एकताका लागि माधव र विप्लवको पार्टी निर्णय कुर्दै माओवादी
सारांश
- माओवादी केन्द्रले नेकपा एस र विप्लव नेतृत्वको नेकपाको निर्णय कुरेको छ।
- माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि छलफल भइरहेको छ, जसले गर्दा बैठक स्थगित भएको छ।
- पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्ने र संयोजक तथा सहसंयोजक राख्ने बारेमा सहमति भएको छ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताका लागि नेकपा एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टीको निर्णय कुरेको छ ।
पछिल्लो समय चरणबद्ध छलफलमा सहभागी भएको माओवादीले एकताका लागि दुवै पार्टीको संस्थागत निर्णय कुरेको हो ।
असोज २० गते बसेको माओवादीको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादी, नेकपा, नेसपासँग एकताको पहल भइरहेको बिफ्रिङ गरेका थिए ।
माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एकताबारे संस्थागत निर्णय लिन बैठक बोलाएकाले उनीहरूको निर्णय आएपछि मात्र सचिवालय बैठक बस्ने माओवादी केन्द्रका सचिवालय सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिए ।
पोखरेलका अनुसार एकीकृत समाजवादीसँग एकताका लागि सकारात्मक पहल भइरहेको छ । ‘पार्टी एकताका लागि एकीकृत समाजवादीसँग द्रुत गतिमा छलफल भइरहेको छ । माधवजीले संस्थागत निर्णय गर्नका लागि सचिवालय बैठक बोलाउनु भएको छ र विप्लवजीले पनि स्थायी समिति र केन्द्रीय समिति बैठक बोलाउनु भएको छ । उहाँहरूको निर्णय आएपछि हाम्रो पार्टीको बैठक बस्छ’, रातोपाटीसँग पोखरेलले भने ।
एकताका लागि नेकपाभन्दा एकीकृत समाजवादी सकारात्मक देखिएको उनले बताए । विप्लवले नेतृत्व तहका सबै नेताहरूलाई बिदा गरेर नयाँ कम्युनिस्ट केन्द्र बनाएर जाने प्रस्ताव गरिएकाले समस्या आएको पोखरेलको भनाइ छ ।
जेनजी विद्रोहपछिको अवस्थालाई मूल्याङ्कन गरी प्रचण्डले पार्टी एकता र ध्रुवीकरणका लागि माधव, विप्लव, अशोक राई, महिन्द्र यादव, पे्रमबहादुर सिंह लगायतसँग नियमित छलफल गरिरहेका छन् । पार्टी एकतालाई प्राथमिकतामा राखेर माओवादीले सचिवालय बैठकलाई स्थगित गरेको छ ।
माओवादीका एक पूर्वपदाधिकारीले सङ्क्रमणकालीन अवस्थालाई मध्यनजर राखेर संयोजक र सहसंयोजक बनाएर जान माओवादी र एकीकृत समाजवादी सकारात्मक देखिएको जिकिर गरे ।
पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद र लेनिनवाद राख्ने सहमति भएको छ । पार्टीको नाम नेकपा (समाजवादी केन्द्र) राख्नेबारे सहमत देखिएका छन् ।
‘सैद्धान्तिक र कार्यदिशामा कुनै विमति छैन । संक्रमणकालीन अहिलेको अवस्थामा संयोजक र सहसंयोजक राखेर जानेबारे लगभग सहमति भइसकेको छ । पार्टीको नामको अगाडि नेकपा राखेर समाजवादी केन्द्र बनाएर जान कुनै समस्या छैन । एकीकृत समाजवादी र नेकपाको संस्थागत निर्णय आएमा कात्तिको पहिलो हप्ता वा दोस्रो हप्ता एकता हुनसक्छ’, ती नेताले भने ।
असोज ९ र १० गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले समाजवादी मोर्चामा आबद्ध भएका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो । एकताको विषयमा निर्णय लिन एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ । नेकपाले भोलि स्थायी समिति बैठक बोलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण