मङ्गलबार, २३ असार २०८३
ताजा लोकप्रिय

अमाह सिमसारमा स्टोन स्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आयोजना हुने

सोमबार, २७ असोज २०८२, ०० : ५१
सोमबार, २७ असोज २०८२

सारांश

  • सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण आगामी कात्तिक ३ गते हुने भएको छ।
  • प्रतियोगिताको आयोजना चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा हुन लागेको हो, जसमा विजेताले पुरस्कार पाउनेछन्।
  • यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ, जसमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ।

सुनसरी । सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आगामी कात्तिक ३ गते  स्टोनस्किपिङ च्याम्पियनसिपको तेस्रो संस्करण हुने भएको छ । चतरा हाइकिङ समूह र अमाह सिमसारको संयुक्त आयोजनामा प्रतियोगिताको आयोजना गर्न लागिएको हो ।

पर्यावरण प्रवर्धन र एकता, खेल पर्यटनमा विविधता भन्ने नाराका साथ सो आयोजना हुन लागेको आयोजकले जनाएको छ । ‘जैविक विविधताको संरक्षण, स्थानीय पर्यटनको प्रवर्धन’ भन्ने मूल नाराका साथ प्रतियोगिता आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कारसहित प्रमाणपत्र र ट्रफी पाउने छन् । शनिबार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजक चतरा हाइकिङ समूहले  प्रतियोगिताबारे जानकारी दिएको हो । 

आयोजक समितिका संस्थापक नवराज विष्टका अनुसार यो खेल सामान्यतया नदी, तलाउ, पोखरी र नहरमा खेलिन्छ। उनका अनुसार चेप्टो र गोलाकार ढुङ्गालाई पानीको सतहमा हुइँक्याएर खेलिने यस खेलमा ढुङ्गा कति पटक उफ्रिन्छ त्यसैको आधारमा विजेता छनोट गरिन्छ ।

विश्वका विभिन्न देशमा यो प्रतियोगिता हुँदै आएको छ । नेपालमा भने यो खेलको प्रतियोगिता हुन थालेको एक वर्ष भएको विष्टले दाबी गरे । विश्वव्यापी रूपमा लोकप्रिय यो खेल अमेरिका, आयरल्यान्ड र स्कटल्यान्डमा वार्षिक रूपमा आयोजना हुँदै आएको छ। गिनिज बुक अफ वर्ल्ड रेकर्ड अनुसार अमेरिकी नागरिक कर्ट स्टेइनरले सन् २०१३ मा एउटै ढुङ्गालाई ८८ पटक उफारेर विश्व कीर्तिमान कायम गरेका छन् ।

प्रतियोगिताका संयोजक लक्ष्मण कट्वालका अनुसार प्रतियोगिताको निर्णय क्यामेरा प्रविधिबाट गरिने छ । गत वर्षको प्रतियोगितामा स्थानीय राहुल लिम्बूले ८८ प्रतिस्पर्धीलाई पछि पार्दै प्रतियोगिताको उपाधि जितेका थिए । इन्ट्री राउन्डमा १२ स्किप गरेका उनले फाइनल राउन्डमा १४ स्किप गर्दै विजेता बन्न सफल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप