शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

नेपाल–भारत सीमा क्षेत्रको स्थलगत अनुगमन

शुक्रबार, २४ असोज २०८२, २२ : २५
शुक्रबार, २४ असोज २०८२

सारांश

  • सिराहा जिल्ला सुरक्षा समितिले नेपाल-भारत सीमा क्षेत्रको अनुगमन गरेको छ।
  • अनुगमन टोलीले सीमा स्तम्भको अवस्था, तस्करी र आपराधिक गतिविधिबारे जानकारी लिएको छ।
  • सीमा सुरक्षालाई प्रभावकारी बनाउन र स्थानीय तहसँग सहकार्य गर्ने उद्देश्य रहेको छ।

सिराहा । जिल्ला सुरक्षा समिति सिरहाले आज नेपाल-भारत सीमाको विभिन्न नाकाको स्थलगत अनुगमन गरेको छ । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार अनुगमन टोलीले कमलानदीको पटहरवा हुँदै माडर, २ नम्बर गेट, बुधौरा, लकडीगोठ, गढियानी, सोरहवा, इटाटार, भट्टीमोड र गागल खोलासम्मको सीमा क्षेत्र अवलोकन गरेको हो ।

उनले सीमा स्तम्भहरूको अवस्था, नाकामा हुने तस्करी तथा आपराधिक गतिविधिका सम्भावना र सुरक्षाकर्मीहरूको परिचालन अवस्थाबारे स्थलगत जानकारी लिइएको बताए । यसक्रममा, माडर वसपार्क क्षेत्रमा भइरहेका अनैतिक गतिविधि रोक्नका लागि आवश्यक कदम चालिने र मट्टीमोड क्षेत्रमा भएको दशगजा अतिक्रमण सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई भनिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

‘सीमामा सुरक्षालाई थप प्रभावकारी बनाउने र अवैध क्रियाकलाप नियन्त्रणमा ल्याउने उद्देश्यले अनुगमन गरिएको हो । खटिएका सुरक्षाकर्मीको मनोबल बढाउनु र स्थानीय तहसँग सहकार्य गर्नु हाम्रो प्राथमिकता हो । सोही अनुरुप बाँकी स्थानको नियमित अनुगमनको प्रक्रिया जारी रहने छ’, प्रजिअ अधिकारीले भने ।

साथै, अनुगमनका क्रममा सीमामा खटिएका सुरक्षाकर्मीहरूसँग तस्करी तथा अपराध नियन्त्रणसम्बन्धी छलफल गरिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गरिएको थियो । सीमा क्षेत्रमा सुरक्षाको उपस्थिति थप सशक्त बनाइनुपर्ने स्थानीयले माग गरेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप