बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
नौ प्रश्न

‘कृतिमा आफ्नो निजत्व बोकेको अनुभूति र विचारहरूको अभिव्यक्ति हुन अत्यावश्यक छ’

शनिबार, २५ असोज २०८२, १३ : ००
शनिबार, २५ असोज २०८२

सारांश

  • अस्मिता विष्टको पहिलो कवितासङ्ग्रह 'ब्ल्याकहोलमा गीतहरू' प्रकाशित भएको छ।
  • लेखिका विष्टले साहित्य सिर्जना समाजलाई फर्काउने कर्तव्य ठान्छिन् र यसैले लेख्ने प्रेरणा पाउँछिन्।
  • विष्टले पछिल्लो समय नेपाली कविताको अवस्था उज्ज्वल रहेको र यसको विषयवस्तुमा विविधता आएको बताइन्।

अस्मिता विष्टको भर्खरै मात्र पहिलो कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ प्रकाशित भएको छ । प्राध्यापनमा संलग्न विष्ट मूलतः कविता र समालोचनामा कलम चलाउँदै आएकी छन् । विष्टलाई यसपटक हामीले रातोपाटीको नियमित स्तम्भ ‘नौ प्रश्न’मा निम्त्याएका छौँ । 

१) तपाईं वास्तवमा किन लेख्नुहुन्छ ? लेख्नका लागि कुन कुराले यहाँलाई बढी प्रेरित गर्छ ?

जीवनको सौन्दर्यलाई प्रतिबिम्बित गर्ने सबैभन्दा सुन्दर माध्यम साहित्यिक सिर्जना हो भन्ने लाग्छ मलाई, त्यसैले म लेख्छु । मेरो विचारमा साहित्यिक सिर्जना भनेको केवल आफ्ना लागि होइन, यो सम्पूर्ण जगत्को मौनतालाई अर्थपूर्ण रूपमा अभिव्यक्त गर्ने माध्यम पनि हो । यही जिम्मेवारी बोधले मलाई लेख्न प्रेरित गर्छ । किनकि हामीले समाजबाट धेरै कुरा पाएका छौँ र कुनै न कुनै माध्यमबाट समाजलाई केही फिर्ता गर्नु हाम्रो कर्तव्य हो । मलाई लाग्छ, मैले समाजलाई दिन सक्ने सबैभन्दा सशक्त योगदान मेरो साहित्यिक सिर्जना हो, त्यसैले म लेख्छु ।

समाजमा वा आफ्नै जीवनमा अनुभव गरिएका असङ्ख्य घटनाले मानसपटलमा गहिरो छाप छाड्छन् र ती समय क्रममा सिर्जनाका रूपमा अवतरित हुन्छन् । कहिलेकाहीँ समाजमा प्रचलित चलन र सोचप्रति विमति जाग्छ, तिनलाई प्रतिवाद गर्न मन लाग्छ । मेरा लागि लेखनी त्यही विचार, असहमति र चेतनालाई सहज र सशक्त रूपमा प्रसारित गर्ने सर्वोत्तम माध्यम हो । त्यसैले जब समाज र सम्बन्धभित्र लुकेका जटिलताले मलाई उद्वेलित बनाउँछन्, म कलम समाउँछु । प्रत्येक मानिस आफ्नै अनुभूति र भावना लिएर बाँचिरहेको हुन्छ । त्यसैले जब म समाज र मानिसबिचका सम्बन्ध नियाल्छु, मलाई महसुस हुन्छ— मेरो निजत्व बोकेको अनुभूति र विचारहरूको अभिव्यक्ति हुन अत्यावश्यक छ । यही अनुभूति र चाहनाले मलाई निरन्तर लेख्न प्रेरणा प्रदान गर्छ ।

२) अन्तिमपटक कुन किताब पढ्नुभएको थियो ? त्यो कस्तो थियो ? 

मैले पढेको पछिल्लो किताब हो, डोरिस लेसिङको उपन्यास ‘द क्लेफ्ट’ । यो उपन्यासले मानव उत्पत्तिप्रति जिज्ञासु पाठकलाई विम्बको भव्य प्रयोगमार्फत एक फरक दृष्टिकोण प्रदान गरेको छ । यसमा लिङ्ग, शक्ति र सभ्यताको गहिरो सम्बन्ध देखाइएको छ । मानव सभ्यताको उद्गमसँग सम्बन्धित गहिरा प्रश्न उठाइएका छन् । आदिम युगदेखि महिला र पुरुषबिचको शक्ति प्रदर्शन, तिनको आपसी द्वन्द्व र त्यसका कारण बनेका सामाजिक तथा जैविक कारकलाई स्वैरकल्पनामा बुनेर सशक्त रूपमा प्रस्तुत गरिएको छ । यस उपन्यासले मानव सभ्यता, प्रेम, हिंसा र भिन्नताबाट उत्पन्न हुने शक्ति सन्तुलनबारे गहिरो चिन्तन प्रस्तुत गर्छ । 

पछिल्लो समय नेपाली कवितामा शैली र प्रस्तुति मात्र होइन, विषयवस्तुको विविधता पनि व्यापक हुँदै आएको छ । यही परिप्रेक्ष्यमा कविताको फाँट अझ फराकिलो र उज्यालो बन्दै गएको अनुभव हुन्छ ।

पाठकका लागि ‘द क्लेफ्ट’ एउटा दार्शनिक, प्रतीकात्मक र चुनौतीपूर्ण कृति हो । यसले मानवता, लिङ्ग र शक्तिसम्बन्धी हाम्रो बुझाइलाई प्रश्न गरेको छ । मानवता, लिङ्ग र शक्ति सन्तुलनको निर्माण हुन के के कारक तत्त्व हुन सक्छ भन्ने विषयमा यस उपन्यासमा गरिएको विमर्शले पाठकलाई लामो समयसम्म घोत्लिन विवश तुल्याउँछ ।

३) पछिल्लो समय नेपालको साहित्यिक बजार र बहस कस्तो पाउनुभएको छ ? हामी कुन दिशातिर गइरहेका छौँ जस्तो लाग्छ ?

पछिल्लो समय नेपालको साहित्यिक बजार र बहसहरू निकै चुनौतीपूर्ण तर सुरुचिपूर्ण बनेका छन् । सचेत र विश्व साहित्यसँग अत्यन्त निकट रहेका पाठकको मन जित्न अहिले सजिलो कुरा छैन । समय र पैसा दुवै खर्च गरेर पाठकले कुनै कृति किन पढ्ने भन्ने प्रश्नलाई केन्द्रमा राखेर हिजोआज साहित्यिक बहस भएको देखिन्छ । 

त्यसैले अहिलेको समयमा साहित्यिक सिर्जना केवल आत्मसन्तुष्टिको विषय रहँदैन । यसले लेखकमा समाजप्रतिको जिम्मेवारीबोध गराउँछ र पाठकप्रतिको उत्तरदायित्व पनि स्थापित गर्छ । यही कारणले मलाई विश्वास लाग्छ— हामीले सिर्जना गर्ने साहित्य अब केवल सौन्दर्य र भावनामा सीमित छैन, सामाजिक चेत र सकारात्मक परिवर्तनतर्फ पनि अग्रसर छ । हाम्रो साहित्यिक यात्राले हामीलाई उज्यालो दिशातिर अघि बढाइरहेको अनुभूति म गर्छु ।

समकालीन नेपाली कविताको अवस्था मैले निकै उज्ज्वल देखेकी छु । पछिल्लो समय नेपाली कवितामा शैली र प्रस्तुति मात्र होइन, विषयवस्तुको विविधता पनि व्यापक हुँदै आएको छ ।

४) कविता लेखनमा तपाईंलाई सबैभन्दा चुनौतीपूर्ण कुरा के लाग्छ ?

विभिन्न कालखण्डमा कविता लेखनका निश्चित मापदण्ड तय गरिँदै आएका छन् । पाठकले प्रत्येक कवितामा विषयवस्तु, प्रस्तुति र शैलीमा मौलिकताको अपेक्षा राख्ने गर्छ । म आफैँ पनि समालोचनामा कलम चलाउँछु । यसर्थ पाठक र समालोचक दुवैको दृष्टिमा स्वीकृत र सार्थक कविता कसरी लेख्ने भन्ने नै मेरा लागि सबैभन्दा ठुलो चुनौती हो ।

५) समकालीन नेपाली कविताको अवस्था यहाँले कस्तो देख्नुभएको छ ? कविता लेखनका तपाईंका कुनै उद्देश्य छन् कि ?

समकालीन नेपाली कविताको अवस्था मैले निकै उज्ज्वल देखेकी छु । पछिल्लो समय नेपाली कवितामा शैली र प्रस्तुति मात्र होइन, विषयवस्तुको विविधता पनि व्यापक हुँदै आएको छ । यही परिप्रेक्ष्यमा कविताको फाँट अझ फराकिलो र उज्यालो बन्दै गएको अनुभव हुन्छ ।

कविता लेखन कुनै निश्चित उद्देश्य लिएर गरिने यान्त्रिक कार्य होइन तर पनि आफूले लेखेका शब्दहरू सर्वकालिक बनुन् र आम मानिसको मन–मस्तिष्कमा दीर्घकालसम्म रहिरहुन् भन्ने चाहना मभित्र गहिरो रूपमा रहेको छ ।

मलाई झकझकाएको साहित्यिक कृति जर्ज अर्वेलको उपन्यास ‘१९८४’ हो । यो उपन्यासले सत्ता, नियन्त्रण र स्वतन्त्रताको गहिरो सम्बन्ध उजागर गर्छ ।

६) लेखेर अहिलेसम्म के कति कमाउनुभयो वा के गुमाउनुभयो ?

लेखेर मैले केही गुमाएकी छैन । पैसा कमाएकी त छैन, मित्र र शुभेच्छुक भने प्रशस्त कमाएकी छु । 

७) पाठकलाई पढ्न सिफारिस गर्नका लागि यहाँको कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’मा त्यस्तो के छ ? पाठकले यो कृति किन पढ्नुपर्छ भन्ने लाग्छ ? 

‘ब्ल्याक होलमा गीतहरू’ मेरो समाज अवलोकनको दीर्घ यात्राबाट जन्मिएको कविता कृति हो । लामो समयदेखि समाजलाई नियाल्दा मनमा उठेका उथलपुथल, जिज्ञासा, असन्तुष्टि र भोगाइहरूको समग्र चित्रणलाई मैले यस कृतिमा प्रस्तुत गर्न खोजेकी छु । यस कृतिमा म बाँचिरहेको समयले ममाथि पारेको प्रभाव र पाठकमाथि पारेको प्रभावबिचको समानता र भिन्नतालाई उजागर गर्ने प्रयास गरिएको छ । यो कृति पढ्दा पाठकले मेरो भित्री अनुभव र हाम्रो समकालीन समाजबिचको अन्तर्सम्बन्ध बुझ्न सक्नेछन् । 

के छ यो कृतिमा भनेर होइन कि भएका कुरा कसरी प्रस्तुत गरिएका छन् भनी हेर्न तथा बुझ्नका लागि पढ्न म पाठकलाई अनुरोध गर्न चाहन्छु । किनभने यही दृष्टिकोणले यस कृतिको गहिराइ र भावनात्मक आयाम बुझ्न सजिलो बनाउँछ । 

८) आफूलाई झकझकाएको कुनै एउटा साहित्यिक कृति सम्झिनुपर्‍यो भने तपाईं कुन कृतिलाई सम्झिनुहुन्छ र किन ?

मलाई झकझकाएको साहित्यिक कृति जर्ज अर्वेलको उपन्यास ‘१९८४’ हो । यो उपन्यासले सत्ता, नियन्त्रण र स्वतन्त्रताको गहिरो सम्बन्ध उजागर गर्छ । ‘जनताको शासक’ हुँ भन्ने भ्रम छर्दै वास्तवमा चरम तानाशाही, क्रूरता र अनुत्तरदायित्व ढङ्गले शासन कसरी चलाइन्छ भन्ने यथार्थ चित्रण यस कृतिमा पाइन्छ । 

उपन्यासका पात्रहरूलाई चरम गरिबी, अभाव र भयमा बाँच्न बाध्य पारिएको हुन्छ । प्रविधिले तानाशाही सत्ताको अभीष्ट पूरा गर्न कसरी अहम् भूमिका खेलेको छ भन्ने कुरा अर्वेलले अत्यन्त प्रभावशाली रूपमा प्रस्तुत गरेका छन् । 

यस अन्धकारमय संसारमा प्रेम कसरी प्रकाशको स्रोत बन्छ ? प्रेमले जीवनलाई कसरी जीवन्त बनाउँछ र मानिसलाई बाँच्ने, सङ्घर्ष गर्ने तथा क्रान्ति गर्ने साहस प्रदान गर्छ भन्ने दृष्टान्त पनि यस उपन्यासको केन्द्रीय सौन्दर्य हो ।

उपन्यास ‘१९८४’ प्रविधिको दुरुपयोग र त्यसले मानव सभ्यतालाई कुरूप बनाउने सम्भावनाबारे गरिएको गहिरो चेतावनी हो— एक साथ यथार्थपरक भविष्यवाणी र क्रूर व्यङ्ग्य दुवै । यही कारणले यो कृति अद्भुत र समयातीत बनेको छ । 

९) आखिर जिन्दगी के रहेछ ?

जीवन भनेको नयाँ अनुभव र अनुभूतिहरूको अन्त्यहीन शृङ्खला रहेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप