनीहरूको विचारको सम्पादित अंश :
दलभित्र युवा आउन पूर्णविराम लाग्ने खतरा देखिएको छ : चन्द्रकिशोर
नवयुवाहरूको जागरणले के स्थापित गरेको छ भने नेपाली समाज यथास्थिति वा जडताको गोलचक्करमा यो वा त्यो सरकार प्रमुख हुँदैमा राजनीतिको तौल तरिका राज्य र सामाजिक सम्बन्धहरू यथावतै रहने हो वा रहिरहने हो त्यसमा हस्तक्षेप गरेको छ ।
अहिले ती नवयुवाहरूबिचको आन्तरिक विभाजन, आफूहरूलाई नेतृत्वमा देखाउन चाहनेहरूको अनुहार पटक-पटक देखाएर संसद्भित्रका कुनै पनि दल आफूलाई सच्चिने वा सुधार गर्नेतिर जानुपर्छ भन्ने दबाब महसुस गरिरहेका छैनन् । यो नहुँदा देश अँध्यारो सुरुङतिर गइराखेको छ । जुन उकुसमुकुस थियो, त्यो बाहिर निस्कियो । त्यो ऊर्जालाई पुँजीकृत गरेर राजनीति अगाडि बढ्न सक्थ्यो भने हाम्रा कठिन संघर्षका दिनहरू छोटो हुन्छ ।
जति हामीले ती ऊर्जालाई पुँजीकृत गर्न सकेनौँ, ऊर्जा छरपस्टियो, त्यो ऊर्जालाई हामी आफैँले आत्मवरण गरेनौँ भने हाम्रो समाजले अझ बढी दुःख पाउँछ ।
२०४६ र २०६३ को आन्दोलनले के देखायो भने पूर्वशासक वा पूर्वसत्तामा राखेकाप्रति व्यक्तिगत पूर्वाग्रह राखेनन् । व्यक्तिगत प्रतिशोध साँधिएनन् । २०४६ सालमै यो जित सबैको भनियो । यसपटक व्यक्तिगत आक्रमणको काम भयो, जुन दक्षिण एसियाली मुलुकमा भएका छन् । अन्य मुलुकमा पनि यो प्रयोग भएको छ ।
यो आन्दोलनले नयाँ ट्रेन्ड ल्यायो । नवयुवाहरूको दुई दिन जुन आन्दोलन भयो उनीहरूले दुवै दिनको विद्रोह र विध्वंस स्विर्काछन् भने उनीहरूमा व्यक्तिगत रूपमा उत्पीडन भयो । सँगसँगै २०४६ र २०६३ पछि पुराना दलहरूले आफूलाई नयाँ एजेन्डाका साथ अनुकूलन गर्ने काम गरे ।
विचारमा वा घोषणापत्रमा संवैधानिक राजतन्त्रको माग राख्ने तर गणतान्त्रिक चुनावी प्रक्रियामा भाग लिने र जनताको मतलाई स्वीकार गर्ने काम गर्ने दल पनि थिए । यसपटक दुवैमा पूर्णविराम लागेको हो कि भन्ने देखा परेको छ । व्यक्तिगत रूपमा पनि उत्पीडन गर्ने काम भयो । अहिले पनि धम्की दिने काम हुँदैछन् । सँगसँगै परिवर्तित परिस्थितिमा नयाँ एजेन्डालाई अब दलहरूभित्र युवाहरू आउनुपर्यो भन्ने कुरामा पूर्णविराम लाग्ने हो कि भन्ने खतरा देखिएको छ । समस्या त्यहाँनिर छ ।
दलहरूको रबैया यस्तै रहे संविधान पूरै च्यातचुत हुन्छ : मुवाराम खनाल

राजनीतिक आन्दोलन देखेको पुस्ता हो त्यो । राजनीतिक आन्दोलन सङ्गठित हुन्छ । एउटा निश्चित पार्टीको दर्शन, दर्शन अनुसार राजनीतिक एजेन्डाहरू हुन्छन् । तर यस्तो असङ्गठित विद्रोह पुराना दलहरूले गरेको भ्रष्टाचार, उनीहरूले गरेको मनोमानी, लोकतान्त्रिक संस्थामाथिको आक्रमण विरुद्धमा हुन्छ । यस्ता असङ्गठित शक्तिले सत्ता पल्टाउनका लागि फलानो मान्छे प्रधानमन्त्री हुने, यसले सरकार बनाउने निश्चित उद्देश्य त हुँदैन । त्यसले पुरानो सत्तालाई विस्थापित मात्र गर्छ । एउटा संक्रमणकालभर नागरिक सरकार बन्छ । त्यस्तो सरकार चुनावी प्रयोजनका लागि हुन्छ ।
अहिलेको जेनजी आन्दोलनमा अन्य अराजनीतिक तत्त्वहरू पनि घुसे होलान् । जुन खालका आगजनी भएका छन्, व्यक्तिगत सम्पत्तिमाथि तोडफोड भएको छ । यस्तो आन्दोलनका क्रममा नापतौल लिएजस्तो हुँदैन । त्यसमा राजनीतिक दलहरूलाई के लागिरहेको छ भने षड्यन्त्रमा माहिर छन् यिनीहरू । यिनीहरूको भाष्य कुनै षड्यन्त्रले हामीलाई विस्थापित गराए भन्ने हुन्छ ।
त्यसले गर्दा अहिले भएका परिवर्तनलाई सहजरूपमा स्वीकारेर, हाम्रै कारणले यी सबै भएको भनेर आफ्नो पार्टीलाई रिफर्म गर्ने, पार्टीबाट पुराना पुस्ता बिदा हुने, चाँडो पार्टीको अधिवेशन बोलाएर नेतृत्व हस्तान्तरण गर्न त कहाँ हो कहाँ, उनीहरूले आन्दोलनलाई नै दुत्कारेर आफ्नो विरुद्ध भएको षड्यन्त्रको रूपमा बुझ्ने पुरानै रोग हो । त्यसबाट हामीले मुक्त गर्न सक्दैनौं । जनताले नै निर्वाचनमार्फत सजाय दिने हो ।
पूर्वपञ्चहरुले आफ्नो हार स्वीकार गरेका थिए । तर यिनीहरूले आफ्नो पराजय स्वीकार गरेकै छैनन् । उनीहरूले निर्वाचनका सम्पूर्ण अवयवहरु कब्जा गरेर पार्टीको संयन्त्रलाई राज्य संयन्त्रमा बदलेको होइन र ? यिनीहरूलाई सडकबाट हटाउनुपर्ने कारण नर्मल कोर्सबाट गएको त होइन । अझै पनि हामीलाई षड्यन्त्र गरेर हटाए भन्ने नै यिनीहरूको दिल दिमागमा छ ।
राजावादी सक्रिय हुनुमा तिनीहरू एउटा राजनीतिक सङ्गठित शक्ति हुन् । उनीहरूले राजनीतिक तहबाट नै निकास खोज्छन् । यो त पूर्ण जनविद्रोह हो । विद्रोहले पुरानालाई फाल्छ । नयाँले सङ्क्रमणकालीन अवस्थामा सबै मिलेर गर्ने हो । अब त सडकको म्यान्डेटलाई संविधानमा संशोधन गरेर सम्बोधन गर्नुपर्छ ।
अझै दलहरूको यस्तै रबैया यस्तै हो भने यो संविधान पूरै च्यातचुत हुन्छ । अहिले त शून्य मात्र सिर्जना भएको छ । त्यहाँसम्म पुग्नु अगाडि नै चुनावबाट पूरै सडक र राजनीतिक दलहरूको नयाँ म्यान्डेटलाई अनुमोदन गर्नुपर्छ । अहिले राजनीतिक दलहरू भ्यालिड छैनन् । विघटित संसदको आकार हेरेर म ठुलो दल र तँ सानो दल भन्ने होइन ।
संसद् पुनर्स्थापना गर्न खोज्नु भयंकर गलत कुरा हो । चुनावमा गएपछि नेपाली कांग्रेस जिरो सिट पनि हुनसक्छ । एमाले जो दोस्रो ठुलो दल थियो ऊ पनि जिरो सिट हुन सक्छ । हिजो संसद्मा के थियो भनेर अहिले भन्ने होइन । अब नयाँ र फ्रेस म्यान्डेटमा जाने हो । कुन पार्टी आउँछन् ? कुन–कुन पार्टी दर्ता हुन्छन् ? कसले बहुमत ल्याउँछ ? कसलाई के थाहा छ अहिले ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरक्षाको माग गर्दै छिन्नमस्ता गाउँपालिकाका कर्मचारीले बुझाए प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण