शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

अबको लक्ष्य ग्लोबल क्वालिफायर : इन्दु बर्मा

शुक्रबार, २४ असोज २०८२, १२ : २५
शुक्रबार, २४ असोज २०८२

सारांश

  • नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको सिरिज जितेको छ, जसमा कप्तान इन्दु बर्माको महत्त्वपूर्ण भूमिका रह्यो।
  • इन्दु बर्माले टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरिन्, र टोलीले सिरिज ३-२ ले जित्यो।
  • इन्दुले ग्लोबल क्वालिफायरको तयारीका लागि सिरिज उपयोगी भएको बताइन्, र टिमको प्रदर्शन सुधारमा जोड दिइन्।

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले हालै मलेसियासँगको महत्त्वपूर्ण सिरिज जितेको छ । कप्तान इन्दु बर्माका लागि पनि यो सिरिज महत्त्वपूर्ण बन्न पुग्यो । 

इन्दुले नेपाली टोलीलाई यो सिरिज जिताउन महत्त्वपूर्ण भूमिका खेलिन् । सिरिजसँगै उनले टी–ट्वान्टी अन्तर्राष्ट्रिय आफ्नो एकहजार रन पूरा गरिन् । 

नेपालले सिरिज ३–२ ले आफ्नो पक्षमा बनाउन सफल भयो । मलेसियाविरुद्धको जितमा खुसी भएको बताउँदै यसले सिक्ने मौका पनि दिएको कप्तान इन्दुले बताइन् । 

‘हामीले नेपालमै अभ्यास गरिरहेका थियौँ र एकैचोटी गएर खेलेका हो । नतिजा राम्रै आयो, तर फिल्डिङ र फिटनेसमा अलिकति चुकेका थियौँ,’ इन्दुले भनिन् । 

उक्त सिरिजको अन्तिम खेल निर्णायक बनेको थियो । सिरिजको पहिलो खेलमा मलेसियाले जित हासिल गर्दा दोस्रो खेलमा नेपालले जित निकालेको थियो । त्यस्तै तेस्रो खेलमा मलेसियाले जित निकाल्दा चौथो र पाँचौँ खेलमा नेपालले जित निकाल्दै सिरिज आफ्नो पक्षमा बनाएको थियो । 

नेमा र ट्रफी जित्दाको क्षणसकेपछिको क्षण आफ्नो लागि विषेश भएको इन्दुले बताइन् । 

‘यो मेरो पहिलो ट्रफी हो, त्यसैले यो क्षण एकदमै खुसीको हो । पाँचमा पाँच खेल जितेको भए अझ राम्रो हुने थियो होला । तर पनि हाम्रो खेलाडीहरूले राम्रो खेले,’ इन्दुले भनिन् । 

ग्लोबल क्वालिफायरको तयारीका लागि नेपालले यो सिरिज खेलेको थियो । सिरिजमा भएका कमजोरीलाई निहाल्दै ग्लोबल क्वालिफायरको तयारी गर्ने इन्दुको भनाइ छ । उनले टिमको प्रदर्शनमा सुधार गर्नुपर्ने धेरै पक्ष भएको बताइन् । 

‘ओभरअल टिमले राम्रो प्रदर्शन गर्‍यो । सिरिजले हामीलाई धेरै मद्दत गर्‍यो । हाम्रो लागि सिरिज राम्रो अभ्यासको पाटो र गल्तीहरू औल्याउने मौका भयो,’ इन्दुले भनिन् । 

इन्दुका लागि यो सिरिज व्यक्तिगत रूपमा पनि विशेष रह्यो । उनी टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला क्रिकेटर बनिन् । 

सिरिजको अन्तिम खेल खेल्दा पनि आफूलाई एकहजार रन पूरा हुने कुरा थाहा नभएको  तर पछि थाहा पाउँदा आफ्नो सपना पूरा भएको उनले बताइन् । 

‘यो मेरो सपना थियो । मैले ४८ रन हानेको दिन मलाई थाहा थिएन कि मेरो हजार रन पूरा हुन लागेको छ । रन पूरा भएपछि मलाई एकदमै खुसी लाग्यो,’ इन्दुले खुसी हुँदै भनिन् । 

अन्तर्राष्ट्रिय प्रतियोगिताहरू कम हुने भएकाले पनि यो उपलब्धि विशेष भएको उनले बताइन् । ‘धेरै खेलहरू खेल्न नपाउँदा पनि हजार रन पूरा गर्न पाउँदा अझ बढी खुसी लाग्छ,’ उनले भनिन् । 

ग्लोबल क्वालिफायर्स खेलहरू त्रिवि क्रिकेट मैदानमा जनावरी १२ देखि फेब्रुअरी ३ सम्म हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप