बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
मनोरञ्जन

तिहारमा आउँदैछन् तीन फिल्म, कस्तो रहला बक्स अफिस ?

शनिबार, २५ असोज २०८२, ०९ : १९
शनिबार, २५ असोज २०८२

सारांश

  • दसैँमा रिलिज भएका फिल्मले अपेक्षाअनुसारको व्यापार गर्न सकेनन्, तर तिहारमा नयाँ फिल्म रिलिज हुँदैछन्।
  • तिहारमा ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ रिलिज हुने, जसमध्ये ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ भाइटीकामा रिलिज हुँदैछन्।
  • फिल्महरूले ग्रामीण परिवेश, प्रेम कथा र शक्ति संघर्षका विषयवस्तुलाई प्रस्तुत गर्नेछन्, जसमा फरक-फरक कलाकारको अभिनय रहनेछ।

काठमाडौँ । दसैँमा तीन नेपाली फिल्म प्रदर्शनमा आए, ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ । यी फिल्मले बक्स अफिस चलायमान त बनाए, तर अपेक्षित दर्शक पाउन सकेनन् । 

सातामै कुल १५ देखि २० करोड रुपैयाँ व्यापार गर्ने अपेक्षा गरिए पनि यी तीन फिल्मले १० दिनमा मुस्किलले १० करोडको आँकडा पार गरे । दसैँअघिको जेनजी आन्दोलन र दसैँको बिचमा आएको प्राकृतिक प्रकोप (बाढीपहिरो)ले फिल्मको व्यवसायमा प्रभाव पार्‍यो । 

दसैँमा उत्साहजनक नरहे पनि तिहारमा नेपाली फिल्मको बक्स अफिस राम्रैसँग जम्ने फिल्मकर्मीहरुको अपेक्षा छ । तिहारमा पनि तीन नयाँ फिल्म प्रदर्शनमा आउँदैछन्, ‘सोल्टिनी’, ‘वरिष्ठ बलराम’ र ‘मैझारो’ । 

तीमध्ये ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ भाइटीकाको दिन अर्थात् कात्तिक ६ गते भिड्दैछन् भने भोलिपल्ट ‘मैझारो’ प्रदर्शनमा आउनेछ । विषयवस्तु र कलाकार फरक-फरक रहेका यी फिल्मले दर्शकलाई फरक स्वाद दिने अपेक्षा गरिएको छ । 

दुई ध्रुवीय कथाको टक्कर

कात्तिक ६ गते भाइटीकाको अवसर पारेर प्रदर्शनमा आउने ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’को कथावस्तु विल्कुलै भिन्न छ । ‘सोल्टिनी’ले ग्रामीण परिवेशको प्रेमकथा प्रस्तुत गर्छ भने ‘वरिष्ठ बलराम’ले समाजमा शक्ति संघर्षको कथा प्रस्तुत गर्छ । 

‘सोल्टिनी’ असोज ३ मै रिलिज हुने भनिए पनि सरेर तिहारमा पुगेको हो । अर्जुन सुवेदी निर्देशित फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बूको मुख्य भूमिका छ । फिल्मको रोचक पक्ष कार्यकारी निर्माताको रूपमा ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ जोडिएको छ, जसको नेतृत्व धरान महानगरपालिकाका मेयर हर्क साम्पाङले गर्छन् ।

फिल्ममा प्रकाश र परीक्षाको रोमान्टिक केमेस्ट्री, परम्परागत वेशभूषा, प्राकृतिक सौन्दर्य र गाउँको जीवनशैली समेत प्रस्तुत गरिएको बताइन्छ । फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय भेदभावका विरुद्ध आवाज उठाउनेछ निर्देशक सुवेदी बताउँछन् । फिल्ममा विल्सनविक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरेलगायतका कलाकारको समेत अभिनय देख्न सकिनेछ ।

प्लानेट थ्री फिल्म्स र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बनेको फिल्मको निर्माताहरू रेजिना बिष्ट र संसार चौलागाईं हुन् भने रोशन चौलागाईँ, वसन्त कटुवाल र सुजन अधिकारी सहनिर्माता हुन् ।  

फिल्म ‘वरिष्ठ बलराम’ले सामाजिक शक्ति संघर्षको एउटा पाटोलाई उजागर गर्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा दयाहाङ राई र विजय बरालबिचको नोकझोकलाई प्राथमिकताका साथ देखाइएको छ । ट्रेलरमा आफू गरिब भएकै कारण अरूले हेपेको अनुभूत गर्ने विजय र आफूले ढुंगा, बालुवा उठाइरहेको खोलामा अर्कोले हस्तक्षेप गरेपछि त्यसलाई ठेगान लगाउने दयाहाङको पाटो देखाइएको छ । त्यसले फिल्ममा तीव्र द्वन्द्वको कथा रहेको अनुमान गर्न सकिन्छ । 

सुरेन्द्र पौडेल निर्देशित फिल्ममा दयाहाङ र विजयका साथै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा लगायत कलाकारको अभिनय छ । फिल्मले ग्रामीण भेगमा व्याप्त शक्ति संघर्ष र व्यक्तिगत असमानताको कथालाई सशक्त रूपमा प्रस्तुत गर्ने निर्देशक पौडेलले बताए ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् भने लाइन प्रोडुसरमा राम विष्ट छन् ।  

मैदानमा एक्लै ‘मैझारो’

कात्तिक ७ गते फिल्म ‘मैझारो’ सोलो प्रदर्शनमा आउने भए पनि फिल्मलाई व्यावसायिक लाभका लागि त्यति सहज छैन । किनकि अघिल्लो दिन अर्थात् ६ गते प्रदर्शनमा आउने दुई फिल्म ‘सोल्टिनी’ र ‘वरिष्ठ बलराम’ ‘मैझारो’का लागि चुनौती बन्न सक्छन् । यी फिल्मको व्यापारले ‘मैझारो’लाई प्रभाव पार्न सक्छ । यो फिल्मले पनि ग्रामीण प्रेमकथाको विषयवस्तुलाई उठाएकाले ‘सोल्टिनी’ चुनौती बन्न सक्छ । 

‘मैझारो’लाई विल्सनविक्रम राईले निर्देशन गरेका हुन् । राईको यो डेब्यु निर्देशन समेत हो । फिल्ममा धिरज मगर, मिरुना मगर र दिया पुनको त्रिकोणात्मक प्रेमकथा छ । दयाहाङ राई, बुद्धि तामाङ, सुनिल थापा, पुष्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आलेलगायतले पनि फिल्ममा अभिनय गरेका छन् । 

‘तक्मे प्रोडक्सन’को ब्यानरमा निर्माण भएको फिल्मले दर्शकलाई एक फरक र मन छुने प्रेमकथा प्रस्तुत गर्ने निर्देशक राई बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप