बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण

शुक्रबार, २४ असोज २०८२, १३ : ३०
शुक्रबार, २४ असोज २०८२

सारांश

  • भरतपुर महानगरपालिकालाई देवघाटमा विद्युतीय शवदाह गृहसहितका विभिन्न पूर्वाधार हस्तान्तरण गरियो।
  • विद्युतीय शवदाह गृह २०७५ माघमा सुरु भई १२ करोड ६४ लाख खर्चमा निर्माण सम्पन्न भयो।
  • शवदाह गृहले ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ र महानगरले यसको सञ्चालन गर्नेछ।

नारायणगढ । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माण सम्पन्न विद्युतीय शव दाह गृहसहितका विभिन्न सहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

 देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शव दाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रूपमा महानगरको जिम्मा लगाइएको हो ।

आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शव दाह गृह तथा मलामी प्रतीक्षालय विसं २०७५ माघ ३ गते सम्झौता भई विसं २०८२ साउन ३० गते सम्पन्न भएको हो । सम्झौता रकम रु १० करोड ३६ लाख ५७ हजार ८११ रहेकामा निर्माण सम्पन्न गर्न कुल रु १२ करोड ६४ लाख ८९ हजार ७८४ खर्च भएको उनले जानकारी दिए ।

शव दाह भवनमा भुइँतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शव दाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शव दाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् ।

 बर्सातको समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा क्रियापुत्री बस्ने व्यवस्था गर्न सकिने थापाले बताए । 

आयोजनाअन्तर्गत देवघाट क्षेत्रमा बसपार्क, टर्मिनल भवन, फुटपाथलगायतका संरचना देवघाटसँगै महानगरका विभिन्न स्थानमा निर्माण गरिएको छ । यी सबै परियोजनाको लागत करिब रु ३३ करोड ८० लाख ७५ हजार ४८७ रहेको आयोजनाले जनाएको छ । थापाका अनुसार शव दाह गृह सञ्चालन तथा मर्मत–सम्भारका लागि आयोजना पक्षले एक वर्षसम्म सहयोग र निगरानी गर्नेछ ।  साथै, महानगरले पठाउने जनशक्तिलाई आवश्यक तालिम प्रदान गरिनेछ ।

 कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले महानगरले शव दाह गृहको सञ्चालन र व्यवस्थापन जिम्मेवारीका साथ गर्ने प्रतिबद्धता जनाए । महानगर प्रमुख रेणु दाहालले भरतपुरमा पछिल्ला वर्षमा धेरै विकास आयोजना सम्पन्न भएको जनाउँदै नमुना सहरको अवधारणाअनुरूप समग्र विकास कार्य अघि बढिरहेको धारणा व्यक्त गरिन् ।

उनले विकास निर्माणका क्रममा देखिएका विभिन्न प्रशासनिक र प्राविधिक चुनौतीका बाबजुद महानगरले परिणाममुखी काम गरेको उल्लेख गरिन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप