शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सफारी चालक हत्या प्रकरण

पूजाको लागि परेवा ल्याउन गएका दिनेश फर्किएनन्

आइतबार, २६ असोज २०८२, २१ : ५३
आइतबार, २६ असोज २०८२

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–२ का नरेश चौधरीले जब नहरको बाटोमा होहल्ला सुने, उनलाई सामान्य झगडा होला भन्ने लागेको थियो । तर जब मोटरसाइकलमा आएका अपरिचित व्यक्तिहरूले छिमेकी दिनेशलाई घेरेको देखे, उनको मनमा चिसो पस्यो । उनी केही सोध्न अगाडि बढे, तर ‘तँलाई पनि यहीँ सिध्याइदिन्छौं’ भन्ने धम्कीले उनको पाइला मात्र रोकेन, एउटा अपराधको साक्षी बनायो । जब उनी डराएर फर्के र गाउँलेलाई बोलाएर ल्याए, त्यतिबेलासम्म धेरै ढिलो भइसकेको थियो । 

घरबाट निस्किएको केवल आधा घण्टा । दूरीः दुई किलोमिटर । यही छोटो समय र दूरीभित्र सोही ठाउँका ४७ वर्षीय दिनेश चौधरीको जीवनको कथा समाप्त भयो । शनिबार दिउँसो मात्रै दिनेशले जेठो छोराको सपना साकार पार्न झुम्का बजारबाट एउटा साइकल किनेर ल्याएका थिए । साइकल देखेर छोराको खुसीमा उनी पनि मग्न थिए, तर उनलाई के थाहा, त्यो खुसी केही घण्टाको मात्रै थियो । 

dinegs ko gar

त्यो साँझ, चौधरी परिवारमा एउटा धार्मिक अनुष्ठानको तयारी चल्दै थियो । दिनेशले श्रीमतीको हातमा पाँच सय रुपैयाँ राखेर भनेका थिए, ‘पूजाको लागि परेवा लिएर आउनू ।’ 

‘एकैछिनमा आइहाल्छु,’ श्रीमतीलाई यति भनेर दिनेश सिटी सफारी लिएर निस्किए । साँझको करिब ५ बजेको थियो । तर, त्यो ‘एकैछिन’ कहिल्यै आएन, बरु आयो उनको मृत्युको खबर । घरबाट निस्केको आधा घण्टा पनि नबित्दै, घरदेखि दुई किलोमिटर पर सुनसरी–मोरङ सिँचाइ नहरको सुनसान बाटोमा उनलाई गोली हानियो । 

प्रत्यक्षदर्शी छिमेकी नरेश चौधरीका अनुसार नहरको बाटोमा दिनेशलाई मोटरसाइकलमा आएका तीन व्यक्तिले रोकेका थिए । उनीहरूबिच चर्को विवाद भइरहेको थियो । केही अनिष्टको छनक पाएर नरेशले सोधे, ‘के भयो ?’ जवाफमा उनलाई पनि ज्यान मार्ने धम्की आयो, ‘तँ यहाँबाट गइहाल, नत्र तँलाई पनि यहीँ सिध्याउँछौँ ।’ 

नरेश डराएर ज्यान जोगाउन भागे तर दिनेश भाग्न सकेनन् । जबसम्म नरेशले घरमा खबर गरेर परिवार र गाउँले घटनास्थल पुगे, त्यतिबेलासम्म दिनेशलाई गोली लागिसकेको थियो । आक्रमणकारीहरू भागिसकेका थिए । नहरको किनारमा दिनेश रगतपच्छे भएर लडेका थिए । उनको सिटी सफारी त्यहीँ थियो । 

प्रहरीको प्रारम्भिक अनुसन्धानले उनको छातीमा गहिरो प्वाल देखिएको जनाएको छ– त्यो गोलीको हो वा धारिलो हतियारको, अनुसन्धान जारी छ । सुनसरी प्रहरी प्रमुख केशव कुमार थेवेका अनुसार यो आक्रमण योजनाबद्ध थियो वा व्यक्तिगत रिसइबी, त्यो पत्ता लगाउन विशेष टोली खटाइएको छ । सम्भावित संलग्नताको पहिचान गर्न सीसीटीभी फुटेज र मोबाइल कल विवरणको समेत अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । 

sok

दिनेश एक सामान्य मानिस थिए, जसले विगत एक वर्षदेखि सिटी सफारी चलाएरै आफ्ना दुई छोरा, एक छोरी र श्रीमतीसहित गुजारा चलाएका थिए । उनको हत्याले त्यो सानो संसारको भरोसा नै ढलेको छ । 

आइतबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि उनको शव घर ल्याइएको छ । जुन आँगनमा शनिबार पूजाको तयारी थियो, त्यही आँगनबाट आइतबार उनको शवयात्रा निस्कियो । दिउँसै मानिसको चहलपहल हुने बाटोमा यस्तो क्रूर हत्या हुनुले स्थानीयको सुरक्षामाथि गम्भीर प्रश्न खडा गरेको छ ।

स्थानीयवासी र परिवारजनले हत्यामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । 

sok  1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप